Successfully Copied

आशा छर्दै संगी 

‘मैले धेरै पछि गणेश भगवान्लाई सम्झिएँ, महामारीमा कसैलाई केही नहोस् भनेर कामना गरिरहें ।’

संकटका बेला धेरैले भगवान्लाई सम्झन्छन् । ‘रक्षा गर्छन्’ भन्ने विश्वासका साथ धेरैले भगवान्लाई पुकार्ने गरेका हुन् । चित्रकार संगी श्रेष्ठ पनि यसबाट अछूतो रहिनन् । कोरोना महामारीले देश त्रसित थियो । धेरैको ज्यान लिइसकेको थियो । महामारीमा उनले गणेश भगवान् सम्झिइन् र संकटको अन्त्यको कामना गरिन् । तिनै गणेश भगवान्लाई उनले क्यानभासमा उतारिन् । उनले गणेशलाई धेरै पछि क्यानभासमा उतारेकी हुन् । महामारीको समय कसैलाई केही नहोस् भन्नका लागि उनले चित्रमा उतारेको बताइन् । उनले भनिन्, ‘मैले धेरै पछि गणेश भगवान्लाई सम्झिएँ, महामारीमा कसैलाई केही नहोस् भनेर कामना गरिरहें ।’

महामारीको समयमा भोलि के होला भन्ने त्रास सबैमा थियो । घरभित्रै थुनिएर बस्नुपर्ने अवस्था थियो । संगीलाई भने यो संकट टरेर जान्छ भन्ने विश्वास थियो । यो समयमा उनले थुप्रै अनुभूतिहरू पनि गरिन् । बन्दाबन्दी समयमा उनले फरक अनुभव बटुलिन् । उनले क्यानभासमा आशाका रंगहरू र मनका अनुभूति पोखिरहिन् । तिनै मनका संवेगहरूलाई उनले असोज पहिलो साता ललितपुरस्थित ‘एम क्यु’ ग्यालरीमा ‘संवेग’ शीर्षकमा एकल प्रदर्शन गरिन् । सामूहिक रूपमा थुप्रै प्रदर्शन गरेकी उनको यो दोस्रो प्रदर्शन हो । यसअघि उनले सन् २००९ मा एकल प्रदर्शन गरेकी थिइन् । उनका चित्रहरूमा ज्यामितीय आकृतिहरू रहेका छन् । त्यसमा उनको मनोभावलाई रंगमार्फत नियाल्न सकिन्छ । उनले रंगलाई प्रतिबिम्ब बनाएर आफूभित्रको अनुभूतिलाई कलामार्फत अभिव्यक्त गर्ने गर्छिन् । अमूर्त शैलीका आकृति क्यानभासमा उतार्ने संगीले एक्रेलिक, मिक्स मिडिया माध्यम प्रयोग गरेकी छन् । केही पेन्टिङहरूमा उनले कलम र मसी पनि प्रयोग गरेकी छन् । उनले भनिन्, ‘पेन्टिङहरूमा एक्रेलिक मिक्स मिडियादेखि कलम र मसी प्रयोग गरेकी छु ।’ 

उनले चित्रहरूमा नारी आकृतिलाई पनि उतारेकी छन् । उनका चित्रहरूमा कालो र नीलो रंग बढी छ । पेन्टिङप्रति उनको रुचि सानैदेखिको हो । ड्रइङ गर्न चित्र कोर्न पाउँदा उनी एकदमै रमाउँथिन् । पेन्टिङको रहरले नै उनलाई ललितकला क्याम्पससम्म पुर्‍यायो । पढाइका क्रममा उनी आफ्नो पेन्टिङ सीपलाई थप निखार्दै लगिन् । उनले पेन्टिङ बनाउँदै विभिन्न लेख पनि लेखिरहिन् । आनै शैलीमा क्यानभासमा रमाउने उनी अब नयाँ सिरिज लिएर आउने योजनामा छिन् ।

 Image