सुनिता तामाङ, सेफ, ग्रीन भ्याली रिसोर्ट
सेफ बन्ने रुचि कसरी जाग्यो ?
म विद्यालयमा अध्ययन गर्दै थिएँ । त्यतिबेला यहाँ रिसोर्ट खुल्यो । रिसोर्टमा सेफको आवश्यकता छ भनेपछि म सेफ बन्न हौसिएँ । पढाइसँगै आम्दानी हुन्छ भन्ने सोचेर पनि म यो क्षेत्रमा आएकी हुँ ।
सेफ बन्न परिवारको सपोर्ट कस्तो थियो ?
सुरुमा परिवारको सहयोग थिएन । होटल लाइन भनेपछि नराम्रो दृष्टिकोणले हेरिन्थ्यो । तर रिसोर्टमा अन्य महिला साथीहरू आएपछि भने मलाई सहज भयो ।
खाना कसरी मीठो बनाउने ?
खाना मीठो बनाउन मेहनतका साथै सिर्जनात्मक कलाको पनि आवश्यकता छ । तन र मन लगाएर खानेकुरा बनाउनुपर्छ । यसका लागि खानेकुरालाई खेर नफाली नयाँ ढंगले पकाउँदा त्यसको स्वादमा पनि फरक हुन्छ । त्यसअन्तर्गत सुप, स्न्याक्सहरू बनाएर खानालाई नयाँ रूप दिन सकिन्छ ।
आफूले बनाएको के कुरा मीठो लाग्छ ?
म प्रायः सबै खाना बनाउँछु । एउटै भान्सामा नेपाली, कन्टिनेन्टल, इटालियन र इन्डियन सबै खाना बनाउँछु । सबै खानामा मेहनत सँगसँगै समय पनि लागेको हुन्छ । त्यही भएर पनि आफूलाई सबै खाना मीठो लाग्छ ।
महिला सेफका चुनौती के छन् ?
भान्सा भनेको एकदमै संवेदनशील ठाउँ हो । म यहाँको मुख्य सेफ हुँ । त्यसकारण सबैलाई समेटेर लानुपर्छ । भान्सामा बल मात्र होइन बुद्धिले काम गर्नुपर्छ । पुरुषहरू महिलाको अन्डरमा बस्न खोज्दैनन् । त्यसका लागि भने व्यक्तिको स्वभावअनुसार व्यवहार गर्नुपर्छ । भान्सामा काम गर्न त्यति सहज हुँदैन । कहिले हात काटिने र कहिले हात डढ्ने समस्या आइरहन्छन् ।
यो क्षेत्रमा महिलाका लागि अवसर कस्तो छ ?
यो क्षेत्रलाई धेरै महिलाले आफ्नो करियरका रूपमा अगाडि बढाइरहेका छन् । महिलामा अवसर कमै छ । महिलाहरूले टाइम दिन नसक्ने, भान्सामा रिक्ससँगै हार्डवर्क हुने भएकाले महिलालाई भान्सामा छिटै विश्वास गर्दैनन् ।
कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
खुसी नै छु । कमाएको पैसाले पुगेकै छ । आफूले जति सेल गर्न सक्यो त्यति आम्दानी हुने रहेछ । हामी पर्दा पछाडिका खेलाडीजस्तै हौं । आफ्नो हातले मीठो खाना बनाएर, सर्भ गरेर दिए पनि हामी देखिँदैनौं । खाना मीठो भएको क्रेडिट र टिप्स वेटरले पाउँछन् । भान्सामा टिप्स आइपुग्दैन ।
भविष्यको योजना के छ ?
राम्रो र प्रख्यात महिला सेफ बन्ने इच्छा छ ।