४४ वर्षअघि काठमाडौंको सम्पन्न परिवारकी ‘ज्योति’ अँध्यारो रातमा सिन्धुपाल्चोकको विकट गाउँ पिस्करका डाँडाकाँडा छिचोल्दै थिइन् ।कहिल्यै दुःखको छायाँ नपरेको उनको जीवनमा अब दःुखैदुःखको पहाड चढ्नुपर्ने पक्का थियो र पनि उनी खुसी थिइन् । आफ्ना पाइला लरखराउँदा जूनको उज्यालोमाउनी ‘श्याम’ का सेता र सुत्थर खुट्टामा टेक्थिन् र दह्रो गरी उभिन्थिन् । यी दुईको यात्रा यसरी सुरु भएको थियो । तत्कालीन भूमिगत नाम ‘ज्योति’ अर्थात् अष्टलक्ष्मी शाक्य (७०) र ‘श्याम’ अमृतकुमार बोहरा (७४) को जीवन अहिले उत्तरार्धमा पुगिसकेको छ । ४३ वर्षअघि एक–अर्काले सँगै चालेका पाइला र समाएका हात अहिलेसम्म उत्तिकै दह्रा छन् ।
झोंछेका सुन व्यापारी तीर्थबहादुर तथा कुलमाया शाक्यका तीन छोरा र सात छोरीमध्येकी एक थिइन्–अष्ट । अष्टले कान्ति ईश्वरीबाट एसएलसी दिएपछि वसन्तपुरमा चिनियाँ भाषा पढ्न थालिन् । त्यहाँको शिक्षाले उनको दिमागभित्र सामन्ती शासन, निरंकुशतन्त्र, शोषण र विभेदविरुद्ध चेत हालिदियो । ‘गरिबका दुःख–पीडा त छँदैथिए, हाम्रो धनी परिवारभित्रै विभेद पहिचान गर्न सक्ने भएँ । अगाडि बच्चा च्यापेर हलचोकदेखि रातो माटोको भारी बोकेर ल्याउने महिलालाई चामल होइन, कनिका दिइन्थ्यो । धोबीले धोएका लुगा सफा, धोबी फोहोर भनेर उसलाई अछूत मानिन्थ्यो । प्रा.वि. शिक्षिका म, हाम्रै घरमा छोरीलाई साँझ पर्नुअघि घर पुग्नैपर्ने नियम थियो । मैले धेरै पटक कुटाइ खाएकी छु ।’ उतिबेलै विभेद, उत्पीडन पहिचान गरेकी अष्ट भन्छिन्–‘ममा यस्ता विभेदविरुद्ध आवाज उठाउने मात्रै होइन लड्नैपर्छ भन्ने चेतना पस्यो । अनि पूर्णरूपमा भूमिगत भएर देश र जनताको सेवा गर्ने निष्कर्षमा पुगें । ०३६ मा विवाहकालागि सुपारी लिइसकेको भएपनि म घर छोडेर भूमिगत जीवन बिताउन भागें ।’
उता सिन्धुपाल्चोकको विकट गाउँ पिस्करमा जन्मिएका अमृतकुमार बोहरा पनि सामन्ती शासन, शोषण, विभेद र थिचोमिचो देख्दै हुर्किए । स्व. उत्तरध्वज तथा इन्द्रकुमारी बोहराका तीन छोरी र चार छोरामध्येका अमृतले दोस्रो विश्वयुद्ध लडेका आफ्ना बुवा र मामा जनकबहादुर खड्काले बनाएको स्कुलबाट प्राथमिक शिक्षा पूरा गरेका थिए । ‘पुर्ख्यौली शोषण, अत्याचार, भेदभावले ममा दश–बाह्र वर्षकै उमेरमा चरम विद्रोहको आगो बोलिसकेको थियो । भूमि सुधार लागू भएको अवस्थामा एकजना कर्मचारी हामीकहाँ आए । विभेद विरोधी उनले मलाई टाठो देखेर यो बाबुलाई पढाउनुपर्छ भनेकाले उनकै सहयोगमा चौतारा आएँ ।’ अमृत भन्छन्–‘चौतारामा एक राजनीतिज्ञकी श्रीमती शशिकला शर्माले मार्क्सवादी शिक्षा दिएपछि त म पूरै राजनीतिक सचेतकका रूपमा उदाउन थालें । वि.सं. २०२२ सालमा ठूलो संघर्ष गरेर नेकपा, पुष्पलाल समूहको सदस्यता प्राप्त गरें । त्यसबेला पार्टी सदस्यता लिन त्यति सहज थिएन ।’ २०२६ मा निर्वाचित जिल्ला कमिटी सदस्य भएका अमृत ०३२ सालमा कोअर्डिनेसन केन्द्रमार्फत झापा आन्दोलनमा जोडिए । आफूले ०३३–०३४ तिर सक्रिय युवा टिममा सुलोचना मानन्धर, गोपाल शाक्यलगायत अष्टलक्ष्मीहरूको सहभागिता छ भनेर सुनेको स्मरण गर्छन् । त्यति मात्रै नभएर नेपाल–चीन मैत्री संघमा आक्कल–झुक्कल अष्टलाई देखेजस्तो लागेको पनि उनले बताए । उनी ०३६ मा नेकपा मालेको केन्द्रीय सदस्य भए । त्यतिबेलाउनी मध्योत्तर क्षेत्रीय कमिटी इञ्चार्ज थिए ।
त्यतिबेलापहिलोपटक ललितपुरका सुशील र कमला अमात्यको घरमा अष्ट–अमृतको भेटघाट भएको थियो । त्यो भेट अष्ट भूमिगत हुने भनेपछि परामर्शका लागि थियो । लामो छलफलपछि अष्टको निर्णय मान्य भयो । अष्टलाई अमृतको गाउँ पिस्कर पठाउने निर्णय भयो । माधव पौडेल, अमृत बोहरा र अष्टलक्ष्मी रातारात पिस्कर पुगे । त्यही रात कहिल्यै दुःख नदेखेकी अष्टले अमृतको खुट्टामा टेक्दै कठिन बाटोमा पाइला चालेकी हुन् । त्यसयताउनीहरूले निकै हन्डर खाएका थिए । त्यसपछि अष्ट पिस्करमै बसेर शिक्षा र चेतनामूलक कार्यक्रममार्फत पार्टीप्रति समर्पित भइन् भने अमृत आफ्ना क्षेत्रहरूतिर व्यस्त हुन थाले । त्यति सुखसयलमा हुर्केबढेकी अष्टले अभावै–अभावमा भोकभोकै देश र जनताप्रति गरेको संघर्षले अमृतको मन पग्लियो भने अमृतको पार्टीप्रतिको निःस्वार्थ भावनाले अष्टमा पनि कोमलभाव पैदा भयो । अन्ततः पार्टीकै केही वरिष्ठ नेताहरूको उपस्थितिमा ०३७ मा उनीहरूको क्रान्तिकारी विवाह भयो ।
विवाहपछि पनि उनीहरू सँगै बस्न पाएनन् । राष्ट्रिय सभा सदस्य, बाग्मती प्रदेशको मुख्यमन्त्री तथा दुई पटक प्रतिनिधिसभामार्फत समाजकल्याण र उद्योगमन्त्री समेत भइसकेकी अष्ट भन्छिन्–‘एक्लै हुँदा त ठीकै थियो, छोराछोरी भएपछि असाध्यै दुःख भयो । इलाम र झापामा दुई पटक जेल पर्दा छोराछोरीको बिजोग भयो । छोराछोरीले मलाई दिदी र बालाई मोटे काका भन्थे । श्रीमान् र म सँगै बस्न नपाउँदा स्थिति अत्यन्तै कठिन र भयावह थियो ।’
०५४–०५५ मै स्थानीय विकास मन्त्री भइसकेका अमृत भन्छन्–‘उतिबेला मान्छे भेटे पक्रेर ल्याऊ, नभेटे टाउको ल्याऊ भन्ने वारेन्ट थियो । श्रीमती, छोराछोरी, आफू कता हो कता ? यस्तो कठिन अवस्थामा पनि एक–अर्काप्रतिको अटल विश्वास र बलियो प्रतिबद्धतामा हामी अडियौं ।’ नयाँ व्यवस्थाका लागि जीवन अर्पण गरेका अष्ट–अमृतको दाम्पत्यलाई निःस्वार्थ भावना र दह्रो प्रतिबद्धताले बाँधेर राखेको प्रस्ट हुन्छ । ०४६ को प्रजातन्त्रपछि बल्ल परिवार एकसाथ बस्न पाएको उनीहरू बताउँछन् । अष्ट भन्छिन्–‘दाम्पत्य मात्रै नभएर समाज र देश विकासका लागि पनि वैचारिक पक्षले काम गरेको हुन्छ । विचारको आधारमा एकले अर्कालाई समर्पित भएर सहयोग गर्ने भनेरै हामीले सँगै जीवन जिउने प्रतिबद्धता गरेका थियौं । हामी साथी, सहयोद्धा हौं । कहिल्यै श्रीमान् र श्रीमती जस्तो मात्रै रहेनौं ।’ व्यवहारका हिसाबले अष्ट–अमृतकहाँ ज्वाईं नै आए पनि आफूले खाएका भाँडा आफैं माझ्छन् । श्रम नै धर्म हो भन्ने मार्क्सवादी शिक्षा र सिद्धान्तले सिकाएझैं सम्भव भएसम्म आफ्ना हरेक काम आफैं गर्ने प्राक्टिस उनीहरूको घरभित्र छ । एक छोरा र एक छोरीको सामान्य ढंगले विवाह गरेका उनीहरूले भोजमा खर्च हुने पैसा पिस्करको स्कुलको अक्षयकोषमा जम्मा गरिदिए । त्यही पैसाले अहिले थुप्रै गरिब तथा अनाथ, असहायले पढ्न पाएका छन् । अष्ट–अमृतका छोरा विश्वास शिक्षण पेसामा छन् भने छोरी आस्था विवाहपछि विदेशमा बसोबास गर्छिन् ।
। अमृत भन्छन्–वैवाहिक सम्बन्ध मैत्रीपूर्ण बनाउन समानताको हिसाबले व्यवहार र सम्मान गर्नसक्नुपर्छ । सामाजिक कल्याणका लागि पनि त्यहाँबाट लगानी हुनुपर्छ । आपसी समझदारी, विश्वास, निःस्वार्थीपन, सहमति त आधारभूत कुरा भइहाले ।’ ४४ वर्षे सहयात्रालाई पछाडि फर्केर हेर्दा यी दुवैलाई आफ्नो जीवन कुनै चलचित्रको कथाभन्दा फरक लाग्दैन । अन्त्यमा दुवैले एकैस्वरमा भने–‘साधारण जीवन रोजेका हामीले आजको दिनसम्म हातेमालोमै असल कर्म गर्यौं । पद–प्रतिष्ठामै पुगे पनि स्वच्छ छवि कायम गर्न एक–अर्काको उत्तिकै साथ र सहयोग रह्यो । बाँकी जीवन पनि यसरी नै देश र जनताको सेवामै बिताउने इच्छा छ ।’
अष्टको नजरमा अमृत
बलियो पक्ष: विचारयुक्त तथा असाध्यै इमान्दार ।
कमजोरी: अन्तर्मुखी ।
आकर्षक पक्ष : उहाँको व्यवहार र त्यागी भावना ।
मनपर्ने नेता : पुष्पलाल र मदन भण्डारी ।
कस्ता श्रीमान् :असल र जिम्मेवार ।
के भएको हेर्ने रहर छ ? : जनप्रिय, लोकप्रिय, निःस्वार्थी र असल मानव ।
अमृतको नजरमा अष्ट
बलियोपक्ष : पार्टीगत र व्यक्तिगत दुवैमा अत्यन्तै समर्पित ।
कमजोरी : झनक्क रिसाइहाल्ने, आलोचना कम सुन्ने ।
आकर्षक पक्ष : निःस्वार्थी ।
सुधार्नुपर्ने : जिद्दीपन कम गर्दा राम्रो ।
कस्ती श्रीमती :असल जीवनसाथी ।
के भएको हेर्ने इच्छा छ ? : यसरी नै समर्पित भएर जनताको सेवामा जुटिरहेको ।