Successfully Copied

शल्यक्रियामा कोमल हात

मानव शरीरमा कैंची र धागो चलाउन त्यति सहज छैन । त्यसमा पनि महिलाहरूका लागि यो क्षेत्र झनै गाह्रो मानिन्छ । त्यसैले अति संवेदनशील मानिएको शल्यक्रिया (सर्जरी) मा पुरुषहरूकै दबदबा छ । यसका बाबजुद केही महिलाले पनि यो क्षेत्रलाई रोजेको पाइन्छ ।

मानव शरीरमा कैंची र धागो चलाउन त्यति सहज छैन । त्यसमा पनि महिलाहरूका लागि यो क्षेत्र झनै गाह्रो मानिन्छ । त्यसैले अति संवेदनशील मानिएको शल्यक्रिया (सर्जरी) मा पुरुषहरूकै दबदबा छ । यसका बाबजुद केही महिलाले पनि यो क्षेत्रलाई रोजेको पाइन्छ । उनीहरूले सफलतापूर्वक शल्यक्रिया गर्दै आएका छन् । नेपालमा हाल सर्जन र रेसिडेन्ट शल्यचिकित्सक (सर्जन) गरी ७२ जना महिला सर्जन भएको तथ्यांकले देखाउँछ । उनीहरूले घरपरिवार, छोराछोरी एवं अस्पतालसम्मको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । पछिल्लो समय विशेषगरी प्लास्टिक सर्जरी, न्युरो सर्जरी, युरो सर्जरी, कार्डियाक सर्जरी, पेडियाट्रिक सर्जरीलगायतमा महिलाहरूको संख्या बढ्दै गएको छ । स्वदेशमा पढाइ नहुनु, कार्यस्थलमा भोग्नुपरेका चुनौती, लैंगिक विभेद, बिरामीहरूले गर्ने विभेदहरूलाई चिर्दै यो क्षेत्रमा महिलाको संख्या बढ्नु उपलब्धिमूलक रहेको महिला सर्जनहरूको भनाइ छ । दृढ इच्छाशक्ति, कामप्रतिको लगाव र मेहनतले पनि महिलाहरूले आफूलाई सर्जनका रूपमा प्रमाणित गर्नुपर्ने उनीहरू बताउँछन् । 

सर्जरी चुनौतीपूर्ण

पलेस्वाँ जोशी लाखे

जीआई–ग्यास्ट्रो इन्टेस्टाइनल एन्ड जनरल सर्जरी विभागीय प्रमुख, त्रिवि शिक्षण अस्पताल 

    काठमाडौंमा जन्मे–हुर्केकी पलेस्वाँ जोशी लाखेले स्कुले शिक्षा राजधानीकै एउटा निजी विद्यालयबाट पूरा गरेकी हुन् । उनी सानैदेखि निकै प्रतिभाशाली थिइन् । ०४२ मा प्रवेशिका परीक्षामा उनी छात्रामा दोस्रो बनेसँगै रत्न विद्यापदक हासिल गरिन् । त्यसपछि अमृत साइन्समा भने उनी टपर छात्रा बनिन् र ऐश्वर्या विद्या पदक हासिल गरिन् । उनले सरकारी छात्रवृत्तिमा पाकिस्तानमा एमबीबीएस अध्ययन गरिन् । पढाइ सकेर ‘इन्टर्न’ गर्दा उनलाई ‘सर्जन’ बन्ने मोहले तान्यो । उनकी आमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) थिइन् । महिलाहरू गाइनोकोलोजिस्ट मात्रै हुन्छन् भन्ने सोच उनलाई चिर्नुु थियो । ‘इन्टर्नसीप’ गर्दा उनले महिला सर्जनको अन्डरमा काम गरिन्, त्यसले पनि उनलाई यो क्षेत्रमा आउन हौसायो । महिलाहरू पनि सर्जन बन्न सक्छन् भन्ने उनीमा आत्मविश्वास बढ्दै गयो । जब उनले सर्जन बन्ने योजना बुन्दै थिइन् त्यसबेला महिला सर्जन कोही थिएनन् । वीर र पाटन अस्पतालमा काम खोज्न थालिन् तर अवसर पाइनन् । अरु क्षेत्रमा काम गर्न भने अफर नआएका होइनन् तर उनलाई सर्जन नै बन्नु थियो । थुप्रै अस्पतालमा काम खोज्दै जाँदा शिक्षण अस्पतालमा सर्जनका रूपमा काम गर्ने अवसर पाइन् । उनले ‘भोलेन्टियर’ का रूपमा दुई वर्ष सर्जरी विभागमा काम गरिन् । कामको अनुभव बटुल्दै उनले ‘जनरल सर्जरी’ मा स्नातकोत्तर (एमएस) गरिन् । उनले टप गरेकीले ‘गोल्ड मेडल’ हात पारिन् । उनी नेपालमा प्रथम महिला सर्जन हुन् । ‘भोलेन्टियर’ का रूपमा अस्पताल प्रवेश गरेकी उनी लेक्चरर, प्रोफेसर हुँदै हाल त्रिवि शिक्षण अस्पतालको ‘जीआई–ग्यास्ट्रो इन्टेस्टाइनल एन्ड जनरल सर्जरी’ मा विभागीय प्रमुख हुन् । उनको सेवा पेट रोगको उपचार त्यसमा पनि क्यान्सरसम्बन्धी उपचार उनको रुचिको विषय हो । हाल उनी खाने नली, पेट, पित्तथैली, कलेजो, सानो आन्द्रा, ठूलो आन्द्रालगायतका सर्जरीमा काम गरिरहेकी छन् । सर्जरीको काम चुनौतीपूर्ण रहेको उनको अनुभव छ । सर्जन महिलाहरूको संख्या तुलनात्मक रूपमा बढे पनि उनी सन्तुष्ट छैनन् । महिलाहरूले चुनौती उठाउन सक्दैनन् भन्ने सोचाइ परिवर्तन गर्न पनि धेरै महिला यो क्षेत्रमा आउनु आवश्यक रहेको उनले बताइन् । उनले भनिन्, ‘महिलाहरूलाई समाजले हल्का रूपमा प्रस्तुत गर्ने गरेको छ, सक्षम हुँदाहुँदै पनि आफूलाई प्रमाणित गर्नु परेको छ ।’ डिपार्ट छुट्याएसँगै जिआई सर्जरीमा अङ्गअनुसार विभाग छुट्याउने उनको लक्ष्य छ । विभाग छुट्याउँदै जनशक्ति व्यवस्थापन गर्ने उनको 

लक्ष्य छ । 

 

मेरो रुचि ‘पेडियाट्रिक सर्जन’

अनुपमा थापा बस्नेत 

कन्सल्टेन्ट पेडियाट्रिक सर्जन, कान्ति बाल अस्पताल 

‘ठूलो भएपछि के बन्ने’ भन्ने बाल्यकालको प्रश्नमा अनुपमा थापा बस्नेत भन्थिन्, चिकित्सक । पढाइमा तेज उनको स्कुले शिक्षा पनि राजधानीस्थित एक निजी विद्यालयबाटै पूरा भयो । उनी स्कुलमा पढ्दाताका कि डाक्टर कि इन्जिनियर बन्ने लहरै थियो । उनी भने डाक्टरले चेकअप गरेको हेरेर रमाउँथिन् । खेल खेल्दा पनि उनी डाक्टरकै भूमिकामा हुन्थिन् । उनलाई लाग्थ्यो–एकदिन डाक्टर बन्छु । उनले छात्रवृत्तिमा चीनबाट ‘एमबीबीएस’ पढेकी हुन् । पढाइ सकिएसँगै ‘मेडिसिन’ र ‘सर्जरी’ मा ‘इन्टर्नसीप’ गर्न थालिन् । अनुभव बटुल्दै जाँदा उनलाई बच्चाको सर्जन (पेडियाट्रिक) बन्न मन लाग्यो । उनलाई यो क्षेत्र नौलोसँगै रमाइलो पनि लाग्यो । उनले भनिन्, ‘मलाई पेडियाट्रिक र सर्जन दुवै मन पर्नेकारणले अगाडि के गर्ने भन्दा पेडियाट्रिक सर्जन बन्छु भन्ने सोच आयो ।’ उनलाई यसको सर्जन बन्ने रहर त जाग्यो तर पढ्ने कहाँ ? नेपालमा त यसको पढाइ छैन । पढ्ने योजना बुन्दै उनले कान्तिमा ‘मेडिकल अफिसर’ का रूपमा काम गर्न थालिन् । सर्जरीमा स्नातकोत्तरका लागि उनले पुनः सरकारी छात्रवृत्ति प्राप्त गरिन् । सन् २००७ मा उनी एक वर्षको काखे छोरा छोडेर उनी चीन पढ्न गइन् । करिब तीन वर्षको त्यो पढाइमा उनलाई छोराको सम्झनाले झस्काइरहन्थ्यो । उनका लागि यो समय कठिन थियो । बच्चाको न्यास्रो मेट्न कहिलेकाहीँश्रीमान्ले बच्चा ल्याइदिन्थे । तर, आमाको मन सधै सँगै बस्ने भइरहन्थ्यो । उनले भनिन्, ‘बच्चा छोडेर पढ्न जाँदा निकै पीडा भएको थियो, पढाइको तीन वर्ष त रोएरै बिताएँ ।’ पढाइ सकेर उनी पहिलो महिला ‘पेडियाट्रिक सर्जन’ बनेर फर्किइन् तब उनलाई लागेको थियो देशका लागि केही नयाँ काम गरें । पक्कै पनि अब आफ्नो मूल्यांकन हुने उनले ठानिन् । तर, सोचेजस्तो भएन । उनको काम एवं पढाइलाई कसैले सोधीखोजी गरेन । त्यसबेला उनलाई डाक्टरहरूको मूल्यांकन नै रहेनछ कि भन्ने महसुस भएको थियो । विदेशबाट सर्जन बनेर फर्किदा पनि उनका अगाडि थुप्रै चुनौती थिए । महिला भएकै कारण बिरामी र अभिभावकले गर्ने व्यवहार नमीठो लाग्थ्यो, उनलाई । पुरुष डाक्टरलाई नमस्ते भन्ने अभिभावकहरू उनलाई सिस्टर तपाईं बस्दै गर्नुस् भनेर भन्थे । सर्जरीका थुप्रै अनुभव लिइसकेकी उनी जब आफू आमा बनिन्, बच्चाहरूलाई सुई लगाउन समेत डराउन थालिन् । बच्चाको कलिलो छालामा सर्जरी गर्दा र कैंची चलाउँदा त उनका हात नै काम्न थाले । उनले भनिन्, ‘बच्चाहरूको थुप्रै सर्जरी गरें जब आफ्नो बच्चा भयो त्यसपछि त सुई लगाउन पनि डराउन थालें ।’ टिमले उनीहरूलाई बचाउनका लागि गर्ने हो भनेर हौसला दिएपछि उनी फेरि सर्जरीमा फर्किइन् । बच्चाको सर्जरी गर्दा छिटो रिकभर हुने भएकाले त्यो सँगसँगै अभिभावकमा आएको खुसीले आफूलाई रमाइलो लाग्ने उनले बताइन् । बच्चालाई निको बनाएर खेल्दै गएको उनीहरूको चञ्चलेपनले उनलाई भावुक बनाउँछ । उनले भनिन्, ‘बच्चाहरू रिकभर भएर घर फर्किदाको खुसी त शब्दमै बयान गर्न सकिँदैन ।’ बच्चालाई निको पारेर घर पठाउनु कहिल्यै नफर्किने गरी सरी भन्दै पठाउनुमै उनको दैनिकी बितिरहेको छ । उनले जन्मिएको एक महिनादेखि नै बच्चाहरूको अप्रेसन गरेकी छन् । सासनली, खाने नली बन्द भएका, जन्मदै दिसा गर्ने प्वाल नभएका बच्चाहरूको बढी अप्रेसन हुन्छ । बिरामीको सेवा गर्दै उनलाई अस्पताललाई पनि सुधार्नुपर्छ, धेरै महिला सर्जन बनून् भन्ने उद्देश्यका साथ उनले यही वर्षदेखि कान्तिमा सर्जनको पढाइ सुरु गरेकी छन् । उनका अनुसार महिलाहरू आमा बन्ने कारणले बच्चाहरूप्रति भुकाव बढी हुन्छ र उनीहरूले राम्रो सेवा पाउँछन्  जस्तो लाग्छ ।

 

सर्जरी र समाजसेवामा रुचि

सुजिता हीराचन 

उप–प्राध्यापक त्रिवि शिक्षण अस्पताल, ब्रेस्ट एन्ड थाइराइड युनिट जनरल सर्जरी 

पछिल्लो समय महिलाहरूमा स्तन क्यान्सरको समस्या बढ्दै गएको छ । प्रत्येक वर्ष दुई हजारको दरमा वृद्धि हुँदै गएको तथ्यांकले देखाउँछ । उपचारको क्षेत्रमा यसको प्रत्यक्ष अनुभव गरेकी छन् डा. सुजिता हीराचनले । उनी टिचिङ अस्पतालको सर्जनका रूपमा कार्यरत छिन् । उनले क्यान्सरसँग जुधिरहेका बिरामीको समस्या नजिकबाट नियालिरहेकी छन् । किशोरावस्थादेखि नै स्तन क्यान्सर बढ्दै गएको उनी बताउँछिन् । उनले २२ वर्षको उमेरदेखि ६० वर्षसम्मका महिलाहरूको स्तन क्यान्सरको अप्रेसन गरिसकेकी छन् । महिलाहरू खुलेर आफ्नो रोगबारे भन्न नसक्नु, उनीहरूको स्वास्थ्यलाई परिवारले ध्यान नदिनु र बदलिँदो जीवनशैलीका कारण स्तन क्यान्सरको समस्या बढ्दै गएको उनले बताइन् । उनी अस्पतालमा मात्र सीमित छैनन् ‘नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसन’मा अध्यक्ष छिन् । जसमार्फत उनी क्यान्सरसम्बन्धी जनचेतना र वर्कसप गर्दै गाउँगाउँसम्म पुग्ने गर्छिन् । उनी भन्छिन्, ‘चिकित्सक भएकाले हामीसँग समय सीमित हुन्छ र पनि थोरै बचेको समय र सानो सहयोगले कसैको जीवन बच्छ भने हामीले किन पहल नगर्ने ?’

मुस्ताङको मार्फा गाउँमा जन्मिएकी उनले पोखरास्थित निजी विद्यालयबाट एसएलसी उत्तीर्ण गरिन् । छोरीलाई डाक्टर बनाउने परिवारको इच्छा थियो। पढाइ राम्रो भएकाले परिवारको इच्छा नै उनको इच्छा भयो ।सन् २००५ मा बंगलादेशबाट एमबीबीएससकेर उनी नेपाल फर्किइन् । २०१३ मा भारतबाट उनले ‘मास्टर इन ब्रेस्ट एन्ड इन्डोक्राइन जनरल सर्जरी’ गरिन् । उनलाई ‘इन्ट्रान्स’ गर्दै गर्दा सर्जन बन्ने मोहले तान्यो । महिलाहरूको क्षेत्रमा केही गर्छु भन्ने अठोट उनले बोकिन् । उप–प्राध्यापकका रूपमा अन्य अस्पतालमा काम गर्दै गर्दा त्रिवि शिक्षण अस्पतालमा लोकसेवा खुल्यो ।सर्जनको आवेदन दिएर छनोट भइन् । विगत तीन वर्षदेखि उनी यो क्षेत्रमा कार्यरत छिन् । उनी अप्रेसनमै रमाउन थालिन् । उनले भनिन्, ‘अप्रेसन कोठामा जब छिरिन्छ एउटा थ्रिल महसुस हुन थाल्यो, मलाई छुट्टै आनन्द आउन थाल्यो ।’ 

सर्जरीको लामो अनुभवले उनी यसमा अभ्यस्त भइसकेकी छन् । जब किशोरीको अप्रेसन गरेर स्तन फाल्नुपर्ने हुन्छ त्यतिबेला उनलाई असाध्यै पीडा हुन्छ । उनका अनुसार शल्यक्रियाको कुनै समयसीमा हुँदैन । अप्रेसनअवधि एक घण्टा वा त्यो भन्दा बढी हुन सक्छ । सर्जनको उद्देश्य बिरामीलाई सकुशल घर फर्काउनु हो । काम चुनौतीपूर्ण छ र पनि महिलाले कामले नै आफूलाई प्रमाणित गर्नुपर्ने उनको भनाइ छ । उनले दैनिक आठ वटासम्म सर्जरी गरेकी छन् । क्यान्सरसम्बन्धी जनचेतना जगाउनु, समाजसेवा गर्नुका साथै रिसर्चमा पनि उनको रुचि छ । विभिन्न जर्नलमा उनका आर्टिकल छापिएका छन् । सर्जनका रूपमा थुप्रै प्रविधि आइसकेका छन् । तर नेपालमा ती प्रविधिहरू पर्याप्त रूपमा भित्रिसकेका छैनन् । जसले गर्दा बिरामीसँगै चिकित्सकलाई पनि असहज भएको उनको धारणा छ । उनको कामको सम्मान स्वरुप राष्ट्रपतिबाट सुप्रबल जनसेवा श्री अवार्ड पनि हासिल गरिसकेकी छिन् ।

 

प्रत्येक सर्जरी नयाँ

उदिता मिश्र

सिनियर कन्सल्ट्यान्ट जेनेरल सर्जन वीर अस्पताल 

जनकपुरकी उदिता मिश्रको पारिवारिक वातावरण नै डाक्टरी हो । घरमा सबै फिजिसियन डाक्टर भएकाले उनी डाक्टर बन्ने सपनासँगै हुर्किइन् । तर, फिजिसियन होइन, सर्जन बन्छु भन्ने उनको सपना थियो । सर्जन बन्न के कुराले प्रेरित गर्‍यो–त्यो उनलाई थाहा छैन । उनले भनिन्, ‘चिकित्सा क्षेत्रमा केही फरक बन्नु थियो । त्यही कारणले पनि सर्जन बन्ने सोच आएको होला ।’ विद्यालय स्तरको पढाइ उनले जनकपुरमा पूरा गरिन् । काठमाडौं मेडिकल कलेजमा एमबीबीएस कक्षामा भर्ना हुने प्रयास थालिन् । दुईपटक असफल भइन् तर उनका बुवाले हौसला दिइरहे । उनले छात्रवृत्तिमा एमबीबीएस सकिन् । एमबीबीएसपछि वीर अस्पतालको नेसनल एकेडेमी अफ मेडिकल साइन्सबाट जनरल सर्जरीमा स्नातकोत्तर गरिन् । उनी युरो सर्जन बन्ने सोच बनाएर एमसीएच अन्तिम वर्षको तयारीमा छिन् । 

उनले सोलुखुम्बु, रामेछाप आदि जिल्लाहरूमा पनि सेवा गरिन् । सोलुखुम्बुको कामको अनुभवले महिलाहरूको अवस्थालाई नजिकबाट नियालिन् । महिलाहरूमा पिसाब चुहिने समस्या बढी हुने, महिलाहरू खुलेर आफ्नो समस्या भन्न नसक्ने कारणले पनि उनलाई युरो सर्जन बन्न प्रेरित गर्‍यो । यो फिल्डमा सेवा दिन सके महिलाहरूसँगै आफूलाई पनि सहज हुने महसुस हुन थालेको उनको अनुभव छ । युरो सर्जनअन्तर्गत मूत्रथैली, मूत्रनली र मृगौलालगायतका विषय पर्छन् । सुरुमा साथीहरूले भनेजस्तै पुरुषहरू उनीसँग जँचाउन अप्ठ्यारो मान्थे । जँचाउन आएपनि समस्याबारे त्यति खुल्दैनथे । तर अहिले भने समय केही परिवर्तन हुँदै गएको छ । पुरुषहरू पनि उनीसँग खुलस्त कुरा गर्न सक्छन् । सर्जन भएर काम गर्नु कसैको जीवन बचाउनु उनका लागि चुनौती नै छ । उनका लागि हरेक सर्जरी नयाँ हुन्छ । उनले भनिन्, ‘हाम्रा लागि हरेक सर्जरी नयाँ हुन्छ । मानिसहरूको भित्री संरचना फरक–फरक हुँदो रहेछ’ असिस्टेन्ट प्रोफेसरका रूपमा तीन वर्ष काम गरेपछि उनी हाल युरो सर्जरीका रूपमा काम गर्न सक्छिन् । उनलाई यहाँसम्म आइपुग्न परिवारको साथ र सहयोग महत्वपूर्ण रह्यो । बच्चा हुर्काउँदै परिवारदेखि अस्पतालको भूमिका र जिम्मेवारी बहन गर्न महिलालाई परिवारको सहयोग आवश्यक रहेको उनले बताइन् ।

 

मुटु छाम्ने रहर

दीक्षा जोशी 

कन्सल्ट्यान्ट कार्डियो एन्ड भास्कुलर सर्जन, वीर अस्पताल 

 

बच्चादेखि नै डाक्टर कसरी बन्ने र त्यसमा पनि सर्जन कसरी बन्न सकिन्छ भन्ने जिज्ञासा काठमाडौंकी दिक्षा जोशीको मनमा सधै भइरहन्थ्यो । कसैले कथा सुनाउँदा पनि डाक्टरको कथा, बिरामीको व्यथा भनिदिए हुन्थ्यो जस्तो लाग्थ्यो उनलाई । उनी पनि छात्रवृत्तिमा चीनबाट पढ्दै गर्दा मुटुमा रुचि बढ्न थाल्यो । उनलाई बिरामीको मुटु छाम्न रहर जाग्न थाल्यो । मुटु सबैले गाह्रो मान्थे तर उनलाई मुटुप्रति रुचि बढ्दै गयो । सन् २०१२ मा कार्डियो सर्जरीको पढाइ सकेर नेपाल फर्किएसँगै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सेवा दिन थालिन् । उक्त अस्पतालमा त्यसबेला जनशक्ति कम र बिरामी बढी हुने भएकाले उनका लागि घर नै अस्पताल बनेको थियो । महिनावारी वा प्रसव पीडा केही नभनी उनी सेवामा लागिरहिन् । गर्भवतीको अन्तिम समयसम्म पनि उनी काममै थिइन् । उनले भनिन्, ‘अस्पतालमा हामी मेसिनजस्तै थियौं, खानका लागि समय पाउन पनि उत्तिकै कठिन हुन्थ्यो । ३६ घण्टासम्म काम गर्नुपर्थ्यो ।’ पीडा त उनलाई त्यतिबेला हुन्थ्यो जब घरमा बच्चा छोडेर रातभर ड्युटी गर्नुपर्थ्यो । बच्चालाई समय र राम्ररी स्तनपान गराउन नसकेको पल भने यो पेसा गाह्रो रहेछ भन्ने महसुस हुन्थ्यो । उनले सात वर्ष गंगालालमा काम गर्दै गर्दा लोक सेवा खुल्यो । लोकसेवा दिइन् तर तयारी गर्दा पर्याप्त समय थिएन तर पनि उनको नाम निस्कियो । लोकसेवा पास भएसँगै उनी वीर अस्पतालमा पुगिन् । जब उनी वीर अस्पताल पुगिन् त्यसबेला अस्पतालमा मुटुरोगसम्बन्धी सर्जरी थिएन । मुटु सर्जरीमा चलिरहेका उनका हात अब फोक्सो, नशाको सर्जरीमा चलाउनु थियो । वीरमा मुटुसम्बन्धी सर्जरी केही समयपछि पुनः सुरु भयो । गंगालालको तुलनामा वीरमा बिरामीहरूको चाप कम भएकाले टिमसँग सहकार्य गर्दै आफूलाई अभ्यस्त बनाउँदै लगिन् । वीरमा तीन वर्षको अनुभवले पनि उनलाई धेरै कुरा सिकाएको छ । बिरामीप्रति उत्तरदायी हुनु उनको मुख्य उद्देश्य हो । आफू र टिमले सकेसम्म प्रयास गर्दा पनि बिरामीको उपचार सफल नहुनु र त्यसमा पनि आफन्तले चिकित्सकलाई शंका गर्नुले दुःखी बनाउँछ । उनले भनिन्, चिकित्सकहरूले सक्दो प्रयास गरेकै हुन्छन् । हाम्रो मेहनत र प्रयासलाई नदेखी दोष लगाउँदा नराम्रो महसुस हुन्छ ।’ सर्जनको भूमिका निभाउँदै गर्दा समयको व्यवस्थापनमा उत्तिकै चुनौती छ उनलाई । घरपरिवार र श्रीमान्को सहयोगले नै उनलाई काम गर्न सहज भएको छ । उनले भनिन्, ‘घरपरिवारको सहयोग नहुने हो भने बच्चा हुर्काउनदेखि बिरामीलाई घर फर्काउनसम्म महिलाहरूले कसरी सक्लान् र ?

 Image