Successfully Copied

सेलिब्रेटीहरूको तिहार

पूर्वमिस नेपाल उषा खड्गी तिमल्सिनालाई प्राय: सबै चाडपर्व उत्तिकै मन पर्छन् । तीज वा दसैंको आफ्नै विशेषता रहेको र तिहारको छुट्टै महत्व भएकाले सबै पर्वमा उनी त्यत्तिकै रमाउँछिन् । तिहारमा काग, कुकुर, गोवर्धन, म्हपूजा तथा भाइटीका सबै उनी महत्वका मनाउँछिन् ।

सेलिब्रेटीहरूको तिहार 

 

नायिका बेनिसा हमाललाई सबैभन्दा मनपर्ने चाड तिहार हो । तिहारमा अरू बेलाभन्दा भिन्दै रौनक हुने उनी बताउँछिन् । झिलिमिली बत्तीले पूरा सहर नै रंगीन हुन्छ भने देउसी–भैली खेल्न आउनेहरूले वातावरणलाई थप रमाइलो बनाउँछन् । तिहारका पाँचै दिन विशेष लाग्छन् । त्यसमा पनि धेरै जना दाजुभाइलाई टीका लगाइदिन पाइने हुँदा भाइटीका अझ रमाइलो लाग्ने उनी बताउँछिन् । बेनिसाले ६ जनालाई टीका लगाइदिन्छिन् । ६ जनाबाट दक्षिणा पाउनु उनलाई रमाइलो लाग्ने अर्काे रमाइलो पक्ष हो । चितवनकी बेनिसा हरेक तिहारमा चितवनको मूलघरमै पुग्छिन् । बाल्यावस्थामा गुन्यू–चोलो लगाएर मेकअप गरी भैलिनी माग्न गएको र आएको पैसाले भोलिपल्ट पसलमा गएर मीठा–मीठा खानेकुरा किनेर खाएको उनले बिर्सिएकी छैनन् । अहिले पनि तिहार आउन लाग्यो भन्दा बाल्यावस्थाका रमाइला क्षण सम्झेर फेरि उस्तै हुन पाए हुन्थ्यो जस्तो लाग्ने नायिका हमाल बताउँछिन्् ।

गायिका सलोमी सिंहले नेपालमा दसैं–तिहार मनाएको एकदशक भैसकेको छ । यसबीच २–३ पटक मात्र भारतमा गएर तिहार मनाएको उनी बताउँछिन् । भारतमा हुँदा रंगोली बनाउने, लक्ष्मी र गणेशको मूर्ति बनाएर त्यसमा लुगा लगाइदिने, लक्ष्मीपूजाका दिन नुहाएर, भोकै बसी बेलुका पूजा गर्ने, राति मज्जाले पटका, चकलेट बम पड्काउने सलोमी अहिले पनि ती तिहार सम्झेर रमाउँछिन् । एकपटक चकलेट बम जलेन भनेर अगाडि जाँदा फुटेर ३–४ दिन कानै नसुनेको घटनालाई अविस्मरणीय मान्छिन् उनी । सलोमी तिहारका ५ दिन घरमा आफन्तहरूसँग बसेर सगुनका रूपमा तास खेल्थिन् । उनी ४ जनालाई भाइटीका लगाइ दिन्छिन् । सलोमीको हातबाट ४ पटक टीका छुटेको छ अन्यथा कि सलोमी भारत जान्छिन् कि भाइहरू यहाँ आउँछन् । छुटेको बेला पनि यहीँबाट टीका  र भागहरू पठाइ दिन्छिन् । सलोमी गायक श्रीमान् विकास तामाङका साथ ब्यान्डसँग देउसी–भैली खेल्न जान्छिन् । वर्षभरिको दु:ख हटाउन दियो बालेर, झिलिमिली गरेर उज्यालोको संकेत गरिएको मान्छिन् उनी । सलोमीले यो वर्षभरि यसरी नै हरेकको मन रंगीन होस् भन्ने भावका रूपमा बुझेकी छिन् ।

नायिका भिन्तुना जोशी तिहारको नामैले पनि मन खुसी हुने बताउँछिन् । नेपाल सम्बत्को उपलक्ष्यमा हुने भिन्तुना र्‍याली जोशीलाई सबैभन्दा राम्रो लाग्छ । उनी सानैदेखि भिन्तुना र्‍यालीमा सहभागी हुन्थिन्  । जोशी ५ दिन घर लिप्ने, लक्ष्मीपूजा गर्ने, म्हपूजा गर्ने र भाइटीका लगाइदिने काममा रमाउँछिन् । एक्ला दाइ पनि ६ वर्षदेखि हल्यान्डमा भएकाले भाइटीकाको दिन भने उनलाई खल्लो लाग्छ । उनी स्काइपबाटै भाइटीका मनाउँछिन् । तिहारमा उनलाई साँझपख घुम्न पनि निकै रमाइलो लाग्छ । घरलाई चोखो बनाई घरभरि दियो बाल्ने, झिलिमिली बत्तीहरू राख्ने काम पनि भिन्तुना आफै गर्छिन् । तिहारमा आफूसँग भएका दुईवटा कुकुरको पूजा गर्नु पनि एउटा विशेष पक्ष लाग्छ उनलाई । स्कुलमा पढ्दा म्यामहरूले भैलिनीको डान्स कम्पोज गरिदिने र लुगाहरू बनाइदिने हुँदा त्यतिबेलाको भैलिनी पनि उनी रमाइलो मान्दै स्मरण गर्छिन् ।

पूर्वमिस नेपाल उषा खड्गी तिमल्सिनालाई प्राय: सबै  चाडपर्व उत्तिकै मन पर्छन् । तीज वा दसैंको आफ्नै विशेषता रहेको र तिहारको छुट्टै महत्व भएकाले सबै पर्वमा उनी त्यत्तिकै रमाउँछिन् । तिहारमा काग, कुकुर, गोवर्धन, म्हपूजा तथा भाइटीका सबै उनी महत्वका मनाउँछिन् ।

पारिवारिक महत्व झल्काउने भएकाले भाइटीका उनलाई अझ बढी मन पर्छ । वीरगञ्जमा हुँदा उनी रंगोली बनाउँथिन् । लसुन र अदुवाबिनाको सादा खाना, खिर, पुरी, सेल रोटी एवं मिठाईं खाएर बस्थिन् । उषा माटाको पालामा दियो बालेर आफ्नो घर उज्यालो बनाउँछिन् । पहिले बहिनीहरू तथा साथीहरूको समूह बनाई भैली खेल्ने उषा अहिले भैली खेल्न आउनेहरूलाई नाङ्लोमा फलफूल, रोटी तथा पैसा राखेर दिन रुचाउँछिन् । तिहार भन्नासाथ उषाको मनमा सेल रोटीको झझल्को आउँछ । यसपटकको तिहार उषाका लागि अझ विशेष हुने भएको छ । पहिलो पटक छोरीले छोरालाई भाइटीका लगाइदिने हुँदा पनि उषा तिहारको विशेष प्रतीक्षामा छिन् । उनका एक्ला भाइ वीरगञ्जमा बस्ने भए पनि भाइटीकाकै लागि काठमाडौं आउँछन् । हरेक भाइटीकाका दिन पूजापछि परिवारका सदस्यहरू हलमा गएर फिल्म हेर्ने चलन छ । भाइटीकाले दिदीभाइको सम्बन्धमा आत्मीयता थप्ने उषाको धारणा छ ।

नायिका माला लिम्बू सिंगापुरमा हुर्किएकी हुन् । सिंगापुरमा हुर्किए पनि उनले सबै नेपाली चाडपर्व मनाउँदै आएकी छिन् । विदेशमा नेपाली चाडपर्वलाई अझ बढी महत्वका साथ मनाइने हुँदा उनलाई सबै पर्वका बारेमा जानकारी छ । तिहारमा आर्मी, पुलिसहरूको क्याम्पमा अगाडिदेखि नै झिलिमिली गरेर तिहारको आगमनको स्वागत गरिने माला बताउँछिन् । लिम्बू भन्छिन्–समूहमै काग, कुकुर र लक्ष्मीपूजा गरेर रमाइन्थ्यो । सिंगापुरमा पनि गोबरले भित्ता लिपेर देउसी–भैली खेल्ने चलन थियो, जुन मालालाई निकै मन पथ्र्याे । नेपाल आएपछि धरानको कलेजबाट साथीहरूसँग भैली खेल्न गएको मीठो अनुभव पनि छ उनीसँग । माला भाइ साम्बालाई विधि पुर्‍याएर भाइटीका लगाइदिन्छिन् । नेपालका यस्ता चाडपर्व तथा संस्कृतिले समाजमा भ्रातृत्व तथा एकता कायम राख्ने उनको धारणा छ । 

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ 

 Image