Successfully Copied

सुन्दर ट्युनिसिया

‘दे से द्याट इन ट्युनिसिया, सम पिपुल रिसिभ हेभी हेनडेड ट्रिटमेन्ट ।’ यही स्लोगनसँगै अर्धनग्न युवतीले मसाज लिइरहेको तस्बिर राखेर ट्युनिसियाले लन्डनमा गुड्ने बसमा अनौठो विज्ञापन गर्‍यो ।

‘दे से द्याट इन ट्युनिसिया, सम पिपुल रिसिभ हेभी हेनडेड ट्रिटमेन्ट ।’ यही स्लोगनसँगै अर्धनग्न युवतीले मसाज लिइरहेको तस्बिर राखेर ट्युनिसियाले लन्डनमा गुड्ने बसमा अनौठो विज्ञापन गर्‍यो । बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले गरिएको उक्त विज्ञापनले धेरैको ध्यान त खिच्यो नै, ‘उत्तेजक भएको’ भन्दै धेरैले त्यसको विरोध पनि गरे । आखिर जे भए पनि ट्युनिसियाको यो प्रचार रणनीति अन्तत: फलदायी साबित भयो । आन्तरिक द्वन्द्वका कारण सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न त्यसले राम्रै टेवा पुर्‍यायो । 

विज्ञापनको सन्दर्भमा पर्यटन बोर्डले पर्यटकहरूलाई खुला हृदयले आमन्त्रण गर्दै भन्यो–‘ट्युनिसियामा तानाशाही छैन, अब त्यो समाप्त भैसकेको छ । त्यसैले पर्यटकले नयाँ ट्युनिसिया अवलोकन गर्न पाउनेछन् ।’ २०१० को डिसेम्बरमा प्रारम्भ भएको लामो जनविद्रोहका कारण त्यहाँको पर्यटन व्यवसाय धराशायी भएको थियो । 

ट्युनिसियाको अर्थव्यवस्थामा पर्यटनको विशेष महत्व छ । त्यहाँ पर्यटनबाटै लाखौं मानिसले आफ्नो जीविका चलाइरहेका छन् । भनिन्छ–पर्यटन उद्योगले ट्युनिसियाको अर्थव्यवस्थामा अढाइ अर्ब डलरको योगदान गर्छ । 

किन जाने ट्युनिसिया ?

समुद्री तटमा बसेर ‘सूर्य स्नान’ को आनन्द लिन चाहनेहरूका निम्ति ट्युनिसिया राम्रो गन्तव्य हो । उत्तरी अफ्रिकी महाद्वीपको यो अरब मुलुकमा १२ सय किलोमिटर लामो समुद्री तट छ, जसले पर्यटकहरूलाई आमन्त्रण गरिरहेको हुन्छ । यो मुलुक भूमध्यसागरको किनारमा छ । 

ट्युनिसियाको सबैभन्दा लोकप्रिय पर्यटनस्थल हो भूमध्यसागर तटको सहर–मोनस्तिर । त्यहाँ वर्षभरि नै पर्यटकको ताँती लाग्ने गरेको छ । धेरैजसो पर्यटक न्यानो घाम ताप्न र आराम गर्न मोनस्तिर पुग्छन् जहाँ होटलमै पनि ठूला–ठूला स्वीमिङ पुलमा डुबुल्की मार्न सकिन्छ । कतिपय सी वाटर स्पोर्टस्मा रमाउँछन् भने कतिपय आकाशमै प्यारासुटको आनन्द लिन्छन् । 

त्यसो त ट्युनिसियामा त्यस्ता थुप्रै स्थान छन् जसले पर्यटकहरूलाई सजिलै लोभ्याउँछन् । आधुनिक संरचना मात्र होइन, प्राचीन सहरको पनि अवलोकन गर्न पाइन्छ यहाँ । रोमन युगको सबैभन्दा संरक्षित रंगशाला र साउदी अरबपछि संसारकै सबैभन्दा पुरानो मस्जिद ट्युनिसियाका आकर्षक हुन् । रोमन युगको रंगशाला अल जेममा आफैमा अद्भूत छ भने प्राचीन मस्जिद हेर्न क्यारुआन सहर पुग्नुपर्छ । 

दुई हजार वर्ष पुरानो रोमन युग र आठौं शताब्दीको अरब युगको अवशेष प्रत्यक्ष अवलोकन गर्न पाउनु ट्युनिसिया भ्रमणको अर्को रोमाञ्चक पक्ष हो । सी डाइभिङ, राइडिङ, सर्फिङ, हाइकिङ आदिका लागि पनि यो मुलुक उपयुक्त गन्तव्य हो । 

ट्युनिसिया सांस्कृतिक विविधाताले सम्पन्न छ । त्यहाँ तीन हजार वर्ष पुरानो इतिहास छ जसलाई ध्वनि, प्रकाश र अभिनयको एक कार्यक्रममार्फत प्रस्तुत गरिन्छ । पर्यटकका लागि मोनस्तिरका आसपासमा छुट्टै गाउँ बनाइएको छ । त्यहाँ झुपडीमा तन्दुरमा स्वादिष्ट रोटी पकाइरहेका महिलाहरूसँग साक्षात्कार गर्न सकिन्छ । एउटा ठूलो मैदानमा रोमन रंगशाला र ओपन एयर रंगमञ्चको मिल्दोजुल्दो रूप हेर्न पनि रमाइलो हुन्छ । 

ट्युनिसियामा अनौठो खालको जालिदार इँटा पनि प्रख्यात छ । यस किसिमको इँटा अन्य कुनै पनि मुलुकमा बनाइँदैन । खासगरी गर्मी मौसममा हावा आवतजावत गर्ने भएकाले यहाँ घर निर्माणका निम्ति यस्ता इँटा प्रयोग गरिन्छ । 

ट्युनिसियाका बासिन्दा मिलनसार र विनम्र हुन्छन् । सहयोगका लागि उनीहरू हार्दिकताका साथ उपस्थित हुन्छन् । यद्यपि उनीहरू अंग्रेजी भाषा त्यति बुझ्दैनन् । त्यहाँ अरबी एवं फ्रेन्च भाषा बोलिन्छ । 

ट्युनिसिया अरब मुलुक हो । यहाँ सन् १८८१ मा फ्रान्सले अधिकार जमाएको थियो र आठ–नौ दशकसम्म त्यसलाई उपनिवेश बनाएर राखेको थियो । त्यसैले यहाँको राष्ट्रभाषा अरबी भए पनि दोस्रो भाषाका रूपमा फ्रेन्च भाषा प्रचलित छ । 

उपयुक्त मौसम 

ट्युनिसिया भ्रमणका लागि वैशाख महिना उपयुक्त हुन्छ । यो महिनामा न धेरै गर्मी हुन्छ, न चिसो नै । पानी पनि धेरै पर्दैन । स्वास्थ्यवद्र्धक जलवायु यो मुलुकको अर्को आकर्षण हो । 

 Image