Successfully Copied

मिर्गौलासम्बन्धी समस्याबाट जोगिने उपाय

संसारका करिब १० प्रतिशत मानिसमा मिर्गौला रोग पाइएको छ ।

नेपालमा प्रत्येक वर्ष फागुन १० गते विश्व मिर्गौला दिवस मनाइन्छ । मिर्गौला रोगको सम्भावना धेरै भएकाले यसको उपचारमा सबैको पहँुच पुगोस् भन्ने उद्देश्यले अहिले विभिन्न काम भैरहेको छ । डा. दिव्या सिंह शाहका अनुसार मानव शरीरको अत्यावश्यक अंग मिर्गौला एउटा मात्र भए पनि मानिस जीवित रहन्छ । संसारका करिब १० प्रतिशत मानिसमा मिर्गौला रोग पाइएको छ । आगामी एक दशकमा यस्ता रोगीको संख्या १७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई खतरनाक स्थिति मानिसकेको छ । मिर्गौला रोग धनी तथा गरिब मुलुकका केही खास समुदायका मानिसमा लाग्ने सम्भावना बढी छ ।

यो रोगको डायलाइसिस र प्रत्यारोपण उपचार सेवा महँगो भएकाले पनि जनमानसमा यसको प्रभाव नकारात्मक छ । नेपालको सन्दर्भमा कतिपयले पैसाको लालचमा मिर्गौला बेच्ने गरेका छन् । अफ्रिकी, आदिवासी अमेरिकी एवं एसियाली मानिसहरूमा मधुमेह तथा उच्च रक्तचापका रोगी बढिरहेका कारण पनि मिर्गौला रोग फैलँदो क्रममा छ ।

रोग लाग्ने कारण

मधुमेह, उच्च रक्तचाप, शारीरिक व्यायामको कमी, वंशानुगत कारण, मोटोपन, अव्यवस्थित जीवनशैली तथा खानपानका कारण रोग लाग्ने सम्भावना बढ्छ । कतिपय व्यक्तिमा पीडा कम गर्न आफै पेनकिलर खाने बानी हुन्छ । त्यसले गर्दा पछि गएर मिर्गाैलामा असर पुग्नसक्छ । यसैगरी आयुर्वेदिक औषधिले पनि मिर्गौलामा असर पुर्‍याउँछ । अपर्याप्त तथा फोहोर खानेपानी, अस्वस्थकर खाद्य सामग्री, बेरोजगारी, कमजोर स्वास्थ्य तथा अस्वस्थ जीवनशैलीका कारण मिर्गौलामा समस्या देखापर्न सक्छ । 

लक्षण

कतिपय अवस्थामा सुरुमै यसको लक्षण देखिँदैन । पछिपछिको अवस्थामा भने बिहान उठ्दा आँखाको डिल सुन्निने, छिनछिनमा पिसाब लाग्ने एवं गोलीगाँठा सुन्निनुका साथै पिँmज भएको धमिलो, कोकाकोला वा चियापत्तीजस्तो पिसाब आउँछ । 

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था

दुवै मिर्गौलाले काम गर्न छोडे अर्थात् काम नलाग्ने भए मिर्गौला प्रत्यारोपण गर्नुपर्छ । कतिपय अवस्थामा १२–१३ वर्षका किशोर–किशोरीको पनि मिर्गौला प्रत्यारोपण गर्नुपरेको डा. दिव्या बताउँछिन् । त्यस्ता बालकको पिसाब गर्ने ठाउँ साँघुरिएका कारण पिसाब पूरै बाहिर ननिस्की आधा पिसाब मिर्गौलामा जान्छ जसले गर्दा पिसाबको बाटोमा अवरोध आउँछ र मिर्गौला काम नलाग्ने हुन्छ । 

प्रत्यारोपणपछि के–के कुरामा ध्यान दिनुपर्छ ?

मिर्गौला दाता अप्रेसनको ३–४ दिनपछि घर जान मिल्छ । दाताले गह्रांै चीज उठाउनुहुँदैन । केही दिनपछि साधारण खाना तथा नियमित काम गर्न जान मिल्छ । यसैगरी मिर्गौला प्रत्यारोपणपछि बिरामीले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । शरीरमा कुनै नयाँ वस्तु राख्दा शरीरले त्यसलाई प्रतिकार गर्न थाल्छ । त्यसैले स्वास्थ्यमा विशेष ध्यान पुर्‍याउनुपर्छ । नयाँ मिर्गौला राख्नासाथ शरीरले त्यसलाई आफ्नो हिस्सा नभई बाहिरी वस्तु हो भनी त्यसलाई बहिस्कार गर्न थाल्छ । त्यसैले रोगप्रतिरोधात्मक क्षमता कम हुन नदिई मिर्गौलालाई सन्तुलनमा राख्नुपर्छ । धेरै कमजोर भए अन्य रोगले आक्रमण गर्छ । यस्तो अवस्थामा रोगविरुद्ध शरीरले लड्न नसक्ने हुँदा मिर्गौलाले काम गर्न सक्दैन ।

मिर्गौला प्रत्यारोपण गर्नासाथ एक महिनासम्म प्रत्येक हप्ता नियमित उपचार गराउनुपर्छ । त्यसपछि दुई महिनामा र पछि बिरामीको अवस्था हेरेर वर्षमा एकपटक उपचार गराउनुपर्छ । बिरामीको अवस्था तथा उमेरअनुसार औषधि दिइन्छ । शिक्षण अस्पतालमा प्रत्येक बुधबार दुईजनाको मिर्गौला प्रत्यारोपण गरिन्छ । मिर्गौला प्रत्यारोपणपछि गरिने औषधि सेवनले मधुमेह बढाउने हुँदा धेरै गुलियो खानु हँुदैन भने नियमित रूपमा शारीरिक व्यायाम गर्नुपर्छ । 

जोगिने उपाय

कुनै पनि रोगको उपचार गर्नुभन्दा पनि पहिले रोग लाग्न नदिनु उत्तम हुन्छ । रोग लागिहाले पनि तुरुन्त उपचार गरे रोगले विकराल रूप लिन नपाई समयमै समस्या समाधान हुन्छ । मिर्गौला जोगाउन हरेक प्रकारका संक्रमणबाट जोगिनुपर्छ । पूरा निद्रा पुग्ने गरी सुत्नुपर्छ । उच्च रक्तचाप वा मधुमेहका बिरामी, धूम्रपान गर्ने, मोटोपन भए तथा परिवारमा उच्च रक्तचाप, मधुमेह वा मिर्गौलाका रोगी भए पनि मिर्गौला नियमित रूपमा जाँच गराउनुपर्छ । यसैगरी ३० वर्ष उमेर पुगेपछि वर्षको एकपटक मिर्गौलाको स्थिति परीक्षण गराउँदा भविष्यमा देखिन सक्ने जटिलताबाट जोगिन सकिन्छ । मधुमेह तथा उच्च रक्तचापका बिरामीले उमेरको हद नहेरी वर्षको एकपटक परीक्षण गराउनुपर्छ । मिर्गौला जोगाउन उच्च रक्तचाप तथा मधुमेह नियन्त्रणमा राख्नुपर्छ भने धूम्रपान बन्द गर्नुका साथै शरीरको तौल नियन्त्रित राख्नु अनि नियमित व्यायाम गर्नुपर्छ । 

पर्याप्त पानी सेवन गर्नुका साथै हरियो सागपात तथा रेसायुक्त खानाको मात्रा पनि बढाउनुपर्छ । चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । किनभने पीडा कम गर्ने औषधि अधिक सेवन गर्दा पनि मिर्गौला कमजोर हुन्छ । परिवारमा कसैलाई मिर्गौला रोग लागेको छ भने वर्षको एकपटक मिर्गौला परीक्षण गराउनु आवश्यक हुन्छ । 


(शिक्षण अस्पतालका नेफ्रोलोजिस्ट एण्ड ट्रान्सप्लान्ट फिजिसियन प्रोफेसर डा. दिव्या सिंहसँगको कुराकानीमा आधारित लेख)

 Image