रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।

‘आमा बन्न सक्ने महिलाको क्षमतासँग म नतमस्तक छु’ नारी शक्तिबारे बोल्दै मोडल तथा नायिका मलिका महत भन्छिन्, ‘त्यो शक्तिलाई वास्तविक सम्मान गर्न अझै पनि सोचमा परिवर्तन ल्याउनु जरुरी छ ।’ आधा दर्जन म्युजिक भिडियो र दुई ठूला पर्दाको चलचित्रमा अभिनय गरिसकेकी २१ वर्षीया मलिका कक्षा चारमा पढ्दादेखि नै नाटक खेल्थिन् । त्यतिबेलादेखि नै हो उनलाई आफूभित्र अभिनय कला र क्षमता रहेको महसुस भएको । रियलस्टेट व्यवसायी बुवा र ज्योतिषी आमाकी छोरी हुन् मलिका । काभ्रे खोपासीबाट काठमाडौं झरेको उनको परिवारमा छोरीलाई विशेष ग्राह्यता दिएर हुर्काइएको भन्ने उनलाई लाग्छ । मलिका अहिले ‘एस इन्स्टिच्युसन अफ म्यानेजमेन्ट’ मा स्नातक चौथो वर्षमा अध्ययनरत छिन् । सत्र वर्षको उमेरमा स्वप्न सुमनको ‘म तिम्रो’ गीतबाट ‘डेब्यु’ गरेकी उनको पछिल्लो समय सर्वाधिक हिट गीत ‘फूलबुट्टे सारी’ को धेरै भर्सन बनिसकेको छ । लकडाउनपछि तीन वटा म्युजिक भिडियोमा काम गरिसकेकी मलिका भन्छिन्, ‘हरेक काममा बेस्ट दिने प्रयास गर्छु । काम र मेरा दर्शकप्रति सदा बफादार रहने प्रयास गर्छु । आजसम्म परिणाम पनि राम्रै पाइरहेकी छु ।’ अरूले हेर्दा ओहो कति धेरै गरेको भन्ने देखिए पनि आफूले अझ धेरै गर्न बाँकी नै छ भन्ने मलिकालाई लाग्छ । उनलाई आफू अझै करियरमा नजमिसकेको भान हुन्छ । भन्छिन्–‘सायद म महत्वाकांक्षी भएर होला गरिरहँदा पनि नपुगेको महसुस हुन्छ । अझ थुप्रै गर्न बाँकी रहेजस्तो लाग्छ ।’
मलिकालाई फूलबुट्टे सारीले हिट बनायो कि फूलबुट्टे सारीले मलिकालाई ?
दुवैले दुवैलाई । दुवैसँग दुवैको केमेस्ट्री मिलेर हिट भएको हो ।
सर्वाधिक चर्चामा आएको गीतमा मोडलिङ गर्दा कस्तो महसुस भइरहेको छ ?
म असाध्यै खुसी छु । यो गीतमा जति परिश्रम गर्यो सम्पूर्ण टिमको परिणाम सही निस्कियो । सोचेभन्दा बढी सफलता र माया मिलेकोमा अत्यन्तै हर्षित र गौरवान्वित छु ।
तपाईंको रोजाइमा मोडलिङ कि मुभी ?
दुवैप्रति मेरो रूचि र माया समान छ ।
बाटोमा हिँड्दा कत्तिले त्यही गीतले जिस्क्याउलान्, कत्तिको अप्ठ्यारो महसुस हुन्छ ?
जिस्क्याउने भन्दा पनि कदर गर्नुहुन्छ, त्यसले म मा धेरै हौसला बढेको छ ।
फिक्सनको कुन पात्र भेट्न पाए एकदमै एक्साइटेड हुनुहुन्थ्यो, ऊसँग के गर्नुहुन्थ्यो ?
नारुटोसँग भेटेर रामयन खान जान्थें ।
मुभी र मोडलिङबाहेक के गर्नुहुन्छ ?
पढाइ मात्रै हो । फुर्सदको समयमा मुभी र एनेमे हेर्छु ।
कसको अभिनय मनपर्छ ?
सौगात मल्ल र मेनुका प्रधानको ।
कोसँग काम गर्दा सहज हुन्छ ?
नयाँ–नयाँ आर्टिस्टहरूसँग काम गरिरहेकी हुन्छु । मलाई त सबैसँग काम गर्दा सजिलो लाग्छ । आजसम्म कुनै अप्ठ्यारो झेल्नु परेको छैन ।
नारी हुनुको नाताले सबैभन्दा गर्व के कुरामा लाग्छ ?
नारीका धेरै रूप र शक्ति छन् । प्रकृतिप्रदत्त आमा बन्ने शक्तिप्रति नारी हुनुमा गर्व गर्छु ।
नारीका लागि अबको आवश्यकता के हो ?
अधिकार नभएको होइन, छ तर ग्रामीण क्षेत्रलाई हेर्ने हो भने अझै पनि महिला प्रताडित छन् । अधिकारविहीन छन् । हिंसापीडित छन् । महिलाप्रतिको सोचमा परिवर्तन ल्याउनु जरुरी छ ।
युवाहरूलाई अघि बढ्न के कुराको जरुरत देख्नुहुन्छ ?
युवाहरू मानसिक रूपमा बलियो हुनुपर्छ । यो उमेर भनेको छिट्टै प्रभावित हुने उमेर हो । आफूले आफूलाई आवश्यक रूपमा कन्ट्रोल गर्दै प्रयास पनि गर्दै जाने हो । नयाँ सीप सिक्दै आफूमा क्षमता अभिवृद्धि गराउँदै लैजाने हो । धैर्य अर्को मुख्य अस्त्र हो । हामीसँग प्रशस्त समय छ । सजिलो बाटो मात्रै खोज्नु हुँदैन । आफ्नै देशमा परिश्रम गरी पसिना बगाउन सके आफू मात्रै होइन देश बन्छ ।
फ्यानहरूका लागि एउटा म्यासेज ?
अरूलाई हेरेर कहिल्यै आफूलाई कम नआँक्नुहोस् । अरुलाई उत्तम र दक्ष देखिन्छ तर त्यो व्यक्ति स्वयंलाई पनि धेरै कुरा नपुगिरहेको हुन्छ । तसर्थ जहिले पनि आफू आफैसँग मात्रै तुलना गरौं, हिम्मत बढ्छ, अघि बढिन्छ ।
अबको लक्ष्य तथा योजना ?
पढाइ र कामलाई सँगै अघि लिएर जाने ।
तस्बिर : महेश प्रधान
पहिरन : स्टायलक्स अटायर लाजिम्पाट
ज्वेलरी : जिभा स्टुडियो नक्साल भगवती बहाल
हेयर तथा मेकअप : पूनम श्रेष्ठ, पूनम ब्युटी एकेडेमी नयाँबानेश्वर
लोकेसन : वञ्जला मस्कभा, नक्साल