Successfully Copied

कुकुर तिहार

तिहारको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । उक्त दिन कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा कुरा खान दिइन्छ ।

तिहारको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । उक्त दिन कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा कुरा खान दिइन्छ । कुकुरलाई खान दिादा ‘द्वौ श्वानौ श्याम शवलौ वैवश्वत कुलोद्भवौ । ताभ्यामन्नं प्रयच्छामि स्यातामेता बहिंसकौ । अर्थात् वैवश्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु । तिमीहरू अहिंसक बन’ भनिन्छ । कुकुरलाई इमान्दार पशु मानिन्छ । मानिसले आफू जंगली अवस्थामै रहँदादेखि कुकुर पाल्न थालेको विश्वास गरिन्छ । सिकारदेखि घरको सुरक्षा गर्ने काम होस् वा विभिन्न तरिकाले मनोरञ्जन प्रदान गर्ने काम होस् कुकुरले मानिसलाई सधैं साथ दिँदै आएको छ । कुकुरले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । यही गुणको कदर गरेर मानिसले कुकुरप्रति सम्मान गर्दै वर्षको एकदिन भए पनि कुकुरको पूजा गर्न थालेका हुन् । हाम्रा पौराणिक गाथाहरूमा पनि कुकुरसँग जोडिएका अनेकौं प्रसङ्ग छन् । वेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ । यस्तै अर्को पौराणिक प्रसङ्गमा यिनका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग छ । यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा एउटा कुकुर साथै गएको तथा अन्तिममा युधिष्ठिरसित ऊ पनि स्वर्ग पुगेको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूप बताइएको छ । कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यो दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यो दिन मासको पातको साग खाए मानिसका सबै पाप नाश हुन्छन् । त्यसैगरी यो दिन सबै पाप नाश गर्न तथा नरकलाई प्रसन्न पार्न नर्के नुहाइन्छ । नर्के नुहाइसकेपछि दीपदान गर्नुका साथै तथा तिलको बोट बालेर आगो तापिन्छ । यसो गर्दा नरकमा जानु पर्दैन भन्ने मान्यता छ ।

 Image