२०५६ मा नेपाल पत्रकार संघ चुनावी प्रक्रियामा गयो । त्यसताका खुला केन्द्रीय सदस्यमा उठ्ने आँट गर्ने एक्ली महिला हुन्, निर्मला शर्मा । चुनावमा देशभरबाटै मतदान गर्ने पत्रकार महिलाको संख्या पाँच मात्र थियो । उनी ठूलो साहसका साथ चुनावी मैदानमा होमिइन् । सात पुरुष पत्रकारका बीचमा अत्यधिक मत ल्याई उनी महासंघको पहिलो महिला केन्द्रीय सदस्य बन्न सफल भइन् । उनले महिला समिति निर्माण र महासंघको विधान बनाउनेलगायतका धेरै काम महासंघमा बसेर गरिन् । उनी महासंघमा कोषाध्यक्ष, महासचिवलगायतका पदमा चुनाव लडिरहिन् । नेतृत्वको भोक उनमा छँदै थियो । यसका लागि चुनावमा सफलता हासिल गर्न नसके पनि उनी कहिल्यै थाकिनन् र साहसका साथ निरन्तर अगाडि बढी रहिन् । त्यसै क्रममा महासंघको पहिलो महिला अध्यक्षको उम्मेदवारी दिने उनै थिइन् । चुनावमा पराजित भए पनि महासंघ हाँक्ने उनको इच्छा अझै रोकिएको छैन । उनले भनिन्, ‘महिलाहरूले पनि महासंघ हाँक्न सक्छन् भनेर प्रमाणित गर्न आवश्यक छ, त्यसकारण पनि महिलाहरू अगाडि आउन जरुरी छ ।’
कास्की पोखरा जन्मथलो भएकी निर्मलाको पारिवारिक वातावरण साहित्य र सिर्जनामा रम्ने खालको थियो । त्यसैको प्रभाव हुनुपर्छ, बाल्यकालदेखि नै उनका हातहरू लेख्नका लागि सलबलाइरहन्थे । उनी कथा, कविता कोरिरहन्थिन् । प्रवेशिका परीक्षा दिनासाथ १६ वर्षमै उनको विवाह भयो । विवाहपछि उनले प्रमाणपत्र तहसम्मको पढाइ पोखरामै पूरा गरिन् । त्यसपछि स–परिवार काठमाडौं आइन् । काठमाडौंमा पनि परिवारको जिम्मेवारी र पढाइलाई सँगसँगै लगिन् । पढाइसँगै उनलाई जागिरको भोक पनि बढ्दै थियो । केही त गर्नुपर्छ भन्ने सोच्दासोच्दै ‘श्री सगरमाथा दैनिकमा’ जागिर खुलेको सूचना पाइन् । त्यो सूचना दिने व्यक्ति थिए–कृष्ण आचार्य, जो उनका आफन्त पर्थे । तीर्थ कोइराला सम्पादक रहेको उक्त पत्रिकामा ०५२ बाट उनले पत्रकारिताको यात्रा सुरु गरिन् । सुरुवाती दिनमा उनले तीन महिना ट्रेनी (प्रशिक्षार्थी) पत्रकार भई काम गरिन् । त्यसपछि नियुक्ति पाएर उनले उक्त पत्रिकामा काम गर्न थालिन् । उनले बाटोमा मकै पोल्नेदेखि साग बेच्नेहरूको कथा लेखिन् । ती कथाहरूमा उनले जति मेहनत गरे पनि पत्रिकाले त्यति महत्व दिएन । उनले लेखेका सामाजिक विषयवस्तु छायामा परिरहे । पत्रकारितामा थप जिज्ञासा र काम गर्ने हुटहुटीले उनलाई ‘फ्रन्टपेज’ मा ‘बाइलाइन’ सहितको समाचार लेख्ने रुचि बढ्न थाल्यो । त्यसका लागि राजनीतिक बिट नै रोज्नुपर्ने उनको बाध्यता बन्यो । यो बिटका लागि सम्पादकले उनलाई सहजै अनुमति दिए । उनले भनिन्, ‘पहिलो पेजमा बाइलाइन लोभका लागि राजनीति बिट रोजेकी हुँ ।’ उनलाई उक्त बिटमा समाचार संकलन गर्न चुनौती उठाउनु त थियो नै सँगै धैर्य र हिम्मत पनि जुटाउनु थियो । दुई छोरीकी आमा परिवार सम्हाल्दै उनलाई करिअरमा पनि अब्बल देखिनु थियो । छोरीहरूलाई कहिले मामाघर, कहिले होस्टल राखेर हुर्काइन् । जब उनले राजनीतिक समाचार संकलन गर्न थालिन्, तब के रात, के दिन उनलाई पत्तै हुँदैनथ्यो । कहिले रातको चार बजेसम्म संसद्मा रिपोर्टिङ सकेर हिँड्दै पत्रिकाको कार्यालय पुग्थिन् । रातको समयमा सिहंदरबारबाट बागबजारसम्म कति हिँडिन् उनलाई सम्झना छैन । राति उनी केटामान्छे जस्तै ज्याकेट लगाएर हिँड्ने गर्थिन् । एक प्रकारले उनलाई विद्रोह नै गर्नु थियो । आत्मविश्वासले नै उनलाई अगाडि बढाउँदै लग्यो । त्यतिबेला न कम्प्युटर न मोबाइल फोन नै थियो । हातैले समाचार लेख्नुपर्थ्यो । जब उनी पत्रिकामा ‘फ्रन्टपेज’ मा ‘बाइलाइन’ देख्थिन् ती दुःख सबै भुल्थिन् । संसदीय रिपोर्टिङ गर्ने महिला एकदमै कम थिए । तर, निर्मला भने आँट र साहस बटुल्दै काममा आरक्षण खोज्नुहुँदैन भन्ने धारणा राख्थिन् । उनले भनिन्, ‘महिलाहरूले काममा कहिल्यै आरक्षण खोज्नुहुँदैन ।’ महिलाहरूले अवसरको सदुपयोग गर्दै काम गर्न सके नेतृत्वमा पुग्न सक्ने उनको ठम्याइ छ ।
त्यसताका महिला भएकै कारण हतोत्साही गराउनेको पनि कमी थिएन । तर साहसी निर्मलालाई राजनीति र संसदीय रिपोर्टरको आवेदन खुलेको एक राष्ट्रिय दैनिकमा अन्तर्वार्तामा सोधियो, ‘तपाईं महिला कसरी काम गर्नुहुन्छ ? विवाह होला, छोराछोरी होलान् ।’ उनले यसको जवाफ कडा रूपमा दिएको बताइन् । त्यसताका उनका दुई छोरी हुर्किसकेका थिए । सम्पादकका यी प्रश्नले महिला भएकै कारणले सोधेको उनलाई महसुस भयो । यस्ता प्रश्नले उनलाई त्यहाँ काम गर्ने रहर नै हरायो । महिलाहरूमाथि गरिने यस्ता प्रश्नहरू र सामाजिक संरचनाहरू महिलाहरूका लागि बाधक भएको उनलाई लाग्छ ।
पत्रिकाबाट उनी रेडियो नेपालमा फड्को मारिन् । त्यहाँ उनले राजनीतिक समाचार पढिन् । रेडियोमा उनको आवाज सुन्नेहरू फ्यान हुन थाले । उनको रेडियोप्रति यति क्रेज थियो कि दसैंमा धेरै जनाले रेडियो सुन्छन् भनेर घर नगई बसिन् । उनले भनिन्, ‘रेडियोमा आवाज सुनाउने यति रहर हुन्थ्यो कि दसैंमा धेरैले सुन्छन् भनेर घर नगई बसेकी छु ।’ रेडियो नेपाल हुँदै रेडियो सगरमाथा, रेडियो कान्तिपुर, उज्यालो नेटवर्कमा पनि उनले काम गरिन् । छापा, प्रिन्ट, अनलाइन हुँदै उनी टेलिभिजनमा समकोण कार्यक्रममार्फत उदाइन् । यसमार्फत महिलाका थुप्रै विषयवस्तु उठान भए । शिक्षामा छोरीलाई विभेद, पैतृक सम्पत्तिमा महिलाको हक, बहुविवाह बदरजस्ता विषय समकोणले उठान गर्यो । सात वर्ष निरन्तर चलेको उक्त कार्यक्रम कोरोना महामारीका कारण स्थगित हुन पुग्यो । केही समयका लागि कार्यक्रमबाट विश्राम लिएकी निर्मलालाई अब नयाँ ढंगले कार्यक्रम सञ्चालन गर्ने मन छ । आगामी दिनमा कार्यक्रमले विषयवस्तु मात्रै उठान गर्ने छैन । त्यस विषयलाई मिडियाको दायित्वका रूपमा खोजी गर्दै समाधानको पाटोमार्फत निष्कर्षमा पुर्याउने उनको धोको छ ।
विभिन्न सञ्चारमाध्यममा काम गर्दै उनले सञ्चारिका समूहमा सदस्य हुँदै अध्यक्षको पनि नेतृत्व गरिन् । महिला पत्रकारको क्षमता अभिवृद्धिका काम गर्न थालिन् । सञ्चारिकामा रहेर उनले धेरै महिला पत्रकार उत्पादन गरिन् । उनले पछिल्लो समय ‘खोज पत्रकारिता केन्द्र’ को उपाध्यक्षको कार्यभार सम्हालिरहेकी छन् । आफ्नो २५ वर्षको पत्रकारिता अनुभवमा उनले पछिल्लो समय महिला पत्रकारहरूको विश्लेषण गर्दा संख्यात्मक र गुणात्मक रूपमा वृद्धि हुँदै गएकोमा सन्तोष व्यक्त गरिन् ।