विवाहको जिम्मा इभेन्ट म्यानेजमेन्टलाई

सिर्जना दुवाल श्रेष्ठ

मंसिर २४, २०७३ हरेक आमाबुवामा आफ्ना छोराछोरीको विवाह भव्य होस् भन्ने चाहना हुन्छ । विवाह भव्य बनाउन पहिले विवाहको समय तोकिएपछि वर्ष दिनअघिदेखि पूजाआजाका सामान, गरगहना, दुलहीका पहिरन एवं एसेसरिज जोर्नमा व्यस्त हुनुपथ्र्यो । हप्तौं दिनदेखि छिमेकी तथा आफन्तहरू आएर काममा सघाउने चलन थियो तर अहिले प्राय: मानिसहरू व्यस्त छन् ।

अहिले कामकाजी आमाबुवाहरूलाई आफ्ना सन्तानको विवाहको कुराले निकै पिरोल्छ । त्यसैले विदेशमा जस्तै नेपालमा पनि वेडिङ इभेन्ट म्यानेजमेन्ट कम्पनीहरू सक्रिय छन् । जहाँ सम्पर्क गरेपछि विवाहको कुनै चिन्ता लिनु पर्दैन । डा. चन्दा कार्की एक व्यस्त चिकित्सक हुन् । उनलाई आफ्नी छोरीको विवाहको निकै चिन्ता थियो तर वेलकम वेडिङ इभेन्टमा गएपछि उनी ढुक्क मात्र भइनन् विवाहको भव्य बन्दोबस्त भएकाले उनले आफन्त, जन्ती आदि सबैबाट प्रशंसा पनि पाइन् । इभेन्ट म्यानेजमेन्टलाई कामको जिम्मा दिएपछि उसले विवाहका लागि आवश्यक सबै व्यवस्था गरिदिन्छ । आफ्नो संस्कृति, रीतिरिवाज एवं चलनअनुसार सबै व्यवस्था विधिपूर्वक गरिदिने हुँदा हिजोआज कतिपय मानिस इभेन्ट म्यानेजमेन्टप्रति आकर्षित हुँदै गएका छन् । 

सुरुमा इभेन्ट म्यानेजमेन्टहरूले विदेशमा बसेर आएका नेपालीहरूलाई लक्षित गरेका भए पनि अहिले यसलाई नेपालमै बसेका व्यस्त परिवारहरूले समेत रुचाउन थालेका छन् । समयको अभाव र म्यानपावरको कमीले गर्दा पनि इभेन्टप्रतिको मोह बढेको देखिन्छ । विदेशमा बसेर नेपालमा विवाह गर्न आउनेहरू अरूको भन्दा भिन्न र स्पेशल विवाह गर्न चाहन्छन् । कोही रोयल टच विवाह गर्न चाहन्छन् भने कोही सौराहा, मुस्ताङ, पोखरा, गोरखा, जनकपुरजस्ता रमणीय, धार्मिक एवं पर्यटकीय स्थलमा गएर विवाह गर्न खोज्छन् । त्यस्ता जोडीहरूलाई पनि यस्ता वेडिङ इभेन्ट म्यानेजमेन्टले सजिलो बनाएका छन् । अहिले चलिआएको मेहन्दी सेरोमनी, संगीत सेरोमनी आदिको व्यवस्था पनि इभेन्ट म्यानेजमेन्ट कम्पनीले नै मिलाई दिन्छन् । यस्ता सेरोमनीहरूमा विभिन्न कलर थिममा डेकोरेसन तथा पहिरनको थिम समेत बनाई कार्यक्रमलाई आकर्षक बनाइन्छ । वेलकम वेडिङ इभेन्टमा अनलाइन भिडियो कन्फ्रेन्स गरेर पनि थुप्रै विवाह गराइएको छ ।

विवाहका लागि नेपाल आउन नसके पनि विदेशमै बसेर पनि नेपाली शैलीमा पूजाआजा गरेर विवाह गर्न चाहनेहरूका लागि यहाँबाट पुरोहितको अनलाइन व्यवस्था मिलाएर विवाह सम्पन्न गर्नेहरू पनि उत्तिकै छन् । घरपरिवारबाटै विवाहको काम सम्पन्न गर्नेहरूले पनि विवाहको सम्झनाका लागि फोटोग्राफी र भिडियोका लागि राम्रै पैसा खर्च गरेर विवाहलाई फोटोको माध्यमबाट ताजा राख्छन् । नेपालमा विवाहकै फोटो– भिडियोको मात्र काम गर्ने इभेन्ट म्यानेजमेन्ट कम्पनीहरू पनि छन् । 

विवाहका लागि आवश्यक कुराहरू

कार्ड डिजाइन, कार्ड वितरण, साइपाटा डेकोरसन, डिजे, ब्यान्ड बाजा, क्याटरिङ सर्भिस, हाउस डेकोरेसन, मनोरञ्जन, सवारी साधन (कार, भ्यान, गाडी, बग्गी, डोली, घोडा आदि), फोटोग्राफी, भिडियोग्राफी, पूजा सामग्री, ब्राइडल वेयर, ज्वेलरी आदि ।

विवाहको जिम्मा लिने केही इभेन्ट म्यानेजमेन्ट कम्पनी

१. वेलकम वेडिङ इभेन्ट म्यानेजमेन्ट

   पुरानो बानेश्वर

२. एन्जल हर्स स्टेबल

३. वेडिङ प्लानर नेपाल आदि

मुख्यत: विवाहकै फोटोग्राफी र भिडियोग्राफीको काम गर्नेहरू

१. वेडिङ ग्यालरी

२. वेडिङ काठमाडौं फोटोग्राफी

३. नेपा वेडिङ किपा

४. वेडिङ डायरी नेपाल

५. वेडिङ फोटोग्राफी नेपाल 

६. फोटो पसल आदि ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>