‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/274534692_469308097893120_5953990778006653407_n-29122022093158.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/274534692_469308097893120_5953990778006653407_n-29122022093158.jpg&w=1000&height=600)
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ । बुवा रत्नबहादुर कार्की राजनीतिकर्मी भएकाले कयौं दिनसम्म उनी अनुहारसमेत हेर्न पाउँदैनथे । त्यसैले अर्जुनको बढी सामीप्यता आमासँगै थियो । आमा अम्बिकाबारे उनी भन्छन्, ‘आमा (अम्बिकादेवी कार्की) नपढे पनि अत्यन्त कर्मठ, निडर र आत्मविश्वासी हुनुहुन्थ्यो । सय वटा सिन्का भाँचेर बीस–बीस वटा सिन्काका पाँचवटा थुप्रा लगाएर जोड–घटाउ सिकाउनुहुन्थ्यो । यसरी मैले आमाबाट गणित सिकें । उहाँसँग जंगली औषधिको प्रशस्त ज्ञान थियो ।’
नेपाल, अमेरिका र बेलायतसहितका मुलुकबाट उच्च शिक्षा हासिल गरेपछि उनी कूटनीति क्षेत्रमा प्रवेश गरे । सन् २०१५ देखि २०२१ सम्म अमेरिकाको राजदूत भई काम गरिसकेका उनी निकारागुवा, ग्वाटेमाला, कोस्टारिका, मेक्सिको, कोलम्बिया, गयाना, हुण्डुरसलगायत देशका लागि गैरआवासीय राजदूतसमेत बने । उनकै नेतृत्वमा रहेको ‘आरआरएन’ नेपालका ७० वटाभन्दा बढी जिल्लाका ग्रामीण भेगमा महिलाको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र स्व–शासनका क्षेत्रमा सक्रिय छ । उनले संस्थामार्फत महिलामा परिवर्तन ल्याउन सफल भएको बताए । महिला सशक्तीकरण र विकासका लागि ३५ वर्षदेखि सक्रिय उनी मेचीदेखि महाकालीसम्म महिला नेतृत्व उत्पादन गर्ने काममा सफल भए । ‘ग्रामीण भेगमा अत्याधुनिक उपकरण र सुविधासहितको ६ सयभन्दा बढी बर्थिङ सेन्टर (सुत्केरी गराउने कक्ष) स्थापना गर्न सफल भयौं’ उनले भने, ‘बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लाका कमैया कमलरी मुक्ति अभियानमा हामीले महत्वपूर्ण भूमिका निर्वाह गर्यौं ।’ उनका अनुसार कर्णालीका डोल्पा, हुम्ला, मुगु, बझाङ, बाजुरा र पूर्वी पहाडका ताप्लेजुङ, भोजपुर, संखुवासभासहितका जिल्लामा ‘महिला सहकारी’ तथा ‘महिला स्वावलम्बी समूह’ स्थापना गरी स्थानीय महिलालाई नेतृत्वदायी भूमिका प्रदान गरिएको छ ।
सामुदायिक तहमा काम गर्दा दिगो विकासको जग बलियो हुने तथ्य बुझेका उनी ४६ वटा अति कम विकसित राष्ट्रका लागि अन्तर्राष्ट्रिय संयोजकसमेत हुन् । चरम गरिबीको रेखामुनि रहेका अफ्रिकी मुलुकका महिला, बालबालिका तथा सीमान्तकृत समुदायको उत्थानका लागि उनले संयुक्त राष्ट्रसंघ र यसका क्षेत्रीय निकाय तथा युरोपियन युनियनका प्लेटफर्महरूमा आवाज मुखरित गर्दै आएका छन् । ‘पुरुष भएर जन्मिए पनि म महिला र उनको शक्ति, आँट, साहस मात्र नभई कमजोर पक्षसँग समेत नजिकबाट परिचित छु’ उनले भने, ‘मैले बुझेका नारी वायु, आकाश, पृथ्वी, आगो, जल हुन्, सृष्टि र सिर्जनाका स्रोत हुन् ।’
उनले महिला शिक्षा, सशक्तीकरण, स्वास्थ्य र उनीहरूको कल्याणका लागि विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय फोरमहरूमा आवाज उठाउँदै आएका छन् । उनी महिलाका पक्षमा देशको नीति तथा कार्यक्रम तर्जुमा गर्ने, महिला मुद्दामा वकालत गर्ने तथा कानुन निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्न सक्रिय छन् ।
हजुरआमा : अत्यन्त सौम्य, भद्र, साधारण तथा परिवार हाँक्ने क्षमतावान् महिला ।
आमा : प्रथम गुरु ।
बहिनीहरू : घरका लक्ष्मी ।
श्रीमती : जीवनसाथी र सल्लाहकार ।
महिला सहकर्मी : महत्वपूर्ण सहयोद्धा ।
छोरी : नजिककी साथी ।
जीवनमा प्रभाव छाड्न सफल महिला : मेरी आमा ।