Successfully Copied

सूर्यबहादुर थापाको आत्मकथा आवरण सार्वजनिक

काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा आवरण ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा आवरण  ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’सार्वजनिक गरिएको छ । पुस्तकमा सूर्यबहादुरको जीवन भोगाइका विविध आयामहरूलाई ८ खण्डमा प्रस्तुत गरिएको छ । कार्यक्रममा पुस्तकका ट्रान्स्क्राइबर गनेश पौडेलले आत्मकथा तयार पार्न चार वर्षभन्दा बढी समय लागेको बताए । उनले भने, ‘राणाकालको अन्तिम दशकदेखि दोस्रो संविधानसभाको सभाध्यक्षसम्मको नेपाली राजनीतिको लामो कालखण्डलाई यस पुस्तकमा सूर्यबहादुर थापाको दृष्टिकोणबाट भन्ने कोसिस गरिएको छ ।’

सम्पादक हरिबहादुर थापाले नेपाली राजनीतिको अति महत्वपूर्ण कालखण्ड मानिने पञ्चायतकालका छुटेका र महत्वपूर्ण विषयहरू पुस्तकमा समावेश भएकोे बताए । ‘०१७ पुस १ को राजा महेन्द्रको पञ्चायत घोषणाको भाषणको ड्राफ्ट गरेका तथ्य र राजा, दरबार र सत्ता दाउपेचका पहिला कतै नसुनिएका विषयवस्तुहरू यस पुस्तकमा छन्’ हरिबहादुरले भने, ‘यति इमानदारीपूर्वक आत्मकथा कमै मात्रामा लेखिएका छन् र यो पुस्तक नै नेपाली राजनीतिको लामो कालखण्डको बयान भएको पहिलो पुस्तक हो ।’

चित्रकारसमेत रहेकी सूर्यबहादुरकी बुहारी संगीता थापाले आफ्ना ससुरा र मदन पुस्तकालयका संस्थापक कमलमणि दीक्षितको गुरुयोजनाअन्तर्गत पुस्तक लेखनको काम सुरु भए पनि देशमा भएको राजनीतिक परिवर्तन तथा दुवै जनाको देहावसानका कारण पुस्तक प्रकाशनमा ढिलाइ भएको बताइन् । पुस्तक लेखनको करिब १४ वर्षपछि बुवाको आत्मकथा प्रकाशन भएकोमा छोरा सुनीलबहादुर थापाले खुसी व्यक्त गरे । ‘विगतमा धेरै सम्पादक, पत्रकार, लेखक, राजनीतिकर्मी तथा परिवारका सदस्यहरूले पुस्तक चाँडो प्रकाशन गर्न सल्लाह दिए पनि यसको सम्पादनमा लागेको समयका कारण  ढिलाइभएको हो’ उनले भने,‘मलाई लाग्छ, सूर्यबहादुर थापाको जीवनीलाई यो पुस्तकले इमानदारीपूर्वक प्रस्तुत गर्ने जमर्को गरेको छ ।’

कलिलो उमेरमा सल्लाहकार सभाको अध्यक्ष भई राजनीतिमा प्रवेश गरेका सूर्यबहादुर थापामाथि लगाइएका विविध आरोपलाई पनि पुस्तकमा खण्डन गर्दै तथ्यहरू प्रस्तुत गरिएको छ । पाँच सय पृष्ठको पुस्तक ‘पेपरब्याक’ र ’हार्डकभर–स्लिभकेस’ संस्करणमा शीघ्र बजारमा आउने बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए । आत्मकथालाई सूर्यबहादुर थापाका सुपुत्र सुनीलबहादुर र पुस्तकका सम्पादक हरिबहादुरले संयुक्त रूपमा पुस्तकको आवरण सार्वजनिक गरेका हुन् ।

 Image