Successfully Copied

तीजका लागि कलर कस्मेटिकको रौनक

तीज नजिकिँदै जाँदा रातो रंगले बजार ढाकिएको छ। हरेक कस्मेटिक पसलले धमाधम राता सौन्दर्य प्रसाधन भित्र्याइरहेका छन्।

तीज नजिकिँदै जाँदा रातो रंगले बजार ढाकिएको छ। हरेक कस्मेटिक पसलले धमाधम राता सौन्दर्य प्रसाधन भित्र्याइरहेका छन्। कलर कस्मेटिकमध्ये लिपिस्टिक, नेलपोलिस, ब्लसर तथा आइस्याडोको माग अत्यधिक हुन्छ। नेपाली बजारमा विभिन्न ब्रान्डका कलर कस्मेटिकको कारोबार हुने गरेको छ। तीजको मौसममा अरुभन्दा राता एवं चहकिला रंगका सौन्दर्य प्रसाधन बढी बिक्री हुन्छन्। यद्यपि उपभोक्ताले के कुरामा सचेत हुनुपर्छ भने अहिले कलर कस्मेटिकको नेपाली बजारमा नक्कली प्रसाधनको बिगबिगी छ, खरिद गर्दा सावधानी अपनाउन सकिएन र सस्तो सामानको लोभमा फसियो भने सौन्दर्य बढ्नुको साटो विविध स्वास्थ्य समस्या देखा पर्न सक्छन्। सक्कली र नक्कली प्रसाधन प्याकेजिङबाट पनि पत्ता लगाउन सकिन्छ।

लोरियल

नेपाली बजारमा सबैजसो ब्रान्डेड कस्मेटिक भित्रिरहेका छन्। नेपालीहरू पनि हार्दिकतासाथ ती ब्रान्डहरू छानीछानी प्रयोग गर्न थालेका छन्। लोरियल एक प्रतिष्ठित ब्रान्ड मानिन्छ। यसले विश्वका सबै राष्ट्रमा आफ्नो सफल यात्रा तय गरिसकेको छ। लामो शोधपछि बजारमा ल्याइने यसका सबै उत्पादन केमिकल फ्री तथा ल्याब टेस्ट गरिएका छन्। समय तथा ट्रेन्डी फेसनअनुरूप यसले त्यस्तै खालका रंगलाई प्राथमिकता दिन्छ। लोरियल मौसमअनुरूप म्याट तथा ग्लसी प्रसाधनहरू उत्पादन गर्न कटिबद्ध छ। यसका शाखा कार्यालयहरू विभिन्न देशमा खुलेका छन्। नेपाली बजारमा यसको प्रवर्द्धन भर्खरै सुरु भएको छ। यसका नेलपोलिस तथा लिपिस्टिक नेपाली उपभोक्ताहरूले विशेष गरी रुचाएका छन्। लोरियलले सधैं उज्याला रंगलाई प्राथमिकता दिँदै आएको छ।

क्रेलोन

क्रेलोन प्रोफेसनल मेकअपका लागि विश्वकै उत्कृष्ट ब्रान्ड हो। सबै मेकअप एकै प्रकारको हुँदैन। समय सुहाउँदो मेकअपका लागि त्यस्तै प्रसाधन चाहिन्छ। चाहे व्यक्तिगत होस् वा फिल्म अथवा थिएटर सबै खालका मेकअप गर्न सक्ने रेन्ज क्रेलोनले उपलब्ध गराउँछ। यो ब्रान्ड उत्पादनका लागि मौलिक तत्व तथा प्रविधि प्रयोग गरिएको छ। यसको उत्पादन सुरु भएकोे ६ दशक भैसकेको छ। यसका १६ सय उत्पादनमा ७ सय ५० रंग खेलाइएको छ। समय सुहाउँदो तथा सबै रेन्जका मेकअपका सामग्री यो ब्रान्डकै विशेषता हो। क्रेलोनले एअर ब्रस, स्पेशल इफेक्ट तथा हाइ डेफिनेसन मेकअप सामग्री उत्पादन गरेको छ। यसका साथै यसले मेकअप एसेसरिजहरू पनि उत्पादन गर्छ। प्रोफेसनल मेकअपका लागि क्रेलोन उपयुक्त मानिएको छ। मेकअप आर्टिस्टहरूलाई यसले विविधता प्रदान गरेको छ। यसको बिक्री-वितरण विश्वका ८० देशमा हुन्छ। दक्ष प्राविधिकहरूको अवलोकनमा गुणस्तरीय कच्चा पदार्थको प्रयोग भएकाले यसले अनुहारमा कुनै हानि पुर्‍याउँदैन। यसका सबै उत्पादन लामो समयसम्म टिक्छन्। जनावरमाथि यसका कुनै पनि उत्पादन परीक्षण गरिएका छैनन्। क्रेलोनका फाउन्डेसन, लिपिस्टिक, पेनस्टिक, प्यालेट आदि उत्पादनको नेपाली बजारमा विशेष माग छ। विशेष गरी यसलाई नेपालका मेकअप आर्टिस्टहरूले मन पराएका छन्। बर्लिनमा उत्पादन हुने यो ब्रान्ड नेपाली बजारमा पनि लोकप्रिय छ।

रेभलोन

रेभलोन नेपाली सौन्दर्य संसारमा निकै चर्चित नाम हो। मेकअप भन्नेबित्तिकै सबैको मुखमा रेभलोनको नाम आइहाल्छ। मेकअपको संसारमा यसले बिनाकुनै तामजाम आफ्नो बजार बढाइरहेको छ। यो ब्रान्ड नेपालीहरूमाझ निकै प्रिय छ र नेपालीहरूको विश्वास पनि जितिसकेको छ। यसको उत्पादन सन् १९३२ देखि सुरु भएको हो। रेभलोन नेपाली बजारमा भित्रिएको करिब दुई दशक बितिसकेको छ। सुरुमा यसको उत्पादन अमेरिकामा भएको थियो तर अहिले रेभलोनले विभिन्न देशलाई आफ्नो फ्रेन्चआइजी दिएको छ। यो ब्रान्ड अहिले १ सय देशमा खरिद गर्न सकिन्छ। रेभलोनका कलर कस्मेटिकबाहेक हेयर कलर, स्किन केयर आदि पनि बजारमा उपलब्ध छन्। अहिले धेरै देशमा यसले आफ्नो वर्चश्व कायम गरेको छ। नेपालमा पनि यसको माग सन्तोषजनक छ। रेभलोनका सबै रेन्ज नेपालका लिडिङ मल तथा कस्मेटिक शोरुमहरूमा खरिद गर्न सकिन्छ। यसका लिपिस्टिक, नेलपोलिस, आइस्याडो, ब्रन्जर, लुज पाउडर, फाउन्डेसन आदि राम्रो बिक्री हुन्छ। लामो समयदेखि निरन्तर उत्पादन भैरहेको यो ब्रान्डले विश्वसनीयता हासिल गर्दै गुणस्तर पनि कायम राखेको छ। प्रिमियम ब्रान्ड भएकाले यसको मूल्य त्यसैअनुरूप तय गरिएको छ। यसको प्याकेजिङ आकर्षक छ। यो ब्रान्डका सबै उत्पादन ढुक्कसँग प्रयोग गर्न सकिन्छ। केमिकलरहित रेभलोनका उत्पादन खरिद गर्दा निकै सतर्क पनि हुनुपर्छ किनभने यसका नक्कली प्रसाधन पनि बजारमा छ्यापछ्याप्ती छन्।

लोटस

स्किन केयरको संसारमा आफ्नो उत्कृष्ट स्थान बनाउन सफल लोटसका कलर कस्मेटिकहरूको माग उस्तै छ। लोटसका उत्पादनले नेपाली बजारमा फरक लोकप्रियता हासिल गरिसकेका छन्। यसका सबै उत्पादन गुणस्तरीय छन्। भारतीय ब्रान्ड भएकाले पनि यो नेपालीहरूको छालाका लागि उपयुक्त साबित भैसकेको छ। करिब एक दशकअघि नेपाली बजारमा भित्रिएका लोटसका उत्पादनहरू नेपालका सबै स्तरीय आउटलेटहरूमा खरिद गर्न सकिन्छ। लामो शोधपछि बजारमा उतारिएका यसका स्किन केयर मात्र होइन यसका कलर कस्मेटिकहरूले पनि बिस्तारै राम्रो बजार लिइरहेका छन्। यसका कलर कस्मेटिकहरू गुणस्तरीय छन्। परम्परागत तथा आधुनिक दुवै प्रविधिको संमिश्रणबाट यसका प्रसाधन तयार गरिन्छन्। उत्तरप्रदेशको नोयडामा यसको उत्पादन हुन्छ। नेपालमा यसको आधिकारिक बिक्रेताको कार्यालय न्यूरोडमा छ। यसका उत्पादनहरूमा गाजल, ग्लस, लिपिस्टिक, फाउन्डेसन, आइस्याडो तथा पाउडर उपभोक्ताहरूले विशेष रुचाएका छन्। प्रिमियम ब्रान्ड भएकाले उत्पादन हेरी यसको मूल्य निर्धारण गरिएको छ। लोटसले तीजको अवसरमा रातो रंगका प्रसाधन बजारमा उपलब्ध गराउँदैछ। स्किन केयर मात्र होइन अनुहारमा मेकअपको पनि उत्तिकै महत्व भएकाले लोटसले यसको रेन्ज पनि बजारमा उतारेको हो।

डीएमजीएम

अ टच अफ लक्जरी भन्ने स्लोगन लिएर कस्मेटिक बजारमा भित्रिएको डीएमजीएम विश्वकै लोकप्रिय ब्रान्डमध्ये एक हो। डेनमार्कको यो ब्रान्ड प्रिमियम ब्रान्ड मानिन्छ। नेपालमा भर्खरै भित्रिए पनि यसले विश्व सौन्दर्य बजारमा तहल्का मच्चाइसकेको छ। लामो अनुसन्धानपछि बजारमा आएका यसका सबै उत्पादन आधुनिक जीवनशैलीलाई केन्दि्रत गरी तयार पारिएका छन्। यसले थिएटर मेकअप, हाइडेफिनेसन मेकअपका साथै एसेसरिज पनि उत्पादन गर्छ। अहिले यसका करिब ५ सय रेन्ज बजारमा छन्। विश्वका सबै राष्ट्रमा यो प्रसाधन खरिद गर्न सकिन्छ। विभिन्न दक्ष प्राविधिकको समूहमा उत्पादित यो ब्रान्ड गुणस्तरीय छ। यो ब्रान्डका स्किन प्रिमियर, मेकअप बेस, स्टिक आइब्रो, कोलाजन बुस्ट मस्करा यसका विशेष रुचाइएका रेन्ज हुन्। नक्कली कस्मेटिकबाट वाक्क नेपाली उपभोक्ताहरूले यसरी विविध ब्रान्डका कस्मेटिक छनोट गर्न पाए भने पक्कै पनि नक्कली सामग्रीहरूको बिगबिगी कम हुनेछ।

ब्लुम कस्मेटिक

अहिले नेपालमै कस्मेटिक उत्पादन हुन थालेका छन्। नेपाली ब्रान्डहरू पनि स्थापित हुने क्रममा छन्। नेपालमै उत्पादन हुने ब्लुुम कुनै अन्तर्राष्ट्रिय ब्रान्डभन्दा कम छैन। यसलाई लामो शोध तथा अनुसन्धानपछि बजारमा उतारिएको हो। यसको उत्पादन भैंसेपाटी, काठमाडौंमा हुन्छ। यसको उत्पादन सुरु भएको करिब दुई वर्ष भैसकेको छ। ब्लुमका उत्पादनमध्ये नेलपोलिस, लिपिस्टिक, रिमुभर तथा आइलाइनर बढी लोकप्रिय छन्। यसमा नक्कलीको समस्या छैन। ब्रान्डेडभन्दा यसको मूल्य केही सस्तो छ। विज्ञ प्राविधिकहरूको समूहले यसको उत्पादन गरेको हो। तीजलाई ध्यानमा राखी ब्लुमले राता तथा रानी रंग उत्पादनमा जोड दिएको छ। नेपाली उपभोक्ताले यो ब्रान्ड निकै रुचाएका पनि छन्।

फ्लोरल

नेपालमा बिस्तारै स्थापित हुँदै गएको ब्रान्ड फ्लोरलको कारोबार सन्तोषजनक छ। नेपालमा यसलाई मन पराउने महिलाहरूको पृथक् समूह छ। एकपटक फ्लोरलका उत्पादन प्रयोग गर्न थालपछि धेरैले यसलाई निरन्तरता दिन्छन्। यो जर्मन ब्रान्ड नेपाली बजारमा भित्रिएको करिब एकदशक भएको छ। फ्लोरलका सबै उत्पादन नेपाली उपभोक्ताहरूले प्रयोग गरिसकेका छन्। पिके इम्पेक्सले यसलाई नेपाली बजारमा उतारेको हो। यो प्रिमियम ब्रान्डको गुणस्तरमा औंला उठाउने कुनै ठाउँ छैन। विश्वका सबै देशमा यसको बिक्री-वितरण सफल मानिएको छ। यसका ट्रेन्डी कलरका सबै रेन्ज बजारमा उपलब्ध छन्। विशेष गरी मल तथा ब्रान्डेड शोरुमहरूमा फ्लोरल ब्रान्ड खरिद गर्न सकिन्छ। यसको भोल्युम फाउन्डेसन, मस्करा, नेलपोलिस तथा लुज पाउडर नेपाली उपभोक्ताले बढी रुचाएका छन्। लामो अध्ययनपछि बजारमा उतारिएको हुँदा यी प्रसाधनबाट छालालाई कुनै हानि हुँदैन। यो नेपाली छालाका लागि उपयुक्त मानिएको छ। हानिकारक रसायन प्रयोग नहुनु तथा आकर्षक प्याकिङ फ्लोरलका विशेषता हुन्।

स्टार कस्मेटिक

नेपाली बजारमा सौन्दर्य प्रसाधनको माग निरन्तर बढिरहेको छ। त्यसैले यहाँ बर्सेनि नयाँ-नयाँ ब्रान्डका कस्मेटिक भित्रिन्छन् र तीमध्ये केही नेपाली बजारमा स्थापित हुन्छन्। कस्मेटिकको संसारमा सबै खालका रेन्ज उत्पादन गरी उत्कृष्टता हासिल गरिसकेको स्टार कस्मेटिकका सबै उत्पादन गुणस्तरीय छन्। उच्च गुणस्तरका सबै रेन्ज उत्पादन गर्ने यो ब्रान्ड प्रिमियम ब्रान्डमा पर्छ। यो ब्रान्डका उत्पादन पार्लर, थिएटर तथा चलचित्रका लागि पनि उपयुक्त छन्। विश्वव्यापी रूपमा यसले निकै लोकप्रियता हासिल गरेको छ। यसका हरेक उत्पादनको माग उत्तिकै छ। दक्ष जनशक्तिको प्रत्यक्ष निगरानीमा गरिने यसका उत्पादन स्वस्थकर पनि हुन्छन्। यसको उत्पादन सन् १९८४ मा भारतको गुजरातबाट प्रारम्भ गरिएको हो। स्टार कस्मेटिकका सौन्दर्य प्रसाधनको प्रयोगले छालालाई कुनै असर गर्दैन। यसका अन्डर बेस, प्यालेट, कन्सिलरजस्ता सबै रेन्ज नेपाली बजारमा उपलब्ध छन्।

नेपाली बजारको अध्ययनपछि मैले यो कस्मेटिक भित्र्याएकी हुँ। बजारमा आएको एक वर्षमै यसले राम्रो लोकप्रियता हासिल गरेको छ। फिल्म निर्माण पारिवारिक व्यवसाय भएकाले मेकअपका विषयमा मलाई पहिलेदेखि नै रुचि थियो। नेपालीहरू मेकअप गर्न निकै रुचाउँछन्। फलत: मैले यो ब्रान्डका सामान भित्र्याएर राम्रो प्रतिक्रिया पाएकी छु। अहिले मेरा सामान मुख्यत: पार्लरमा जान्छन्। यो ब्रान्डको अहिलेसम्म कुनै आधिकारिक आउटलेट छैन। म अर्डरअनुसार सामान डेलिभरी गर्छु। राम्रो भएकाले एकपटक लानेहरूले दोहोर्‍याएर सामान माग गर्छन्।

 रञ्जु घिमिरे, स्टार कस्मेटिक

म्याक्सिम

कलर कस्मेटिकमा विश्वव्यापी रूपमा वर्चश्व कायम गर्न सफल म्याक्सिमका कस्मेटिक नेपाली बजारमा पनि उपलब्ध छन्। सन् १९८० देखि उत्पादन प्रारम्भ भएको यो ब्रान्ड अहिले उत्कृष्ट तथा गुणस्तरीय ब्रान्डका रूपमा विकसित भएको छ। यसले विश्वव्यापी रूपमा राम्रै लोकप्रियता हासिल गरिसकेको छ। यसको उत्पादन जर्मनी, फ्रान्स तथा लग्जम्बर्गमा हुन्छ। यसले सौन्दर्यको मापनमा पर्ने सबै खालका प्रसाधन बजारमा उतारेको छ। जसअन्तर्गत परफ्युमदेखि ओरल केयरसम्म पर्छन्। विभिन्न परीक्षण तथा प्रयोगपछि बजारमा ल्याइएको हुनाले यसको कुनै नकारात्मक प्रभाव छैन। यो पूर्णरूपमा रसायनमुक्त छ। म्याक्सिम ब्रान्डअन्तर्गत ल्याकुरा तथा बायोकुरा दुई रेन्ज छन्। नेपाली बजारमा भर्खरै भित्रिएको यो उत्पादनलाई दि ग्लोबसले प्रवर्द्धन गरिरहेको छ। म्याक्सिमको आउटलेट हात्तीगौंडामा छ। गुणस्तरीय भए पनि यसको मूल्य निकै कम छ। आकर्षक प्याकिङ तथा सन्तोषजनक परिमाण यो ब्रान्डको विशेषता हो।

जर्मनीको लामो बसाइपछि मैले यो प्रसाधन ल्याउन चासो देखाएको हुँ। नेपालको कस्मेटिक बजार निकै राम्रो छ। नेपालीहरू पनि ब्रान्डेड कस्मेटिकतर्फ आकषिर्त छन्। प्रसाधनका बारेमा नेपालीहरू निकै सजग भएको अनुभव गरी मैले यो कस्मेटिक भित्र्याएको हुँ। ब्रान्डेड भए पनि यो अरु ब्रान्डको तुलनामा सस्तो छ। यसका सबै रेन्ज उत्कृष्ट छन्। त्यसमा पनि कलर कस्मेटिक अब्बल भएकाले मैले सुरुमा कलर कस्मेटिकलाई केन्दि्रत गरेको हुँ। हामी सीधै जर्मनीबाट प्रसाधन आयात गर्छौं। नेपालमा नक्कली कस्मेटिकको बिगबिगी छ। कुन कस्मेटिक कति गुणस्तरीय छ भनेर लेखाजोखा राख्ने निकायको फितलो अनुगमनले निकै अप्ठ्यारो बनाएको छ। अरु ब्रान्डजस्तै यो ब्रान्ड पनि नेपाली बजारमा राम्रोसँग स्थापित हुने विश्वास छ।

दीपेन्द्र के. सी., म्याक्सिम

ड्याजमा ट्याज

ड्याजमा ट्याज यो नेपालमा हालसालै उपलब्ध हुन थालेको नयाँ ब्रान्ड हो। यो ब्रान्ड मध्यमवर्गीय ग्राहकहरूलाई लक्षित गरी नेपाल भित्रिएको हो। जर्मनीमा उत्पादन हुने यो ब्रान्डको गुणस्तर भने निकै राम्रो मानिएको छ। यो ब्रान्डले बिस्तारै नेपालीहरूको मन जित्दैछ। यसको उत्पादन सन् १९६७ देखि सुरु भएको हो। यो ब्रान्ड अहिले १ सय देशमा खरिद गर्न सकिन्छ। यसका फाउन्डेसन, कम्प्याक्ट, मस्करा, आइलाइनर, आइब्रो पेन्सिल, लिपग्लस तथा लिपिस्टिक आदि उपलब्ध छन्।

गोस कस्मेटिक

नेपाली बजारमा ब्रान्डेड कस्मेटिकको बाढी आएको देखिन्छ। चिनियाँ सौन्दर्य प्रसाधनको बिगीबिगीले ग्राहकलाई तर्साएका कारणले महँगो भए पनि उपभोक्ताहरू ब्रान्डेड कस्मेटिक खरिद गर्न चाहन्छन्। पिके इम्पेक्सले प्रवर्द्धन गरेको गोस प्रिमियम ब्रान्ड हो। डेनमार्कमा उत्पादन भएको यो कस्मेटिक लामो शोधपछि बजारमा आएको हो। यसका सबै उत्पादन गुणस्तरीय भएको कम्पनीको दाबी छ। गोसले अहिले चलेका रंगहरू खेलाएर विभिन्न किसिमका प्रसाधन बजारमा उतारिरहेको छ। सन् १९७४ मा यसको उत्पादन सुरु भएको हो। अहिले विश्वका ७५ देशमा यसको बजार छ। यसले कलर कस्मेटिक, हेयर केयर, बडी केयर, फेस केयरका सबै रेन्ज उत्पादन गरेको छ तर नेपालमा अहिले कलर कस्मेटिक मात्र उपलब्ध छ। गोसले अप टु मिनेट टेक्नोलोजीलाई केन्द्रमा राखेर प्रसाधन तयार गर्छ। यसले उत्पादनमा कुनै सम्झौता गरेको छैन। उत्कृष्टता, नौलोपन तथा बलियो ब्रान्ड अवधारणा यसको विशेषता हो। यो ब्रान्ड जीवन तथा विविधताबाट प्रेरित छ।

नेपालमा कलर कस्मेटिकको बजार सुधारोन्मुख छ। नेपाली महिलाहरू ब्रान्ड कन्सस भएका छन्। नक्कली कस्मेटिकले नकारात्मक असर गरिरहेका कारणले महिलाहरू ब्रान्डेडतर्फ आकषिर्त भएका हुनसक्छन्। पि के इम्पेक्सले विभिन्न ब्रान्डेड कस्मेटिक बजारमा ल्याएको छ। नेपालीहरूको आर्थिक स्तरलाई ध्यानमा राखी हामीले सबै खालका कस्मेटिक आयात गरेको छ। ब्रान्डेड कस्मेटिक प्रयोग गर्नेबित्तिकै त्यसको गुणस्तरबाट अवगत हुन सकिन्छ जुन नक्कली कस्मेटिकमा हुँदैन।

पवन अग्रवाल, गोस

रिमेल

रिमेल मेकअपको संसारमा लोकप्रिय नाम हो। गुणस्तरका कारण नेपाली बजारमा यसको माग निक्कै छ। रिमेल ब्रान्डले विशेषगरी कलर कस्मेटिक उत्पादन गर्छ। यसले मेकअपका लागि सबै खालका प्रसाधन उत्पादन गर्छ। यो प्रिमियम ब्रान्ड भएकाले केही महँगो भए पनि गुणस्तरीय छ। यसले कस्मेटिकमा सबै खालका रंगलाई प्राथमिकतामा राखेको छ। नेपालमा यसको कारोबार सन्तोषजनक रहँदै आएको छ। नेपालमा रिमेलको प्रवर्द्धन सिबीको प्रा.लि.ले गर्दै आएको छ। नेपाली बजारमा यसको कारोबार सुरु भएको करिब दुई दशक भएको छ। सुरुका दिनमा यसको प्रवर्द्धन तथा बिक्री ढिलो भए पनि पछिल्ला दिनमा यसको कारोबार सफलतापूर्वक अघि बढिरहेको छ। मन्द सुवासयुक्त यसका उत्पादन प्रयोग गर्दा ताजापन अनुभव हुन्छ। अहिले बजारमा आएको यसको क्याटेमस सब-ब्रान्ड निकै लोकप्रिय हुँदै गएको छ। अहिले ट्रेन्डमा रहेका सबै खालका रंगको प्रसाधन बनाउन समर्थ रिमेकका उत्पादन नेपालका लोकप्रिय मल तथा कस्मेटिक पसलहरूमा उपलब्ध छन्। विशेषगरी यसको ग्लस, पाउडर, ब्लसर, आइस्याडो तथा लिपिस्टिकले अलग पहिचान बनाइसकेका छन्।

म नेपाली बजारको वृद्धि देखेर निकै खुसी छु। विगतमा महिलाहरूका लागि बजारमा एकाध ब्रान्ड मात्र उपलब्ध थिए तर अहिले धेरै राम्रा ब्रान्डको उपस्थिति छ। हरेक ब्रान्डको कारोबार सन्तोषजनक छ। धेरैजसो महिला ब्रान्ड कन्सस छन्। उनीहरूले आफ्ना लागि सोच्न थालेका छन्। उनीहरू आफ्ना लागि खर्च गर्न डराउँदैनन्। रिमेलको २० वर्षे यात्रा यहाँसम्म आइपुग्दा म यसलाई सफल यात्रा मान्छु। रिमेलले आफैं पनि काँचुली फेरेको छ। यसको प्याकिङ, लेबलिङ तथा रेन्जमा पनि विविधता छ। जति राम्रो सामान बजारमा आयो त्यसको माग अझ बढेको मैले महसुस गरेको छु। अहिले रिमेलका क्याटेमस क्याटगोरीका सबै रेन्जको माग निकै राम्रो छ।

अशोक अग्रवाल, रिमेल

 Image