सौभाग्यवती र एकल महिलाले मनाउने तीजबीच अन्तरसम्बन्धबारे तपाईंको बुझाइ के छ ?
तीजले धर्म, संस्कृति र प्रथाका नाममा सधवा र एकल महिलाबीच विभेद सिर्जना गरेको छ । तीजको व्रत बसेर पार्वतीले महादेव श्रीमान् पाएको भनिएको छ तर धर्मले श्रीमान् पाउन मात्रै व्रत बस्ने वा तीज मनाउने तथ्य कहीँ–कतै उल्लेख गरेको छैन । तीजलाई श्रीमान् भएका महिला र रातो रंगमा बढी केन्द्रित गराउन खोजिएको भान हुन्छ । यसमा एकल महिलालाई बेवास्ता गरिएको पाइन्छ ।
उसो भए वास्तवमै तीज सधवाहरूका लागि मात्रै हो त ?
पटक्कै होइन । तीज सौभाग्यवती मात्रैको भन्ने प्रथालाई चिर्न जरुरी छ । ४५ वर्षअघि डा. मीन आचार्यले लेखेको ‘स्टाटस अफ वुमन इन नेपाल’ मा नेपाली महिलाले तीन दिन मात्रै आफ्नो कपाल फुकाउन पाउ“छन् भन्ने उल्लेख छ । यसले १६ घण्टा काममा जोतिँदा पनि हातमा एक पैसा नहुने महिलाको अवस्था दर्शाउँछ । एकताका छोरीका लागि कुखुरा–बाख्रा माइतीले पेवा दिने चलन थियो । सोही स्थिति र अवस्थालाई मध्यनजर राख्दै तीजमा चेलीबेटी माइती जाने, दिदीबहिनी भेट्ने अनि खुसी हुने पर्वका रूपमा मनाउन थालिएको हुनुपर्छ ।
तपाईं तीजलाई कस्तो पर्वका रूपमा हेर्नुहुन्छ ?
हुन त तीज र रातो रंग अनि विधवा र सेतो रंग यी सबै हाम्रो संस्कार र धर्मले तय गरिदिएका विषय हुन् । अब तीज सौभाग्यवतीले मात्र लिने पर्व हो भन्ने गलत तथ्यलाई बदल्न जरुरी छ । सकियो र मन लाग्यो भने जो पनि व्रत बस्दा हुन्छ । यो पर्वमा जसले जस्तो रंग लगाउँदा पनि हुन्छ । यो व्यक्तिको छनोटको अधिकारभित्र पर्नुपर्ने विषय हो । तीजलाई महिलाले मीठो खाने, एकापसमा आत्मीयता बढाउने, खुसी हुने, रमाइलो गर्ने पर्वका रूपमा मनाउनुपर्छ भन्ने मलाई लाग्छ ।
रातो रंग र श्रीमान्को मृत्यु भएका एकल महिलाको अन्तद्र्वन्द्वलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
श्रीमान् मरेकै भोलिपल्ट सेतो लगाइदिने चलन अरुप्रति आकर्षित नहोस्, राम्री नदेखियोस्, मन अन्त कतै नजाओस् भनेर यौनिकतालाई नियन्त्रण गर्न धर्मको नाममा सिर्जना गरिदिएको त्रास मात्र हो । पाप लाग्छ भनिदिएपछि डराउँछन् भनेर यस्तो भनिएको हुनुपर्छ । माछा–मासु खान हँुदैन भनिदिएपछि शरीरमा प्रोटिनको मात्रा कम हुन्छ र यौनेच्छा जागृत हुन पाउ“दैन भनेर यस्तो भनिएको हुनुपर्छ । कलिलै उमेरमा एकल बनेकी नारीलाई सबैले रातो लगाएर हिँडेको देख्दा मनभित्र कति इच्छा जाग्दो हो । जुन अन्तद्र्वन्द्वको म बयान गर्न सक्दिन ।
तपाईंले नेतृत्व गरेको ‘रातो टीका’ अभियानले रंगमा विभेदलाई परिवर्तन गर्न कत्तिको सफल भएको छ ?
हाम्रो ‘रातो टीका’ अभियान केवल रंगसँगको लडाइँ मात्र होइन, प्रवृत्ति र हाम्रो स्वाभिमान अनि आत्मसम्मानसँग जोडिएको विषय पनि हो । सेतो पहिरनमा दुःखी भएर, अरुका अगाडि हेपिएर हामी कति दिनसम्म बस्ने ? जब हामीले यो अभियान चलायौं सार्वजनिक सवारी साधनलगायत अन्य सार्वजनिक स्थलमा एकल महिलालाई हेर्ने दृष्टिकोण बदलिएको छ । एकल महिला स्वयं पनि रातो लाउन पाएर आफैमा आत्मविश्वासी र शक्तिशाली महसुस गर्न थालेका छन् । हाम्रा लागि यो रंग मात्र होइन शक्ति हो । कुनै पनि मानवलाई जन्मसिद्ध अधिकारबाट वञ्चित गर्नु न्यायसंगत हुन सक्तैन ।