५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू

पोखराकी सरिता दाहाल हुमागाईंसँग मिडिया क्षेत्रमा प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरेको १४ वर्षको अनुभव छ । पोखरास्थित ‘सफल मिडिया हाउस’ की प्रबन्ध निर्देशक उनी लाइन्स क्लबमा समेत आबद्ध छिन् । पछिल्लो समय उनले ‘सफल विज लिंक’ र ‘सफल आवाज डटकम’ को प्रबन्ध निर्देशकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी छन् । उनीसँग असल नेतृत्वकर्तामा हुनुपर्ने गुण, महिलाको नेतृत्व क्षमता अभिवृद्धिलगायतका विषयमा केन्द्रित भई गरिएको संवादको सम्पादित अंश :
असल नेतृत्वकर्तामा हुनुपर्ने गुणहरू के–के हुन् ?
कुनै पनि संस्थाको सफलतामा नेतृत्वकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । संस्थामा आबद्ध कर्मचारीलाई क्षमताअनुसारको जिम्मेवारी प्रदान गर्ने र सोहीअनुरूपको कार्य भए/नभएको हेर्ने तथा मूल्यांकन गर्ने जिम्मेवारी नेतृत्वकर्ताकै हुन्छ । टिमवर्कलाई विश्वास गर्दै असहज परिस्थितिलाई पनि सहज रूपमा लिएर अघि बढ्नसक्ने गुण एवं क्षमता नेतृत्वकर्तामा हुनुपर्छ ।
महिलामा नेतृत्व क्षमता अभिवृद्धि गर्न के कुराको आवश्यकता पर्छ ?
सर्वप्रथम महिलाको क्षमता चिनेर जिम्मेवारी दिनुपर्छ । साथै, उनीहरूको क्षमता अभिवृद्धिका लागि सम्बन्धित क्षेत्रको ज्ञान, सीप, अध्ययन र अवलोकनको अवसर पनि उत्तिकै आवश्यकता पर्छ । विज्ञसँगको भेटघाट र अनुभवबाट पनि नेतृत्व क्षमता अभिवृद्धि हुने भएकाले त्यसमा पनि जोड दिनुपर्छ ।
निर्णायक पद सम्हाल्न महिलालाई कत्तिको चुनौती छ ?
पुरुषको तुलनामा महिलालाई निर्णायक पदमा रहेर काम गर्दा बढी चुनौती हुन्छ । अझैपनि हाम्रो समाजमा व्यावसायिक वा अन्य क्षेत्रको महत्वपूर्ण निर्णय गर्दा महिलाले मात्र गरेको कमै पाइन्छ । महिलाले नेतृत्व गरेको संस्थामा बढी चुनौतीको सामना गर्नु परिरहेको हुन्छ । पेसा/व्यवसायसँगै घरपरिवारको जिम्मेवारी, आफन्तजनसँगको सहकार्य तथा सामाजिक संस्कारमा महिलाको सहभागिता उत्तिकै हुनुपर्ने भएकाले निर्णायक पद सम्हालिरहँदा चुनौतीको सामना गरिरहनुपर्छ ।
आफूलाई ‘अप टु डेट’ राख्न के गर्नुभएको छ ?
मिडिया हाउसको नेतृत्व गरिरहँदा यस क्षेत्रका विविध विषयको अध्ययन गर्छु । हरेक समय इन्टरनेटको पहुँचमा हुन्छु । त्यसको माध्यमबाट धेरै कुराको ज्ञान लिने गरेकी छु ।
महिलामा भएका तीनवटा गुण जसका कारण महिला शक्तिशाली छन् ?
महिलामा पुरुषको तुलनामा दर्जनौं बढी गुण हुन्छन् । महिलामा धैर्य, जिम्मेवारीलाई स्वीकार गर्ने साहस र सबैलाई मिलाएर लैजान सक्ने क्षमता हुन्छ । त्यसैले त भनिएको छ–एउटा असल महिला हुनु भनेको असल परिवार अनि असल समाज हुनु पनि हो ।
(सरिता सफल मिडिया हाउसकी प्रबन्ध निर्देशक हुन् ।)