Successfully Copied

टी ट्रेन्ड

ब्ल्याक टी’ र ‘ह्वाइट टी’ मा मात्रै सीमित चिया अहिले विभिन्न भेराइटीमा पाइन्छ ।

कतै चिया अड्डा त कतै चिया घर, कतै चिया पसल त कतै मट्का चिया नामले पसलहरू छ्यापछ्याप्ती भेटिन्छन् । चिया पिउने पारखीहरू दिनहुँ बढ्दै गएको यसले पुष्टि हुन्छ । के गल्ली, के रेस्टुराँ जहाँ पनि चियाका पारखीहरू पुगेकै देखिन्छन् । सामान्य भेटघाट होस् वा गफगाफ चियाबाटै सुरुवात हुन्छ । कुनै समय बूढापाका मात्रै चिया पसलमा देखिन्थे । अहिले युवापुस्तामा पनि चियाको क्रेज बढ्दो छ ।

चियाको स्वादमा युवापुस्ता रमाउन थालेपछि उद्यमीहरू पनि यसमा भेराइटी खोज्न थालेका छन् । ‘ब्ल्याक टी’ र ‘ह्वाइट टी’ मा मात्रै सीमित चिया अहिले विभिन्न भेराइटीमा पाइन्छ । ‘ग्रीन टी’, ‘मसला टी’, ‘मट्का टी’, ‘बेम्बो टी’ नयाँ भेराइटीहरू हुन् । नेपाल टी एसोसिएसनका कोषाध्यक्ष चिरञ्जीवी दाहालका अनुसार चिया पिउनेको संख्या बढ्दै जानुको कारण चियामा नयाँपन खोज्ने चासो हुन थालेको छ । उनी भन्छन्,‘चियामा पनि कसरी विभिन्न भेराइटी पस्कन सकिन्छ भन्ने कुरामा अध्ययन भइरहन्छ । त्यसको परिणाम फरक र नौला किसिमका चिया बन्नु हो ।’

व्यस्त दैनिकीसँगै थकान मेट्नका लागि पनि चिया पिउनेको संख्या बढ्दै गएको उनको भनाइ छ । उनी भन्छन्, ‘कामको व्यस्तताका बीच थकाइ मेट्न चिया उपयोगी हुने गरेको छ ।’ उनका अनुसार नेपालमा विशेष गरी सीटीसी र अर्थोडक्स चिया उत्पादन हुन्छ । अर्थोडक्स चियामा भने विभिन्न भेराइटी हुन्छन् । यसअन्तर्गत ह्वाइट, गोल्डेन टी जस्ता भेराइटी रहेका छन् । ग्राहकहरूले आफ्नो स्वास्थ्यलाई ख्याल राख्दै चियाको छनोट गर्छन् ।

पछिल्लो समय चिया पिउँदा मानिसले आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्न थालेका छन् । चिया पिउँदा स्वास्थ्यलाई कस्तो असर पर्छ भनेर चियापारखीहरूले विशेष ध्यान दिने गरेको चिरञ्जीवीले बताए । उनका अनुसार चियाबारे वैज्ञानिक कारण खोजेर पनि चिया पिउने भेटिन्छन् ।

उपत्यकामा दुई वर्षयता चिया पसल सञ्चालन गर्दै आएका गणेशदेव पाण्डेले चियापारखीहरूका लागि रेस्टुराँदेखि पसलको सजावटले पनि असर गर्ने बताउँछन् । उनले चियाकै आउटलेट पनि खोलेका छन् । उनको चिया पसलमा ७० प्रतिशत युवा आउने गरेका छन् । युवापुस्ताले चियामा भेराइटी खोज्ने भएकाले उनको चिया पसलमा थुप्र्रै भेराइटी पाइन्छ । उनका अनुसार पसलमा करिब १०० भेराइटीका चिया पाउन सकिन्छ । पछिल्लो समय चियापारखीहरू महँगो रेस्टुराँमा भन्दा पनि राम्रो रेस्टुराँमा रमाउन थालेको उनी बताउँछन् । गणेशदेवले रेस्टुराँ आकर्षण बनाउन खेर जाने वस्तुबाटै डिजाइन गरेका छन् । रेस्टुराँमा चियापारखीहरूका गफगाफमा रमाउने वातावरण निर्माण गरेको उनको भनाइछ । रेस्टुराँको आकर्षण डिजाइनका कारण पनि ग्राहकहरू आउने गरेको उनले बताए । विभिन्न भेराइटीमा उपलब्ध चियाको मूल्य ४० देखि आठ सय रुपैयाँसम्म छ ।

चियापारखीहरू‘बेम्बो टी’मा पनि रमाउन थालेका छन् । बाँसको ढुंग्रोमा पकाएर बाँसकै कपमा पस्किने चिया युवापुस्तामाझ लोकप्रिय हुँदै गएको छ । ‘बेम्बो टी’ अन्यको तुलनामा स्वादमा फरक रहेको सञ्चालक मिलन रेग्मी बताउँछन् । उनी भन्छन्, ‘बेम्बो टीमा अन्य टीको भन्दा फरक स्वाद आउँछ ।’ बेम्बो टीमा आगोमा पकाउने गरिन्छ । बेम्बो कपले गर्दा पनि ग्राहकको संख्या दिनहुँ बढ्दै गएको उनी बताउँछन् । अन्य भन्दा केही फरक देखिने भएकाले पनि यो चियाका पारखीहरू बढ्दै गएका छन् । केही नयाँ अनुभव बटुल्न र ग्राहकलाई पनि नयाँ स्वाद दिनका लागि ‘बेम्बो टी’को अवधारणा विकास गरिएको उनी बताउँछन् ।

पछिल्लो समय माटाका भाँडामा चिया खाने चलन बढ्दै गएको छ । जसलाई मट्का चियाले चिनिन्छ । मट्का चियासँगै कटिङ चियाको स्वाद पनि लिन सकिन्छ । काठमाडौं सिभिल मलस्थित मट्का चिया पसलकी सञ्चालिका रविना शाही भन्छिन्, ‘मट्का चियाका पारखीहरू पनि बढ्दै गएका छन् ।’ मट्का चियाका लागि अधिकांश युवा नै आउने गरेको उनी बताउँछिन् । मट्का चिया काजु, बदाम, चिया मसला एवं दूध हालेर बनाइन्छ । माटाको भाँडा देख्दा आकर्षण हुने र मट्का चियाको स्वाद मीठो हुने भएकाले पनि मट्का चियाको स्वाद लिन हरकोही आउने गरेको उनी बताउँछिन् । ‘मट्का टी’सँगै ‘मसला टी’ को माग पनि बढ्दै गएको छ । ‘मसला टी’ र ‘मट्का टी’को डिमान्ड उस्तै हुने उनी बताउँछिन् ।

चियाको सुरुवात

नेपालमा चियाको सुरुवात राणाकालदेखि नै भएको पाइन्छ । सन् १८७३ मा जंगबहादुर राणा ज्वाईं कर्नेल गजराज सिंह थापासँग दार्जीलिङ पुगेका थिए । त्यहाँका चिया बगान र चियाको स्वादबाट प्रभावित भई इलाममा दुईवटा बगैंचा सञ्चालनमा ल्याए । नेपालमा पहिलो पटक अर्थोडक्स चिया र त्यसपछि सीटीसी चिया उत्पादन हुन थालेको हो । त्यसपछि भने नेपालमा चियाको संस्कृति बढ्दै गएको पाइन्छ । चियाको संस्कृति विकसित हुँदै जाँदा चियामा भेराइटीहरूपनि थपिँदै गएका छन् ।

‘मट्का चिया’ सँगै ‘तन्दुरी चिया’ले पनि चर्चा पाउन थालेको छ । काठमाडौं अत्तरखेलमा सञ्चालित ‘तन्दुर मट्का चिया’ मा ‘तन्दुरी चिया’को स्वाद लिन सकिन्छ । यसअन्तर्गत माटाको भाँडा भट्टीमा सेकाएर माटाकै भाँडामा राखेर ग्राहकहरूलाई चिया पस्किने गरेको सञ्चालक सविन थापा मगर बताउँछन् । उनका अनुसार भट्टीलाई तन्दुर भनिने भएकाले त्यसमा चियाका भाँडा सेकिने हुँदा यस प्रकारको चियालाई ‘तन्दुरी टी’ भनिएको हो । चिया कपको साइजअनुसार यसको मूल्य दुई सयदेखि छ सय रुपैयाँसम्म पर्ने उनी बताउँछन् । उनका अनुसार चियामा विभिन्न प्रकारका मसला हालिन्छ । त्यसैले यसको स्वाद फरक हुन्छ ।

शरद सुब्बा, चिया उद्यमी

नेपालमा चियाको संस्कार कस्तो छ ?

नेपालमा चिया खाने संस्कार दिनहुँ बढ्दो छ । नेपालमा बढी प्रयोगमा आउने सीटीसी र अर्थोडक्स चिया हो । अर्थोडक्समा विभिन्न भेराइटिज हुन्छन् । सीटीसीको तुलनामा अर्थोडक्स चिया कम खपत हुन्छ । नेपालीहरू अर्थोडक्स चियाबारे त्यति जानकार छैनन् र चियाको गुणस्तरमा पनि त्यति ध्यान दिँदैनन् ।

अर्गानिक चिया कसरी परीक्षण हुन्छ ?

हामीले अर्थोडक्स अर्गानिक चिया उत्पादन गरिरहेका छौं । चिया अर्गानिक वा मिसावटयुक्त छ भनेर नेपालमा परीक्षण हुँदैन । हाम्रो चिया परीक्षणका लागि बर्सेनि जर्मनी नागरिकहरू आउँछन् । नेपालको चियाको गुणस्तर जर्मनीले परीक्षण गर्छन् ।

ठाउँअनुसार चियाको गुणस्तरमा फरक पर्छ ?

अवश्य पनि । चियाको स्वादमा ठाउँले धेरै फरक पार्छ । सीटीसी चिया तराईमा उत्पादन हुन्छ भने अर्थोडक्स प्रायः हिमाली भेगमा उत्पादन हुन्छ । एउटै चियाको पनि उत्पादन हुने ठाउँअनुसार त्यसको स्वादमा फरक पर्छ । चिया जति हाइटमा उत्पादन भयो त्यति राम्रो मानिन्छ ।

 Image