Successfully Copied

रक गायनमा गायिकाहरू

सन् १९५० मा सुरु भएको रक संगीतले नेपाली गायनमा भने प्रवेश पाएको धेरै भएको छैन । त्यसमा पनि नेपाली गायिकाहरूले रक गायनमा प्रवेश गरेको

सन् १९५० मा सुरु भएको रक संगीतले नेपाली गायनमा भने प्रवेश पाएको धेरै भएको छैन । त्यसमा पनि नेपाली गायिकाहरूले रक गायनमा प्रवेश गरेको सन् २००० देखि मात्र हो । पुनम सिंहले २००० मा कब वेभसँग मिलेर रक गाउन थालेपछि नेपालमा रक गायनमा महिलाहरू पनि सक्रिय हुन थालेका हुन् । प्रथम नेपाली रक गायिकाका रूपमा परिचित पुनमले जम्मा २ वटा रक एल्बम बजारमा ल्याएकी थिइन् । फेयट्फुल र एक्सपिरियन्स शीर्षकका ती एल्बममा उनले गाएका मनमा एउटा कुरा छ, भनूँ के म जस्ता गीतको मज्जा लिन सकिन्छ । हाल उनी रक गायनलाई पूर्णविराम लगाएर चिकित्सा पेसामा व्यस्त छिन् ।

पुनमले सुरु गरेको रक यात्रालाई दार्जीलिङमा जन्मिएकी अभया सुब्बाले निरन्तरता दिइरहेकी छिन् । मुम्बईको सेन्ट मेरिजमा पढेकी अभयाले दिल्लीको टाइम्स एफएममा आरजेका रूपमा काम गर्दै त्यहाँको रक ब्यान्ड परिक्रमा ब्यान्डसँग आबद्ध भ एर रक गाउन थालेकी हुन् । त्यहाँ उनले सन् १९९३ देखि १९९५ सम्म गाइन् भने पछि अरू ब्यान्डमा पनि गायिकाका रूपमा रक गीत गाउन थालिन् । अभया नेपाल आएर सन् २००२ देखि अभया एन्ड स्टिम इन्जिनमार्फत नेपाली रक गायनमा महिलाको दर्‍हो उपस्थिति जनाइरहेकी छिन् । ब्यान्डमा अभयाबाहेक सबै सदस्य पुरुष छन् । अभया हामी सबै नेपाली, अन्तिम पत्र, तिम्रा लागि, सिरीमा सिरी, सपना र कर्तव्य, शून्यताको पल, सक्दिन अब म, कसै कसैले, सधैं-सधैं, कोसेली, किन रुनु आदि चर्चित रक गीत गाएर नेपाली रक संगीतमा रमाइरहेकी छिन् ।

सिने गुरुङ पनि युवापुस्तामाझ लोकप्रिय रक गायिका हुन् । नेपाली स्लो रक तथा पप गीतमा स्थापित सिनेले थुप्रै रक कन्सर्टमा प्रस्तुति दिइसकेकी छिन् । मेरो प्यारो मान्छे तिमी, माया,  तिमीले छुने हात, तिम्रो मायामा, मन, सम्झाएको मात्र प्रिय, तिम्रो मायामा गितार छोड्छु, मधुरो रातमा जस्ता उनका दर्जनौं लोकप्रिय गीत छन् । उनी हाल नेपाली रक गायनमा व्यस्त गायिकामध्ये एक हुन् ।

आधा दशकअघि सालको पात टपरी... गीतको रिमिक्स गाएर चर्चा कमाएकी गायिका हुन्-आस्था राउत । अध्ययनका क्रममा केही वर्ष अमेरिका बस्दा संगीत क्षेत्रबाट टाढिए पनि संगीतप्रतिको मोहले गर्दा नेपाल र्फकेर पप तथा रक संगीतलाई अँगालेकी छिन् आस्थाले । उनले खोइ त मेरो झुम्के बुलाकी, चौबन्दीमा पटुकी, म त नेपाली माया गर्ने छोरी आदि चर्चित गीतबाट प्रशस्त चर्चा बटुलेकी छिन् ।

सानैदेखि गाउन रुचाउने सुजिना श्रेष्ठ दुई वर्षदेखि व्यावसायिक गायनमा सक्रिय छिन् । सुजिनाको तेरो बाउको सम्पत्ति, मेरो माया, मलाई बाल छैन आदि गीत अहिलेका युवापुस्तामाझ लोकप्रिय हुँदैछन् । उनी अहिले काठमाडौं उपत्यकाबाहिरका विभिन्न रक कन्सर्टमा र हप्ताको ३-४ वटा होटल तथा रेस्टुराँमा गीत गाउँछिन् । भविष्यमा उत्कृष्ट रक गायिकाका रूपमा परिचित हुने उनको चाहना छ ।

एकता सिंहले पनि आफ्नो रक एल्बम बजारमा ल्याएकी थिइन् । उनले गाएको फाट्यो नि माइतीको चिनो युवापुस्ताले रुचाएको गीत हो । आस्था बीले पनि पपसँगै रक गायनलाई पनि सँगसँगै अघि बढिरहेकी छिन् । त्यस्तै अमेरिका बस्ने आस्था तामाङ मास्के पनि रक गायनमा सक्रिय गायिका हुन् । नेपाल आएर एल्बम निकालेकी आस्थाले घामको सानो टुक्रा, मुस्कुराएँ, सबै ठिक्कै हुन्छ, खुल्ला आकाशजस्ता चर्चित रक गीत गाएकी छिन् । उनी हाल पनि रक संगीतमा नयाँ-नयाँ सिर्जना गर्दैछिन् । हुन त अन्य पप गायिकामा इन्दिरा जोशी, शशि रावल, सरुबम आदिले पनि रक गायनलाई आत्मसात् गरिरहेका छन्, तर पनि रक गायनमै भनेर लाग्ने गायिका भने अभया सुब्बा नै हुन् । जसरी आधुनिक, पप, लोक, दोहोरी तथा शास्त्रीय गीतमा गायिकाहरूको बाक्लो उपस्थिति देखिन्छ, त्यो अनुपातमा रक गायनमा महिला उपस्थिति निकै कम छ । हुन त नेपाली समुदायमा रक संगीतलाई नचाहिँदो हल्ला, ठूलो स्वरले गाउने र अल्लारेहरूको जमातको संगीतका रूपमा हेर्ने चलन अहिले पनि छ । नेपाली रक गायनमा महिला गायिकाहरूको उपस्थिति निकै कम देखिनु त्यसैको असर पनि हुन सक्छ । यद्यपि यो कुरासँग गायिका अभया सुब्बा पटक्कै सहमत छैनन् । उनका अनुसार रक संगीत चिच्याएर गाइने गायन पक्कै होइन । अहिलेका युवापुस्ताको चाहना यो संगीत पनि हो । सुब्बा भन्छिन्- जसरी अन्य विधाका गीत गाउन रियाजको आवश्यकता छ, रकका लागि पनि प्राक्टिस त्यत्तिकै जरुरी छ ।

 Image