Successfully Copied

भाँडाकुँडाका परिमार्जित रूप

उहिले हाम्रा हजुरआमा, आमाका पालामा प्रयोग गरिने स्टिल, पित्तल, ढलोट तथा सिल्भरका भाँडाको स्थान अब मेलामाइन, सेरामिक, चरेस तथा सिल्भर प्लेटेड भाँडाले

उहिले हाम्रा हजुरआमा, आमाका पालामा प्रयोग गरिने स्टिल, पित्तल, ढलोट तथा सिल्भरका भाँडाको स्थान अब मेलामाइन, सेरामिक, चरेस तथा सिल्भर प्लेटेड भाँडाले लिन थालेका छन् । अझै पनि पुराना बूढाबूढीहरू माटाको कालो कराहीमा पकाइएको दाल-तरकारीको स्वाद जिब्रोमै गडेको बताउँछन् तर त्यस्ता भाँडाकुँडा अहिले कहाँ पाउनु ? पछिल्लो समयमा त अझ बिजुलीबाट चल्ने प्रेसर कुकरले प्राय: भाँडाको काम एक्लैले गरिदिन्छ । यसमा भातदेखि सुपसम्म पकाउन मिल्छ ।

बजारमा देखिएका यस्ता आधुनिक भाँडामा अहिले सर्वाधिक चलेको डिनर सेट नै हो । थाइल्यान्डको बिस्टो ब्रान्ड तथा चाइनिज सिसाका डिनर सेट अहिले चल्तीका आधुनिक भाँडा हुन् । जसको मूल्य ८ हजारदेखि १३ हजार रुपैयाँसम्म पर्छ । यसभित्र दाल, भात, तरकारीका लागि छुट्टाछुट्टै बाउल, सर्भिङ स्पोनलगायत खाना सर्भ गर्ने प्लेट र साना आकारका बाउलसम्म आउँछन् । मकैको खोस्टा, मेलामाइन, काठ आदिबाट बनाइएका कोस्टर पनि भान्साका लागि आकर्षक र आवश्यक एसेसरिज हुन् । यसको मूल्य ९५ रुपैंयाँदेखि २ सय ५५ रुपैंयाँ पर्छ । ८० देखि ३ सय रुपैंयाँका सेरामिकका कलरफुल टी कप र टी मग अहिले सर्वाधिक बिक्री हुने आइटम हुन् जुन कफी, चिया, दूध आदि पिउनका लागि उत्तम छन् । ३ सय देखि २५ सयसम्मका कप सेटमा भने टी कपका अतिरिक्त टी प्लेट पनि सँगै आउँछन् । प्लास्टिकका चिटिक्क परेका कलरफुल फ्रुट स्पोन तथा र्फक पनि अहिलेका क्रेताले निकै रुचाएका छन् ।

चाडपर्वमा बढी बिक्री हुने ननस्टिक कराही, प्यान, तावा पनि अहिले परिमार्जित रूपमा राता, पहेंला, हरिया तथा ब्याक प्रिन्टमा आएका छन् । कलरफुल ननस्टिकका यी भाँडा माछा-मासु फ्राई गर्न, भेजिटेबल स्टिम गर्न तथा तार्न सहज हुने भाटभटेनी सुपरमार्केट, कोटेश्वरका फ्लोर इन्चार्ज कृष्ण खतिवडा बताउंँछन् । यसको मूल्य २ हजारदेखि ४ हजारसम्म पर्छ । पिकासो, फिन्को, मिल्टन नामक भारतीय ब्रान्डका हटकेस अहिले कामकाजी मानिसका लागि तातो र फ्रेस खानाका लागि वरदान साबित भएका छन् । ८ सयदेखि ३ हजारसम्मका यस्ता हटकेस विभिन्न कलरमा उपलब्ध हुन्छन् । चाडपर्वमा बढी बिक्री हुने भान्साका आइटममा चरेसका भाँडाकुँडा पनि अग्रपंक्तिमा छन् । चरेसका थाल, कचौरा, गिलास, चम्चा, काँटा आदि सामग्रीमा अहिले क्रेताहरूको रुचि बढ्दै गएको खतिवडाको भनाइ छ । ६ हजार ६ सय ७० रुपैंयाँ पर्ने भारतीय कम्पनी बाल्टाको इलेक्टि्रक प्रेसर कुकर न्यू अराइभल किचेन गुड्स हो । यसमा दाल, भात, तरकारीका साथै माछा-मासु, सुप आदि हरेक कुरा पकाउन मिल्छ । अर्को नयाँ सामान भनेको चाइनिज ब्रान्डको फ्रायर तथा जापनिज ब्रान्ड पानासोनिकको किमा बनाउने मिट ग्य्रान्डर मेसिन हो । यी दुईका माध्यमद्वारा माछा-मासु, आलुका अतिरिक्त अन्य भेजिटेवल फ्राई गर्न र म:म वा कचिलाका लागि किमा बनाउन सहज हुन्छ । १ वर्षे वारेन्टी रहेका यी इलेक्ट्रोनिक्स सामानको मूल्य ६ हजार ७ सय तथा ६ देखि १२ हजार रुपैंयाँ पर्छ ।                            

भान्सालाई आकर्षक लुक्स दिन तथा एलिगेन्ट भान्साका लागि क्रिस्टलका भाँडाकँुडा पनि उपयुक्त हुन्छन् । क्रिस्टलद्वारा निर्मित वाइन तथा हि्वस्की गिलास चाडपर्व लक्षित सामग्री पनि हुन् । ६ वटाको सेटलाई २ हजारदेखि ३ हजार ५ सय रुपैयाँ पर्ने क्रिस्टलका गिलासको ठूलो माग छ । प्रतिगोटा ४ हजार ५ सय रुपैयाँ पर्ने लन्डनबाट आयातीत क्विन एनी टेवल वेयर सिल्भर प्लेटेड भाँडा हुन् । यसअन्तर्गत पूजाथाली, किस्ती, करुवाका अतिरिक्त अन्य डेकोरेटिभ आइटम आउँछन् । तामाका पूजाथाली, टीकाथाली, खड्कुला, गाग्री तथा शंखको ३ सयभन्दा माथि पर्छ । भारतीय, फिलिप्स तथा निकाइ ब्रान्डका ६ देखि १० हजार रुपैंयाँ  पर्ने जुसर पनि नेपालीहरूले निकै रुचाएका छन् भने सार्पको ठूला आकारका राइस कुकरको माग पनि बढ्दो छ । १० लिटरको राइस कुकरको मूल्य १६ हजार पर्छ भने साना राइस कुकुर आकार र कम्पनीअनुसार फरक मूल्यमा उपलब्ध हुन्छन् ।

लक्ष्मी भण्डारी थापा

 Image