Successfully Copied

कुरिलोका कुरा

कुरिलो कलिलो टुसाका लागि खेती गरिने एक बहुवर्षे तरकारी बाली हो । यसको उत्पत्ति यूरोप, अफ्रिका र पश्चिम एसियाबाट भएको मानिन्छ । विश्वमा धेरै कुरिलो उत्पादन गर्ने राष्ट्रमा चीन पहिलो स्थानमा पर्छ । पेरु र मेक्सिको क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

कुरिलो कलिलो टुसाका लागि खेती गरिने एक बहुवर्षे तरकारी बाली हो । यसको उत्पत्ति यूरोप, अफ्रिका र पश्चिम एसियाबाट भएको मानिन्छ । विश्वमा धेरै कुरिलो उत्पादन गर्ने राष्ट्रमा चीन पहिलो स्थानमा पर्छ । पेरु र मेक्सिको क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपालमा कुरिलो समुद्री सतहदेखि २२०० मिटर उचाइसम्ममा पाइन्छ । हाल नेपालमा १८ भन्दा बढी जिल्लामा यसको खेती हुन्छ । अन्य मुलुकमा हरियो, सेतो र बैजनी रंगको कुरिलोको खेती गरिन्छ । नेपालमा प्रायः हरियो रंगको कुरिलोको खेती हुन्छ । करिब ९० प्रतिशत कुरिलोको खपत ताजा रूपमै गरिन्छ भने बाँकी प्रसोधन गरी बजारीकरण गर्ने गरेको पाइन्छ । नेपालमा धेरै माग भएर पनि बजारमा सहज आपूर्ति गर्न नसक्दा यसको संधै अभाब रहन्छ । उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ ।

 

खेतीका लागि उपयुक्त हावापानी

 कुरिलोका लागि १८ देखि २० डिग्री सेल्सियस औसत तापक्रम भएको क्षेत्र राम्रो मानिन्छ । यसको बोटको वृद्धि र विकासका लागि दिनको तापक्रम २३–२९ डिग्री सेल्सियस र रातको तापक्रम १३–१८ डिग्री सेल्सियस हुनुपर्छ । कुरिलो खेतीबाट राम्रो उत्पादन पाउन ३–५ महिना बोट सुषुप्त अवस्थामा रहनु आवश्यक हुन्छ । यो अवस्था भनेको गर्मी मौसम हो । प्रशस्त मात्रामा प्रांगारिक पदार्थ भएको माटो यसका लागि उपयुक्त मानिन्छ । जरा करिब ५–१० फिटसम्म गहिरो जाने भएको हुँदा गहिरो, खुकुलो, दुमट खालको माटोमा विरुवाको वृद्धि र विकास राम्रो हुन्छ । फलस्वरूप उत्पादन पनि बढी हुन्छ । कुरिलो खेतीका लागि माटोको पीएच ६ देखि ७ दशमलव ५ राम्रो मानिन्छ । कुरिलोको भाले र पोथी फूल फरक–फरक बोटमा हुने भएकाले यिनीहरूको परागसेंचनका लागि यी दुवैलाई एकै ठाउँमा पर्ने गरी मिलाएर लगाउनुपर्छ । पोथी बोट भाले बोटभन्दा कम उत्पादनशील र छोटो आयुका हुन्छन् । भाले बोटमा धेरै टुसा पलाउँछन् । तर तिनीहरूको मोटाइ भने कम हुन्छ ।

 

नेपालमा प्रचलित जातहरू  

‘अमेरिकन जर्सी किंग’ र ‘मेरी वासिङ्टन’ दुई प्रचलित जात हुन् । सुरुमा ‘मेरी वासिङ्टन’ जात निकै प्रचलित थियो । यसको स्वाद मीठो भए पनि टुसा सानो हुने तथा टुसा पलाउने समयको अन्तराल बढी हुने भएकाले यो जातको प्रचलन घट्दै गएको पाइन्छ । हाल ‘अमेरिकन जर्सी किङ’ कुरिलो नेपालमा प्रचलनमा रहेको पाइन्छ । यो स्वादिलो हुनुका साथै १०० ग्रामसम्मको टुसा उत्पादन हुन्छ । यसको टुसा दिने समयको अन्तराल पनि छोटो हुन्छ ।

 

उत्पादन अवधि

 कुरिलो लगाएको तीन वर्षपछिबाट मात्र उत्पादन लिनु उपयुक्त हुन्छ । एकपटक लगाएपछि राम्रो हेरचाह, गोडमेल, मलजल गरेमा लगातार १५–२० वर्षसम्म बाली उत्पादन लिन सकिन्छ । बेर्ना रोप्न उत्तम समय वैशाख–जेठ मानिन्छ । तर, असोजसम्म रोप्न सकिन्छ । बीउ रोपेको दुई महिना जतिमा बेर्ना तयार हुन्छ । कुरिलो रोपेको केही समयपछि नै टुसा पलाउन थाल्छन् तर  दास्रो वर्ष नभई ती टुसाहरू टिप्नुहुँदैन । कुरिलोले  ठाउँअनुसार चार–छ महिनासम्म उत्पादन दिन्छ । चैत–भदौसम्म उत्पादन लिन सकिन्छ । टुसा नपलाउने समय (हिउँद) मा छोटो अवधिको उचाइ कम हुने तरकारी अन्तरबालीका रूपमा लगाउन सकिन्छ ।

 

पौष्टिक महत्व

 कुरिलोमा चिल्लो पदार्थको अंश नभएको हुँदा यसलाई कोलस्टोरोल र सोडियम तत्व नभएको भिटामिन ‘ए’, तथा ‘सी’ प्रशस्त मात्रामा भएको उपयोगी खाद्यपदार्थका रूपमा लिने गरिन्छ । यसको प्रयोग सुप तथा तरकारीका रूपमा, हरियो तथा  बफाइएको कुरिलो सलादका रूपमा उपयोग गरिन्छ । भिटामिन ‘ए’ , ‘बी’, ‘सी’, ‘ई’, पोटासियम, जिंक र फोलिक एसिडसमेत हुने हुँदा मुख्य रूपमा गर्भवती महिलाका लागि यो उपयोगी हुन्छ ।

उत्पादन

कुरिलोको सरदर उत्पादन २००– ५०० किलोग्राम प्रतिरोपनी रहेको पाइएको छ ।

 

बजार

 हाल नेपाली बजारमा कुरिलोको अभाव देखिएको हुँदा यसको मूल्य अहिलेसम्मकै उच्च छ । नेपालमा सम्भावना भएर पनि व्यावसायिक खेती हुन नसक्दा भारत र इन्डोनेसियाबाट कुरिलोको आपूर्ति भैराखेको छ । न्यानो र समशीतोष्ण हावापानी भएको खासगरी मध्यपहाडी क्षेत्रमा सफलता साथ गर्न सकिने भएको हुँदा मध्यपहाडी क्षेत्रको सामुदायिक तथा निजी वन तथा कृषकले आफ्ना पाखा–पखेराहरूमा व्यावसायिक रूपमा कुरिलो खेती गरी अतिरिक्त आम्दानी गर्न सक्छन् । कुरिलोलाई नेपाली बजारमा मुठा बनाई, घाम ज्यादा नलाग्ने छहारीमा राखी बेच्ने गरिन्छ भने कुरिलोलाई भण्डारण ० डिग्री तापक्रम र ९० प्रतिशत सापेक्षित आद्रतामा राखी गर्ने हो भने ३–४ सातासम्म ताजा राख्न सकिन्छ ।

प्रति १०० ग्राम कुरिलो सेवनबाट प्राप्त हुने विभिन्न पौष्टिक तत्वको विवरण :

शक्ति    २.२ किलो क्यालोरी

कार्बोहाइड्रेट    ३.७ ग्राम

प्रोटिन    ३.१ ग्राम

क्याल्सियम    २२ मिलिग्राम

रेसा र खरानी    ०.८ मिलिग्राम

पोटासियम    ३०२ मिलिग्राम

म्याग्नेसियम    १८ मिलिग्राम

फलाम (आइरन)    ०.६

(राजेन्द्र कृषि विज्ञ हुन्)

 Image