Successfully Copied

‘नेपालको जैविक विविधताका बारेमा प्रचार गर्छु’

‘नेपालमा हरेक कुरा छ । प्राकृतिक रूपमा हामी असाध्यै धनी छौं । यो कुरा विश्वसामु चिनाउन र महसुस गराउन जरुरी छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा म यही मुद्दालाई विशेष रूपमा प्राथमिकतामा राख्नेछु ।’

काठमाडौं क्षेत्रपाटीकी २४ वर्षीया सुप्रिया श्रेष्ठले यो वर्षको ‘मिस नेपाल अर्थ–२०२०’ जित्न सफल भएकी छिन् । उनी अब वातावरण संरक्षणमा केन्द्रित रही अन्तर्राष्ट्रिय रूपमा आयोजना हुने ‘मिस नेपाल अर्थ–२०२०’ मा भाग लिने छिन् । सेन्टजेभियर्स कलेजबाट ‘सोसल वर्क’ मा स्नातक सुप्रिया इमेज च्यानलको कार्यक्रम प्रस्तोता हुन् । ‘मिस नेपाल’ मा सहभागी भइसकेपछि समयको महत्व बुझेर आफूलाई थप परिपक्व महसुस गरेको उनी बताउँछिन् । सुप्रिया भन्छिन्, ‘दुःख वा खुसी जे भए पनि त्यसैमा अड्किएर बसिरहनु हुँदैन ।’ मिडियामा काम गरेकाले वाककलामा पोख्त उनलाई क्याटवाकमा भने निक्कै सकस भएको अनुभव सेयर गर्दै भनिन्, ‘हामी जस्ताका लागि मिस नेपाल एउटा उपयुक्त र गतिलो प्लेटफर्म हो । आफूमा भएको क्षमता प्रस्तुत गर्ने राम्रो अवसर हो । विजेता नै नभए पनि यहाँंबाट जीवनोपयोगी धेरै कुरा सिक्न सकिन्छ ।’ गन्तव्यमा विश्वास गर्दै सोहीअनुरूप कदम चाल्ने क्षमता राख्ने सुप्रियाले नेपालजस्तो जैविक विविधता र उपयुक्त वातावरण भएको मुलुक यो ब्रह्माण्डमा कमै भएको बताइन् । उनले भनिन्, ‘नेपालमा हरेक कुरा छ । प्राकृतिक रूपमा हामी असाध्यै धनी छौं । यो कुरा विश्वसामु चिनाउन र महसुस गराउन जरुरी छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा म यही मुद्दालाई विशेष रूपमा प्राथमिकतामा राख्नेछु ।’ हरेक कुरा दिमागले गर्छ भन्ने बुझाइ राख्ने सुप्रिया अहिले आफूलाई मानसिक रूपमा बलियो बनाउँदै अन्तर्राष्ट्रिय स्पर्धाका लागि मानसिक तयारीमा लागेको बताइन् । ‘मिस नेपाल अर्थ–२०२०’ मा सुप्रियाको मुख्य विषय नेपालको जैविक विविधतालाई विश्वसमक्ष चिनाउने प्रयासअन्तर्गतका कृयाकलाप हुनेछन् ।

 Image