फुल्नु छ
हाँगा–हाँगा नबिर्सेर पात–पात समेटेर रंगको समय फुल्नु छ मलाई

स्वीडेनको इतिहासमा मुलुककै प्रथम महिला प्रधानमन्त्री बन्न सफल ‘स्वीडिस सोसल डेमोक्र्याटिक पार्टी’ की नेतृ इभा म्याग्डालेना एन्डर्सन पदभार ग्रहण गरेको केही घन्टामै राजीनामा दिन बाध्य भइन् । उनी शिक्षामा मात्रै होइन राजनीतिमा समेत अब्बल छिन् । तर, राजनीतिक ‘फोहरी खेल’ र रस्साकस्सीका कारण उनको प्रधानमन्त्री पद १२ घन्टा नबित्दै धरापमा पर्यो । यसबाट उनी कत्ति विचलित र निराश छैनन् बरु स्वीडेनको संसद्ले आफूलाई पुन : प्रधानमन्त्री बनाउने कुरामा आशावादी छिन् ।
स्वीडेनको उप्पसाला सहरमा अध्यापकको परिवारमा ५४ वर्षअघि जन्मिएकी म्याग्डालेना एन्डर्सन नोभेम्बर २४ मा मुलुककै प्रथम प्रधानमन्त्री बनिन् । तर, दुर्भाग्य नै भन्नुपर्छ, उनी प्रधानमन्त्री बनेको केही घन्टामै राजीनामा दिन बाध्य भइन् । प्रधानमन्त्री बनेकै दिन उनले राजीनामा दिन्छिन् भन्ने लखसम्म कसैले काट्न भ्याएको थिएन । तर, धेरैको अनुमानमै नरहेको घटना उनका लागि हुन पुग्यो । उनले नेतृत्व गरेको गठबन्धनको सहयोगी दलले समर्थन फिर्ता लिएसँगै उनको पद धरापमा पर्यो । म्याग्डालेना ‘स्वीडिस सोसल डेमोक्र्याटिक पार्टी’की नेतृ हुन् । उनको दलसहितको गठबन्धनमा सहभागी ‘ग्रीन पार्टी’ले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिनुपरेको हो ।
आफूलाई ‘असल र मेहनती महिला’ भएको दाबी गर्ने उनी स्पष्टवादी नेताका रूपमा स्वीडेनमा लोकप्रिय छिन् । तर, राजनीतिमा स्पष्टवादी र तीतो सत्य बोल्नेहरू लामो समय टिक्न सक्दैनन् भन्ने कुरा उनको प्रधानमन्त्री पदमा बहाली हुनु र केही घन्टा नबित्दै राजीनामा दिनुले पनि प्रमाणित भएको छ । हालै एउटा टेलिभिजन रिपोर्टमा उनलाई ‘बुलडोजर’ को संज्ञासमेत दिइएको थियो । उनका बारेको यो खरो टिप्पणीले त्यहाँ निकै चर्चा पाएको थियो ।
पछिल्लो घटनाक्रमले पनि उनको चर्चा शिखरमा छ । मुलुककै इतिहास बनाउन सफल हुनु तर प्रधानमन्त्री बनेकै दिन राजीनामा दिन बाध्य हुनुले उनी विश्वमै चर्चाको पात्र बनेकी हुन् । म्याग्डालेना स्वीडेनको संसद् ‘रिक्सदाग’ मा एक मतले मात्र प्रधानमन्त्री बनेकी थिइन् । प्रधानमन्त्री बनेसँगै उनले संसद्मा बजेट प्रस्ताव ल्याइन् । तर, उनलाई समर्थन गर्ने दल ‘ग्रीन पार्टी’ ले त्यो बजेट प्रस्ताव अतिवादी दक्षिणपन्थीहरूसँग मिलेर ल्याएको भन्दै विरोध मात्रै गरेन, समर्थन नै फिर्ता लियो । यस्तो अवस्थामा उनीसँग प्रधानमन्त्री पदबाट राजीनामा दिनुको अर्को विकल्प नै थिएन । यो घटनाबारे प्रतिक्रिया दिँदै उनले भनेकी थिइन्, ‘मैले सभामुखलाई पहिले नै भनिसकेकी थिएँ–‘म राजीनामा दिँदैछु । त्यसैले यसलाई अन्यथा मान्नुपर्ने कुरै छैन । मलाई आशा छ–म फेरि मुलुकको प्रधानमन्त्री बन्नेछु । मुलुकको संवैधानिक परम्पराअनुसार एउटा समर्थक दलले आफ्नो समर्थन फिर्ता लिएपछि मैले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भनेरै तत्काल राजीनामा दिएकी हुँ ।’
म्याग्डालेना एक मतले मात्रै संसद्मा प्रधानमन्त्री चुनिएकी थिइन् । स्वीडेनको संविधानमा कुनै व्यक्तिविरुद्ध संसद्मा मतदान गर्ने बहुमत सांसदहरू नभएको अवस्थामा पनि व्यक्ति प्रधानमन्त्री बन्न सक्ने व्यवस्था छ । ३४९ सदस्यीय स्वीडिस संसद् ‘रिक्सदाग’ मा १७४ सांसदले उनीविरुद्ध मतदान गरेका थिए । यो संख्या बहुमतभन्दा कम हो । उनको समर्थनमा ११७ सांसदले मतदान गरेका थिए भने ५७ जना अनुपस्थित रहेका थिए । म्याग्डालेनाले एक मतले बहुमत प्राप्त गरेपनि त्यहाँको संवैधानिक व्यवस्थाका कारण सय वर्षको इतिहासमा पहिलो पटक प्रधानमन्त्री बन्न सफल भएकी हुन् । उनी प्रधानमन्त्री भएपछि सबै सांसदले संसद् भवनमा उठेर स्वागत गरेका थिए । उनी प्रधानमन्त्री बन्नुअघि स्वीडेन एउटा मात्रै भौगोलिक र सांस्कृतिक रूपमा समानता रहेको उत्तरी युरोपेली मुलुक ‘नर्डिक देश’ थियो जहाँ अहिलेसम्म कुनै महिला प्रधानमन्त्री बन्न सकेका थिएनन् ।
‘जुनियर स्वीमिङ च्याम्पियन’ रहिसकेकी म्याग्डालेना १६ वर्षको उमेरमै सोसल डेमोक्र्याटिक पार्टीको सदस्य बनेकी थिइन् । उनले आफ्नो राजनीतिक करियर सन् १९९६ मा तत्कालीन प्रधानमन्त्री गोरान पेरसोंको राजनीतिक सल्लाहकारका रूपमा सुरु गरेकी थिइन् । त्यसपछि उनी सात वर्षसम्म मुलुकको अर्थमन्त्री बन्न सफल भइन् । सफल अर्थमन्त्रीका रूपमा आफ्नो परिचय बनाएकी म्याग्डालेनाले ‘स्वीडेनले राम्रो गर्न सक्छ’ भन्ने नारा दिएर चुनाव लडिन् र जितिन् । उनी ४ नोभेम्बर २०२१ मा स्वीडिस सोसल डेमोक्र्याटिक पार्टीको नेतामा चुनिएकी थिइन् । २४ नोभेम्बर २०२१ मा स्वीडेनको संसद्ले उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो ।
शिक्षा, करियर र रुचि
म्याग्डालेना स्वीडेनस्थित उप्पसाला विश्वविद्यालयमा अध्यापक रहेका गोरान एन्डर्सनकी एक्ली सन्तान हुन् । उनले विद्यालय तहको शिक्षा उप्पसालास्थित क्याथेरल स्कुलबाट पूरा गरेकी हुन् । पढाइमा सानैदेखि अब्बल उनले पछि चर्चित ‘स्कटहोम स्कुल अफ इकोनोमिक्स’ बाट अर्थशास्त्रमा स्नातकोत्तर गरिन् । त्यहीँबाट उनले विद्यावारिधिको उपाधि हासिल गरिन् । उनले भियनास्थित ‘इन्स्टिच्युट अफ एडभान्स्ड स्टडिज’ र ‘हावार्ड विश्वविद्यालय’ मा समेत अध्ययन गरेकी छन् । उनी माध्यमिक तहको विद्यार्थी छँदै १६ वर्षको उमेरमा ‘सोसल डेमोक्र्याटिक युथ लिग (एसएसयु)’ मा आबद्ध भइन् । पछि उप्पसाला क्षेत्रको ‘एसएसयु’ को अध्यक्षमा निर्वाचित भइन् ।
अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेपछि सन् २०१४ मा भएको आम निर्वाचनमा त्यहाँको सांसदमा विजय भइन् । त्यसपछि उनी तत्कालीन प्रधानमन्त्री स्टेफन लोफ्भेनको मन्त्रिमण्डलमा अर्थमन्त्री भइन् । उनले आफ्नो कार्यकालमा मुलुकलाई आर्थिक क्षेत्रमा अघि बढाउन सफल भइन् । सन् २०१८ मा पनि उनले पुनः अर्थमन्त्री बन्ने सौभाग्य प्राप्त गरिन् । सन् २०२० मा उनी अन्तर्राष्ट्रिय मुद्रा र आर्थिक समिति (आईएमएफसी) को सदस्य बनिन् । पछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ‘बोर्ड अफ गभर्नर्स’को प्राथमिक नीति सल्लाहकार समितिले उनलाई तीन वर्षका लागि समितिको अध्यक्षका रूपमा चयन गर्यो । एकदशक भन्दा बढी समयपछि त्यो जिम्मेवारी पाउने उनी प्रथम युरोपेली र पद पाउने प्रथम महिला बनिन् । गत अगस्तमा प्रधानमन्त्री स्टेफनले ‘सोसल डेमोक्र्याटिक पार्टी’ बाट नोभेम्बरमा राजीनामा दिने घोषणा गरेपछि उनी नै दलको नेता बन्ने निश्चित भएको थियो । गत २९ सेप्टेम्बरमा पार्टीको मनोनयन समितिले उनलाई दलको नेताका रूपमा घोषणा गर्यो । दलको नेताकै हैसियतमा उनी स्वीडेनकी प्रथम प्रधानमन्त्री बनिन् । उनको व्यक्तिगत जीवनको कुरा गर्दा उनले सन् १९९७ मा ‘स्टकहोम स्कुल अफ इकोनोमिक्स’मा अर्थशास्त्रका प्राध्यापक रिचर्ड फ्राइबर्गसँग विवाह गरिन् । उनका दुई सन्तान छन् । उनी र उनका पतिलाई भ्रमण गर्ने चाहना भएकाले लामो ंपर्वतारोहणमा जान रुचाउँछन् ।
(एपी र रोयटर्सको सहयोगमा)