Successfully Copied

उच्च उडान

महिलाले हरेक क्षेत्रमा आफ्नै लगन, परिश्रम र संघर्षबाट सफलताको चुचुरो चुमेका छन् । महिलाहरू पुरुषभन्दा कम छैनन् । उनीहरूले गर्न चाहेको कुनै पनि काम असम्भव छैन ।

महिलाले हरेक क्षेत्रमा आफ्नै लगन, परिश्रम र संघर्षबाट सफलताको चुचुरो चुमेका छन् । महिलाहरू पुरुषभन्दा कम छैनन् । उनीहरूले गर्न चाहेको कुनै पनि काम असम्भव छैन । अमेरिकाकी ३३ वर्षीया जेसिका वाटकिन्स तिनै महिलामध्येकी एक हुन् । बहुप्रतिभाकी धनी उनी नासाको अन्तरिक्षयात्री बनेर इतिहास रचेकी छन् । उनी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा जाने पहिलो अश्वेत महिला बनेकी छन् । गत अप्रिल २७ मा उनी ‘एक्सटेन्ड स्पेस स्टेसन मिसन’ मा छ महिनाका लागि अन्तरिक्षमा गएकी छन् । जेसिकाको उच्च उडानबारेको विषयवस्तु यहाँ पस्कने जमर्को गरिएको छ । 

अमेरिकाकी ३३ वर्षीया जेसिका एन्ड्रिया वाटकिन्स बहुप्रतिभाकी धनी हुन् । उनी भूवैज्ञानिक, एक्वानट (लामो समयसम्म पानीभित्र रहेर काम गर्न सक्ने) र पूर्व अन्तर्राष्ट्रिय रग्बी खेलाडी पनि हुन् । फुटबल, बास्केटबल, स्किइङमा उनको उत्तिकै दखल छ । सिर्जनात्मक लेखनमा उनको औधी रुचि छ । पछिल्लो समय उनको नाम अगाडि ‘अन्तरिक्षयात्री’ पनि थपिएकै छ । हाल उनी अमेरिकी अन्तरिक्ष संस्था (नासा) को अन्तरिक्षयात्रीको नेतृत्व गर्दै दीर्घकालीन मिसनमा अन्तरिक्षमा पुगेकी छन् । यो मिसन जेसिकाका लागि ऐतिहासिक हो । उनी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा जाने प्रथम अश्वेत महिला बनेकी छन् । गत अप्रिल २७ मा उनी ‘एक्सटेन्ड स्पेस स्टेसन मिसन’ मा गएकी हुन् । उनी अन्य अन्तरिक्ष यात्री केजेल लिंडग्रेन, रोबर्ट हाइन्स र सामन्था क्रिस्टोफोरेटीका लागि त्यहाँ छ महिनासम्म रहेर काम गर्नेछिन् । एलन मस्कको रकेट कम्पनी ‘स्पेसएक्स’ ले जेसिकासहितलाई कक्षमा पुर्‍याएको हो । 

जेसिकाको जन्म १४ मे १९८८ मा अमेरिकी राज्य मेरिल्यान्डको गैथर्सबर्गमा भएको हो । पछि उनको परिवार कोलोराडोस्थित लाफायेटमा बसाइ सरेको थियो । जेसिकाले फेयरभ्यू हाई स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेकी हुन् । त्यसपछि स्टानफोर्ड विश्वविद्यालयबाट भूगर्भशास्त्र र पर्यावरण विज्ञानमा स्नातक गरिन् । उनले स्नातकमा पानीको तरंगको प्रभावले मंगल ग्रह र पृथ्वीमा पहिरो जानेबारे शोध गरेकी थिइन् । पछि क्यालिफोर्निया विश्वविद्यालयबाट जियोलजीमा पीएचडीको उपाधि हासिल गरिन् । 

स्नातक पहिलो वर्षमै उनी कलेजमा रग्बी टिममा सहभागिता जनाउने गर्थिन् । सन् २००८ मा स्नातक दोस्रो वर्षमा उनी ‘डिभिजन वन’ अमेरिकी राष्ट्रिय टोलीकी सदस्य बनेकी थिइन् । लगातार चार वर्षसम्म उक्त टिममा उनी सक्रिय रहिन् । सन् २००९ मा ‘रुग्बी वर्ल्ड कप सेभेन्स’ मा उनी ‘यूएसए इगल्स’ का लागि खेलिन् । उनकै नेतृत्वका कारण उक्त प्रतियोगितामा तेस्रो स्थान प्राप्त भएको थियो । ‘वर्ल्ड कप’ का क्रममा उनी अमेरिकी टिमबाट ‘लिड स्कोरर’ का रूपमा आफ्नो परिचय स्थापित गर्न सफल भएकी थिइन् । 

अन्तरिक्षयात्रीका रूपमा चयन हुनुअघि जेसिका क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलजीमा पोस्ट–डक्टरल फेलो थिइन्, जहाँ उनी महिला बास्केटबल टिमको सहायक कोच भएर काम गर्ने अवसर पाएकी थिइन् । 

जेसिकाले अन्डरग्रयाजुएट मार्स फिनिक्स ल्यान्डर र प्रोटोटाइप मार्स ड्रिल परीक्षणलाई समर्थन गर्नका लागि एम्स रिसर्च सेन्टरमा काम गरिन् । सन् २००९ मा उनी मार्स डेजर्ट रिसर्च स्टेसनमा नासा ‘स्पेसवर्ड बाउन्स क्रू ८६’ की प्रमुख भूगर्भशास्त्रीको जिम्मेवारी पाएकी थिइन् । स्नातकका विद्यार्थीका रूपमा ‘जेट प्रोपल्सन ल्याबोरेटोरी’ मा ‘नियोवाइज’ परियोजनाका लागि काम गरेकी थिइन् । ‘मार्स रोभर क्यूरियोसिटी’ मा पनि काम गरेको अनुभव उनीसँग छ । सन् २०१७ मा जेसिका ‘नासा एस्ट्रोनट ग्रुप २२’ का लागि दुई वर्षको प्रशिक्षार्थीका रूपमा छनोट भइन् । सन् २०२१ को नोभेम्बरमा उनी उक्त ‘ग्रुप २२’ को चौथो अन्तरिक्ष यात्री र पहिलो अश्वेत महिला बनिन्, उनलाई ‘स्पेशएक्स क्रु–४’ को अन्तिम सदस्यका रूपमा छनोट गरियो । अप्रिल २०२२ मा प्रक्षेपण गरिएको आईएसएसका लागि उनलाई लामो अवधिको मिसनको जिम्मेवारी सुम्पिएको छ । 

पढाइमा अब्बल उनी जहाँ पनि आफ्नो पर्फमेन्स राम्रो देखाइरहिन् । धेरै चेलीले उनको चट्टानी अडानलाई ‘रोलमोडेल’ को उपमा समेत दिन्छन् । हरेक क्षेत्रमा पुरुषको दबदबा रहेको अवस्थामा उनी आफूलाई सक्षम र योग्य प्रमाणित गर्न सफल भइन् । अन्तरिक्षयात्री बन्ने तयारीका क्रममा जेसिकाले उडान प्रशिक्षण, जल र जंगलमा बाँच्न सक्ने तालिम लिइन्, अन्तरिक्षमा हिँड्ने अभ्यास गरिन् । 

जेसिकाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘मेरा सहकर्मी अन्तरिक्षयात्रीहरूले मलाई चट्टानप्रति अति रुचि राख्ने व्यक्तिका रूपमा चित्रण गर्छन् ।’

(एजेन्सीहरूको सहयोगमा)

 

 Image