श्रीमान् भन्छन्, ‘आज दालभात होइन, अन्य कुनै परिकार खाने हो कि ?’
श्रीमान्को मर्जी, स्वाद र रुचिअनुसार श्रीमती चुपचाप रोटी वा नुडल्स बनाउन थाल्छिन् ।
श्रीमान् भन्छन्, ‘यसपाली घान्द्रुक घुम्न जानुपर्ला ।’
श्रीमान्को इच्छामा श्रीमती सही थाप्छिन् ।
मनोविद् गोपाल ढकालका अनुसार श्रीमान्ले आफ्नो चाहना खुलेर प्रकट गर्छन् । उनीहरूलाई के खान मनलाग्छ, कहाँ जान मनपर्छ सबै कुरा प्रस्ट भन्छन् । श्रीमतीहरु आफूलाई मन लागेको कुरामा पनि मुख खोल्दैनन् । उनी थप्छन्, ‘श्रीमतीहरू आफूलाई दबाएर वा आफूलाई लुकाएर बस्छन् । आफूलाई खान मन लागेको कुरा गर्न मन लागेको काम, जान मन लागेको ठाउँ, भन्न मन लागेको विषयमा आफूलाई रोक्छन् ।’
एक अध्ययनअनुसार १० मध्ये ९ महिला आफ्ना इच्छा भन्न वा इच्छानुसारको काम गर्नबाट आफूलाई रोक्ने गरेका छन् ।
किन ?
‘पोथी बासेको राम्रो हुँदैन’ भन्ने पुरातन मानसिकताले गाँजेको छ हाम्रो समाजलाई । यही सोंचका कारण महिलाहरू खुलेर बोल्न वा केही गर्न अग्रसर हुँदैनन् ।
गोपाल भन्छन्, ‘महिलाहरूले आफैलाई दबाएर राख्नु वा आफ्नो कुरा गुम्साएर बस्नुमा पितृसत्तात्मक सोंच पनि एउटा कारण हो ।’ हरेक कुराको निर्णय र नेतृत्व पुरुषले गरिरहेको घर–परिवारमा महिलाहरू यसै पनि आफूलाई कमजोर ठानिरहेका हुन्छन् । त्यसैले आफूले भन्ने कुरा र गर्ने निर्णय गलत हुन्छ कि भन्ने डर उनीहरूमा रहने उनी बताउँछन् ।
त्यसैगरी, झटपट आफूले कुनै पनि कुरा व्यक्त गर्दा अरुले नकारात्मक सोच्छन् भन्ने डरले पनि उनीहरू मनको कुरा मनमै लुकाउँछन् । पारिवारिक परामर्शदाता रमा कार्की भन्छिन्, ‘महिलाहरू समाज र परिवारसँग सधै सतर्क रहन्छन् । आफूले बोलेको कुरामा अरूले खिल्ली उडाउने हो कि भन्ने डरले उनीहरू बोल्न हिच्किचाउँछन् ।’
महिलाहरू संकोची स्वभावका हुन्छन् । यही स्वभावका कारण उनीहरू आफ्नो रुचिको कुरा खुलेर व्यक्त गर्दैनन् ।
किन आफूलाई रोक्छन् महिला ?
‘हाम्रो समाजमा छोरीलाई हुर्काउने शैली नै फरक छ’ रमा भन्छिन्, ‘संस्कारको नाममा छोरीलाई कमजोर बनाइन्छ ।’ छोरी भएर अरुका अगाडि प्याच्च बोल्नुहुन्न, सहनुपर्छ भन्ने कुरा सानैदेखि सिकाउने गरिन्छ । ‘महिलालाई सानैदेखि पुरुषको बराबरी नगर्न सिकाइएको हुन्छ । जति मिल्छ त्यतिमै सन्तुष्टि हुनुपर्छ’ उनी भन्छिन्, ‘छोरीले धेरै बोल्नुहुन्न । पुरुषको अगाडि बोल्नुहुँदैन उनीहरू ठूला हुन् वा उनीहरूमा निर्भर रहुनुपर्छ । महिलाहरू श्रीमान्बिना कमजोर र असहाय हुने मनोविज्ञान पनि भरिदिएको हुन्छ । कहिल्यै आफ्नो हकका बारेमा बोल्न दिइँदैन । यी र यस्तै कारणले महिलाहरू कहिल्यै आफ्नो इच्छानुसार काम गर्दैनन् ।’
धेरै महिलाले राम्रो हुन्छ वा हुँदैन ? उपयुक्त हो वा होइन भन्ने कुरा गर्न सक्दैनन् । अरुले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने सोच्छन् । आफ्नो खिल्ली उड्ने डरले उनीहरू खुलेर सबैका सामु बोल्न सक्दैनन्, हिच्किचाउँछन् । अरुका अगाडि नकारात्मक प्रभाव पर्ने डरले पनि महिला आफ्नो कुरा खुलेर राख्दैनन् । कतिपय महिलालाई सोच्नमा आफूले धेरै समय लगाउँछन् जसले गर्दा अवसर हातबाट निस्किन्छ ।
वास्तवमा महिलालाई कपडाको आधारमा, कहिले उनको व्यवहार देखेर, केटाहरूसँग कुरा गरिरहेको देखेर वा अन्य कुरामा समाजले नजर राखिरहेको हुन्छ । विन्दास किसिमका युवतीहरू यस्तो प्रतिक्रियालाई बेवास्ता गर्छन् तर सामान्य युवतीहरूमा सधैं यही डर मनमा गढेर बसेको हुन्छ ।
जब एसईई र प्लस टुको रिजल्ट आउँछ, पत्रिकामा छात्राहरूले टप गरेको समाचारको हेडलाइनले भरिन्छ । विद्यालय र क्याम्पसमा प्रायः छात्राहरूले टप गर्छन् । तर जागिर र तलबको कुरामा उनीहरू पछाडि नै रहन्छन् ।
इच्छा मार्नु
एक पुरुषलाई कहिल्यै कस्तो वा कहाँ जागिर खाने भनेर परिवार वा श्रीमतीको सहमति चाहिँदैन । उनीहरू आफ्नो इच्छानुसार काम गर्छन् । उनीहरूलाई कसैको अनुमति चाहिँदैन । तर महिलालाई पढ्न, काम गर्न वा केही सिक्न जान आफ्ना बुवा, दाइ वा श्रीमान्को अनुमति लिनुपर्छ ।
मनोविद् गोपाल भन्छन्, ‘इच्छा दबाउने सोंच र स्थिति सबै विवाहित र अविवाहित महिलामा हुन्छ । जागिर र करियरभन्दा पहिलो प्राथमिकता घरपरिवार र श्रीमान् हुन्छन् ।’ महिलाहरूलाई केवल समय बिताउनमात्र जागिर खानुपर्ने बाध्यता छ । करियरमा अगाडि बढ्नु, राम्रो गर्नु, लिडरसिप पोजिसनमा रहनु जस्ता विषय उनीहरूको भबिष्यको योजनामा नपर्ने उनको बुझाइ छ ।
महिलाहरूले अवसर योग्यताको कमी भएर गुमाएका भने होइनन् । अमेरिकास्थित वासिङ्गटन विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार महिलाको मस्तिष्क उसको आयुको तुलनामा सामान्य पुरुषको भन्दा तीन वर्ष कम हुन्छ । यसकारण महिलाहरूको मस्तिष्क पुरुषको तुलनामा लामो समयसम्म तिक्ष्ण रहन्छ ।’ शोधकर्ताहरूले अध्ययनमा २० देखि ८४ वर्षका एक सय २१ जना महिला र ८४ पुरुषलाई सहभागी गराइएको थियो । शोधमा सहभागी गराइएकाहरूको मस्तिष्कमा ग्लुकोज र अक्सिजनको प्रवाह मापन गरियो । यसबाट महिलाभन्दा पुरुष तीन वर्ष बढी मानसिक रूपमा वयस्क हुने गरेको रहस्यलाई पुष्टि भयो ।
अध्ययनमा बालबालिकाको पढाइ, लेखाइ, घरव्यवहार, विवाह, राम्रो जीवनशैली आदिमा महिला बढी चिन्तित रहेको देखियो । पुरुषको तुलनामा महिला आफ्ना सन्तानसँग जोडिएको लक्ष्यमा झुकाव अधिक हुन्छ । पुरुष कार वा घर किन्ने कुराको निर्णय आफै लिन्छन् । महिलाहरू गरगहना, सुनचाँदी, दैनिक आवश्यकताका सामान, फर्निचर, टिभीजस्ता टिकाउ हुने सामान किनमेलमा बढी रुचि राख्ने गरेको पनि अध्ययनले देखाएको छ ।
हरेक विषयको निर्णय महिला–पुरुष दुवै मिलेर लिँदा अझ राम्रो हुन्छ । महिलाहरूमा आत्मविश्वास धेरै हुन्छ । पैसा वा योसँग जोडिएमा तनाव कम हुन्छ । त्यसैले महिला–पुरुष दुवै मिलेर वित्तीय योजना मात्र होइन जिन्दगीका सबै विशेष निर्णयमा महिलालाई आफ्नो राय राख्ने मौका दिन सकिन्छ । यसो गर्दा परिवार र श्रीमान्का लागि राम्रो हुने पनि अध्ययनले देखाएको छ ।
रमा कार्की
पारिवारिक परामर्शदाता
‘छोरीलाई हुर्काउने शैली परिवर्तन जरुरी ।’
महिलाहरूले आफ्नो इच्छा किन दबाउँछन् ?
हाम्रो समाजमा संस्कारको नाममा छोरीहरूलाई सानैदेखि हरेक कुरामा बन्देज लगाएर हुर्काउने चलन छ । पुरुषको तुलनामा महिला कमजोर हुन्छन् भन्ने मानसिकता पनि धेरैको छ । यी र यस्तै मनोविज्ञानहरूका कारण महिलाले आफ्नो इच्छा दबाउने गरेका हुन् ।
कसरी कम गर्न सकिएला ?
यसलाई कम गर्ने सबैभन्दा राम्रो साधन भनेको सञ्चार हो । छोरीलाई सशक्त बनाउन सकारात्मक संस्कृतिको विकास गर्नुपर्छ । साथै उनीहरूको भावना बुझ्न सक्नुपर्छ । सबै कुरा सेयर गर्न सक्ने वातावरण बनाइदिनुपर्छ ।
गोपाल ढकाल, मनोविद्
‘यो पुरुषमा आश्रित हुनुको परिणाम हो ।’
घरायसी काम महिलाकै कर्तव्य भएको भन्ने बुझाइ छ । घरको रेखदेख गर्ने, खाना पकाउने, बच्चाको हेरचाह गर्ने जस्ता काम पहिलेदेखि नै महिलाले मात्र गर्दै आएका छन् । सानोतिनो काममा पुरुषहरू अल्झिन चाहँदैनन् । महिला र पुरुषको स्वभाव अर्को कारण हो । महिलाहरू घरधन्दामा रुचि राख्ने, हरेक काम गर्दा धैर्य हुने जस्ता स्वभावका हुन्छन् । उही पुरुष घरको काममा भन्दा बल र बुद्धिको काम गर्न रुचाउँछन् । किनभने उनीहरूको हुर्काइ नै त्यही किसिमको भएको हुन्छ । महिलालाई संवेदनशील र पुरुषलाई लडाकु बनाइन्छ । जोखिम कामहरू उनीहरूले गर्नुपर्छ । पुरुष भनेको बहादुर हुनुपर्छ । त्यसैले उनीहरूमा यही किसिमको मानसिकता हुन्छ ।
यो पुरुषप्रति आश्रित हुनुको परिणाम पनि हो । हाम्रो समाजमा अझै छोरीलाई अर्काको घर गएपछि ‘तिमीले गरिखानुपर्छ’ भन्ने गरिन्छ । रिझाएर बस्न सक्नुपर्छ, जे पनि सहनुपर्छ भनेर हुर्काइन्छ । त्यसैले आफ्नो रुचि वा चाहना खुलेर राख्न सक्दैनन् । यही धारणाका कारण महिलाहरू पुरुषमाथि निर्भर हुने गरेका हुन् । हाम्रो समाजको संरचना नै त्यस्तै छ । महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउनुको सट्टा उनीहरूलाई घर, बच्चा, श्रीमान्लाई कसरी सम्हाल्ने भन्ने कुरामा बढी जोड दिइन्छ । यसका कारण धेरैजसो महिलाहरू भित्रभित्रै कुण्ठित भइरहेका हुन्छन् । बाध्यताले निरीह भएर गुम्सिरहेका हुन्छन् । उनीहरूको वैवाहिक जीवन निराशामा बित्छ । श्रीमान्–श्रीमतीमा मतभेदका साथै झै–झगडाका समस्या उत्पन्न हुन्छन् ।
समय परिवर्तनशील छ । पहिले जस्तो सोंच पछिल्लो समय कम पाइन्छ । महिलाहरूको इच्छालाई बुझ्न र उनीहरू पनि घरपरिवार, समाजको पाटो हो भन्ने कुराको बोध गराउन सक्नुपर्छ । श्रीमतीको कामलाई आफ्नो गौरव ठान्ने मानसिकता श्रीमान्हरूले बनाउन सक्नुपर्छ । घरको आर्थिक उत्पादनमा महिलाको पनि हात हुन्छ । घर–व्यवहार मिलाएका हुन्छन् भन्ने कुरा बुझाउन सक्नुपर्छ ।