लोक गीत–संगीत क्षेत्रमा सक्रिय झुमा लिम्बूले धेरै एल्बम निकालिसकेकी छन् । उनले लिम्बू धार्मिक ग्रन्थ ‘मुन्धुम’ को अडियो संस्करण पनि जारी गरेकी छन् । गीत–संगीतका विविध पक्षबारे झुमासँग गरिएको कुराकानी :
गीत–संगीतमा कहिलेदेखि लाग्नुभएको हो ?
ताप्लेजुङका डाँडापाखा, पखेरामा लोक संगीतको मज्जा लिँदै मेरो बाल्यकाल बित्यो । त्यतिबेलादेखि मलाई गीत–संगीतमा रुचि थियो । त्यसैको प्रभावस्वरूप २० वर्षदेखि यही क्षेत्रमा साधनारत छु ।
युवापुस्ताको आकर्षण आधुनिक र वेस्टर्न संगीततर्फ बढिरहेका बेला तपाईं कसरी रैथाने लोक संस्कृतिलाई संगीतमार्फत जोगाउन र उजागर गर्न उन्मुख हुनुभयो ?
सुरु–सुरुमा लोक गीत गाइयो । सहर छिरेपछि क्लासिकल संगीत अध्ययनमा केही समय बित्यो । त्यसपछि विश्वव्यापीरूपमा सांगीतिक प्रस्तुति दिन थालें । विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय मञ्चमा पुग्दा संगीतमा तिमीहरूको आफ्नो के छ ? भन्ने जिज्ञासा धेरैले राख्न थालेपछि मेरो शोध सुरु भयो । लोक रैथाने संगीत नै हाम्रो हो भन्ने पहिल्याउन सफल भएपछि म यसैमा केन्द्रित हुन थालें । यसले हाम्रो पहिचानमाथि गर्व गर्न सिकाउँछ भन्ने निष्कर्षमा पुगें ।
कसको प्रेरणाले यतातिर तान्यो ?
काम गर्दै जाँदा मेरो कर्म नै मेरा लागि प्रेरणा बन्यो । त्यसबाहेक एकजना रसियन महिला हुनुहुन्छ जसले मलाई सधै प्रेरित गर्नुभयो ।
रैथाने संगीत र यसको महत्वबारे बुझाइदिनुस् न ?
लोक संस्कृतिले ५० वर्षअघिको समय, संस्कृति र इतिहासको प्रतिनिधित्व गर्छ । समग्र नेपाली गीत–संगीतको धरोहर भनेको लोकलय नै हो । रैथाने माटोबाट उठेका भाषाहरूले जे गाइरहेका छन् ती सबै रैथाने लोक संगीत हुन् ।
लोकबाजा बनाउने अवधारणा कसरी आयो ?
विशुद्ध नेपाली संगीतमा काम गरौं न त भन्दा हामीसँग पर्याप्त मौलिक बाजा (इन्स्ट्रुमेन्ट) छैनन् । जति भेटिए ती सबै धार्मिक र जातीय रूपमा प्रयोग भइरहेका छन् । समग्र संगीतलाई प्लेटफर्म बनाएर कमर्सियल रूपमा प्रयोग हुने खालको बाजा बनाउनुपर्छ भन्ने कुरा ममा खट्कियो । त्यसै क्रममा दर्जी र थुलुङको बाजालाई फ्युजन गरी ढेलाको जन्म भयो । रक–मेटल गाउनेहरूले पनि यो बाजा मन पराएका छन् ।
यो क्षेत्रमा जम्नका लागि आवश्यक तीनवटा क्षमता के हुन् जस्तो लाग्छ ?
धैर्य, निरन्तरता र अभ्यास ।
आफूमा भएको कुनै कमजोरी जसलाई तपाईं सुधार गर्न चाहनुहुन्छ ?
अरुलाई थोरै भए पनि विश्वास गर्न सिक्न पाए अलि सहज हुन्थ्यो जस्तो लाग्छ ।
तपाईंलाई मनपर्ने इन्स्ट्रुमेन्ट कुन हो ?
सारङ्गी र च्याब्रुङ ।
परफरमेन्सका लागि मनपर्ने ठाउँ ?
शान्त वातावरणको इन्डोर स्टेज नै मलाई मनपर्छ । पाँच जना श्रोता नै किन नहोऊन्, तर सुन्ने मान्छे हुनुपर्छ ।
कस्ता संगीत सिर्जना गर्ने मन छ ?
नेपाली रैथाने संगीतलाई विश्वभरिका मानिसले सुन्ने बनाउन मन छ ।
के कुराले आफूलाई पृथक् गायिका बनाएजस्तो लाग्छ ?
म जिद्दी खालकी मान्छे हुँ । कामका क्रममा नेपाली संगीत क्षेत्रमा के छ ? भनेको सुनेपछि यत्तिकै बसेर हुन्न, केही गर्नुपर्छ भनेर जुर्मुराएर उठेकी हुँ । त्यसयता थकाइ मारेकी छैन । मेरो त्यही बानीले मलाई यहाँसम्म ल्याइपुर्यायो ।
तपाईंका आगामी योजना के छन् ?
गीत–संगीतमै समर्पित हुने हो । नयाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कन्सर्टको तयारी पनि चल्दैछ । केही समय त्यता पनि व्यस्त भइएला ।