काठमाडौंस्थित धापासीकी प्रकृति मैनालीले एमबीए सकेको झन्डै सात वर्ष भयो । उच्च शिक्षा उत्तीर्ण गरेपछि जागिर खाने उनको ठूलो धोको थियो । तर पढाइ सकेर उनी हिमालयन बैंकमा इन्टर्नसीप गर्दागर्दै जागिर नगर्ने सोच बनाई घरमै होमस्टे सञ्चालनतिर लागिन् । उनको होमस्टेमा विभिन्न देशका पर्यटकहरू आउने क्रम बढ्यो । तीमध्ये जर्मनका एक पर्यटक पनि थिए । उनी ई–कमर्सका सञ्चालक रहेछन् । उनीसँगको छलफलपछि अर्को नयाँ व्यवसाय गर्ने निष्कर्षमा प्रकृति पुगिन् । ती जर्मन पर्यटककै सल्लाहमा प्लास्टिकका बोराका ब्याग बनाउने व्यवसाय थाल्ने निर्णय गरिन् । त्यसपछि उनले बोरा संकलन गर्न थालिन् । ‘बोरा त संकलन गरें अब कस्तो आकार दिने भन्ने थाहा थिएन’ उनले भनिन्, ‘तर, ममा केही गर्ने जोश भने थियो ।’ नेपालमा बोराको बजार नभए पनि जर्मनमा यसको व्यापार छ भन्ने कुरा उनलाई ती पर्यटकबाटै थाहा भैसकेको थियो । व्यवसाय सञ्चालनका लागि सुरुमा उनले २५ हजार लगानी गरिन् । डिजाइनमा कम्बोडियामा प्रयोग हुने ब्यागहरू हेरिन् । त्यहाँ चलनचल्तीमा रहेका ब्यागहरूको अध्ययन गरी ‘एक महिला, एक मेसिन’ बाट व्यवसाय सुरु गरिन् । कम्पनीको नाम राखिन्–‘शक्ति मिलन प्राइभेट कम्पनी’ । ब्यागको उत्पादन थालेसँगै उनी आफ्नो व्यवसायप्रति सन्तुष्ट हुँदै गइन् । व्यवसाय थालेको केही वर्षमै उनको उत्पादन नेपालसँगै जर्मन हुँदै यूरोपका विभिन्न मुलुकमा पुगिसकेको छ । जर्मनमा कम्पनीको आफ्नै अनलाइन स्टोरमार्फत ब्याग बिक्री भइरहेका छन् ।
उनको कम्पनीमा प्लास्टिकका बोराका रंगीचंगी ब्याग उत्पादन हुन्छन् । यसो त ब्यागमा कालो र नीलो बढी हाबी हुने रंग हुन् । यी रंगलाई चुनौती दिँदै उनले उत्पादन गरेका रंगीचंगी ब्यागहरूले हरेक मानिसलाई फरक अनुभूति दिइरहेको उनको भनाइ छ । यूरोपका सहरदेखि नेपालका गाउँगाउँका विद्यालयहरूमा कम्पनीका ब्यागहरू पुगिसकेका छन् । ‘शिक्षित बालिका, सुरक्षित वातावरण’ भन्ने नाराका साथ विद्यालयहरूमा झोला पुग्ने गरेको उनले बताइन् । प्रकृतिका अनुसार यूरोपका सहरहरूमा ब्याग बेचिरहँदा एक बालिकालाई ब्याग डोनेसनका रूपमा उपलब्ध गराउने गरिएको छ । उनले सडकमा फालिएका बोराबाटै झोला व्यवसाय थाल्दा सुरुमा धेरै समस्या बेहोरेको अनुभव साटिन् ।
पछिल्लो समय भने उनलाई बोरा बटुल्न सडकमा पुग्नु पर्दैन । फ्याक्ट्रीमै विभिन्न तरिकाले बोराहरू आइपुग्छन् । घर–घरबाट महिला समूहले पनि बोरा उपलब्ध गराउन थालेका छन् । चामल, दाल, जिराको प्याकिङमा प्रयोग हुने बोराहरू नै उनका फ्याक्ट्रीका कच्चापदार्थ हुन् । बोराअनुसार फरक–फरक ब्याग बन्छन् । यसका विशेषता भनेकै वाटरपुफ्र हुन् ।
व्यवसायमा आम्दानी मात्र होइन चुनौती पनि उत्तिकै छन् । विदेशी अनलाइनमार्फत बिक्री गनुपर्ने भएकाले सुरुका दिनमा अनलाइनमा पोस्ट गर्न उनलाई समस्या झेल्नुपर्यो । उनले भनिन्, ‘टेक्निकल पार्ट जान्न नसक्दा पनि एकदमै गाह्रो अवस्था थियो ।’ गुणस्तर मेन्टन गर्न पनि चुनौती उत्तिकै थियो । फ्यााँकिएका बोराबाट गुणस्तर मेन्टेन गर्न एकदमै गाह्रो हुने उनको अनुभव छ । अर्को कुरा मार्केट पनि उत्तिकै चुनौती रहेको उनले बताइन् । ‘अपसाइकललाई फोकस गरेर कम्पनी टिकाउन एकदमै गाह्रो छ’ प्रकृतिले भनिन्, ‘यो डिमान्ड क्रिएट भएको प्रोडक्ट होइन । त्यसैले यसका लागि मानिसलाई अवेयर गर्दै डिमान्ड क्रिएट गर्दै जानुपर्ने हुन्छ ।’
पछिल्लो सयम उनको व्यवसायमा १३ जना महिला जोडिएका छन् । वार्षिक ८० लाखमाथि कम्पनीले कारोबार गरिरहेको छ । बोरा खोज्ने, कटिङ गर्नेदेखि डिजाइन गर्ने सबै महिला नै छन् । सीमान्तकृत महिलालाई रोजगारी दिन पाउँदा उनी खुसी छिन् । अन्य धेरै महिलाले उनलाई यो व्यवसाय सञ्चालनका लागि सोधिरहेका हुन्छन् । आफ्नो अनुभव साट्दै भनिन्, ‘महिलाहरूलाई उद्यमशीलतामा साथ दिन घरको वातावरण राम्रो हुनुपर्छ ।’