‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।

मेलिना राई, गायिका
कम्मरमाथि पटुकी तथा शिरैमा शिरबन्दीजस्ता लोकप्रिय गीत गाएर चर्चामा आएकी २३ वर्षीया मेलिना राई युवापुस्ताकी लोकप्रिय गायिका हुन् । मेलिना आधुनिक गीतमा जति अब्बल छिन् त्यति नै पाश्र्वगायनमा समेत जमेकी छिन् । सानैदेखि गायन सिकिरहेकी राई अहिले दिनमा २–३ वटा गीत रेकर्ड गराइरहेकी छिन् । नोभेम्बर रेनको पलभरमै खुसी थियो गीतबाट पाश्र्वगायनमा आएकी मेलिनाले वर्ष दिनभित्र स्वदेश र विदेशमा सयौं कन्सर्टमा सहभागिता जनाइसकेकी छिन् ।
११ वर्षकै उमेरमा बाल गीत रेकर्ड गराएकी राईले कम्मरमाथि पटुकी गीत गाएपछि पछाडि फर्कनुपरेको छैन । उनको माग बढ्दो छ । राईले पुन्टे परेड, नाइके, हाउ फन्नी, राधा, क्लासिकजस्ता चलचित्रका गीतमा आफ्नो स्वर दिइसकेकी छिन् । दर्पण छायाँ–२ का सम्पूर्ण गीतमा स्वर दिएकी मेलिना आधुनिक र चलचित्रका साथै शास्त्रीय गीत पनि गाइरहेकी छिन् ।
राम्रो स्वरमा समयको मागअनुसार गाउन सकियो भने संगीतबाट नाम र दाम दुवै कमाउन सकिने मेलिना बताउँछिन् । राईले अहिलेसम्म तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छिन् ।