प्राचीन मिथिला क्षेत्र राजनैतिक र बौद्धिक विविध क्रियाकलापका लागि प्रसिद्ध थियो । राजा जनकको दरबारमा विद्वान, ऋषिमुनीहरूको जमघट र शास्त्रार्थ भइरहन्थ्यो । जसमध्ये याज्ञबक्ल्य, गार्गी, वादविवाद र अष्टावक्रमुनीको ब्रम्हज्ञान, मोक्ष र वैराग्य बारेको प्रवचन धेरै नै चर्चित छ । जनकपुरकी राजकुमारी सीता र अयोध्याका राजकुमार रामको विवाह भएको दिन हो, विवाहपञ्चमी । त्रेता युगका राम र सीताको विवाहसम्बन्धी घटनालाई आज पनि जनकपुरमा जीवन्त रूपमा स्मरण गर्ने प्रचलन छ । विवाहपञ्चमीमा जनकपुरमा ठूलो मेला लाग्छ । सयौं जोडी यो ऐतिहासिक दिनको स्मरणमा विवाह बन्धनमा बाँधिन्छन् ।
प्राचीन समयमा विदेह (मिथिला) को नामबाट चर्चित आजको जनकपुर क्षेत्रको वैभवबारे रामायणमा विस्तृत वर्णन छ । सरयु नदीको किनारमा अवस्थित अयोध्याको राजवंश, नगरको सौन्दर्य र व्यवस्थाबारे पनि रामायणमा चर्चा गरिएको पाइन्छ । सीता स्वयंवरको वर्णन पनि त्यसमा छ । शिरध्वज जनकका छोरीहरू सीता र उर्मिलाको विवाह क्रमशः राम र लक्ष्मणसँग तथा कुशध्वज जनकका छोरीहरू माण्डवी र श्रुतकीर्तिको विवाह क्रमशः भरत र शत्रुध्नसँग सम्पन्न भएको विषय पनि रामायणमा छ ।
दशरथले नान्दीमुखी श्राद्धको कार्य सम्पन्न गरे पश्चात विवाहको कार्य आरम्भ गरियो । त्यसपछि चारजना राजकुमारको चारैजना राजकुमारीसँग पाणिग्रहणको कार्य एकै दिन भयो । त्यसताका राजा जनकले वशिष्ठ र विश्वामित्रलाई प्रसन्न हुँदै भनेका थिए, ‘अब दुई दिन फाल्गुनी नामक नक्षत्रयुक्त छ । पहिलो दिन पूर्वफाल्गुनी र दोस्रो दिन उत्तरफाल्गुनी पर्छ । देवता प्रजापति भग तथा अर्पमा भएको बेला वैवाहिक कार्य गर्नु साह्रै उत्तम मानिन्छ ।’ त्यसैअनुरूप मर्यादा पुरुषोत्तम राम, उनका भाइहरूसँग सीता र बहिनीहरूको विवाह सम्पन्न भएको थियो । राजा जनकको मिथिला नगरी, अयोध्याका राजा दशरथसँगको सम्बन्ध मिथिलाका चारजना राजकुमारीको अयोध्याका चारजना राजकुमारसँगको सम्बन्धबारे साहित्यिक र धार्मिक ग्रन्थहरूमा विशेष रूपमा वर्णन छ ।
तीर्थस्थलका रूपमा जनकपुरको प्रसिद्धि प्राचीन कालदेखि आजसम्म उत्तिकै छ । ८० वटा पोखरी, थुप्रै कुटी र १०८ मठ, विशिष्ठ शैलीका मन्दिरले गर्दा जनकपुर नगरीको सुन्दरता भव्य थियो र छ । जनकपुरमा चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत पूजा, साउन–भदौमा झुला, फागुनमा जनकपुर परिक्रमा गरेर उत्सव मनाइन्छ । राम–सीताको विवाह भएको दिनको स्मरण गर्दै विवाह पञ्चमीका दिनमा जनकपुरमा निर्माण गरिएको नयाँ विवाह मण्डपमा भारत र नेपालका सयौं जोडी विवाह बन्धनमा बाँधिन्छन् ।
जनकपुर क्षेत्रका विभिन्न ठाउँहरू राम–सीता विवाहको स्मरणसँग जोडिएका छन् । धनुषाधाममा रामले भगवान् शिवको धनुषमा ताँदो चढाएको, मटिहानीमा विवाहको मण्डप बनाउन माटो खनेको, अयोध्याबाट दशरथसँगै आएका जन्ती बाह्रबिघामा बसेको आदि । यी घटनाको स्मरणमा त्यहाँ समारोह भव्यतापूर्वक दोहोर्याइन्छ । जनकपुरको वैभव हो, विवाह पञ्चमी । यस पर्वका लागि दुई/चार महिनाअघि नै टोल, सागर, पोखरी मठमन्दिरमा सरसफाइ, रंगरोगन र जीर्णोद्धारको कार्य सुरु गरिन्छ ।
सीता–रामको विवाहका विभिन्न रस्ममध्ये तिलक उत्सव एक हो । राम मन्दिरको प्राङ्गणमा तिलक उत्सव सम्पन्न गरिन्छ । जानकी मन्दिरको प्राङ्गणमा सजाएर राखिएका दुई/तीन सय वटा किस्ती, टोकरीका मिठाईं जनकपुरमा पठाइन्छ । विवाह पञ्चमीकै दिन राम मन्दिरबाट दुई/तीन सय फलफूल र मिठाईंका टोकरी जानकी मन्दिर पठाइन्छ । विवाह पञ्चमीका बेला जानकी मन्दिर, राममन्दिर र बाह्रबिघामा मेला भर्न आउने भक्तहरूको घुइँचो हुन्छ । फूलले सिंगारिएको श्रीराम र सीताको डोलीलाई जनकपुर बजार परिक्रमा गराइन्छ । डोली रामानन्द चोक, पिडारी चोक, मिल्स एरिया, जनक चोक घुमाएर रामजानकी मन्दिर चौघेराभित्र लगेर बिसाइन्छ । जानकी मन्दिरका महन्तले राजा जनकको भूमिका र राम मन्दिरका महन्तले दशरथको भूमिका जीवन्त ढंगले अभिनय गरी मनाइन्छ ।
जनकपुरमा विवाह पञ्चमीको सम्पूर्ण रस्मले रामायणमा वर्णन सीता–रामको विवाहको स्मरण गराउँछ । नगर दर्शन, राम–सीताको फूलबारी लीला, धनुष यज्ञ, तिलक, मटकोर, विवाह उत्सव र रामकलेवा सबै रस्म भक्तिपूर्वक सम्पन्न गरिन्छ । सप्ताहव्यापी विवाहपञ्चमीको कार्यक्रम रोचक र हेर्न लायक हुन्छ । विवाहपञ्चमीको पहिलो दिन, जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभङ्ग, चौथो दिन मटकोर, पाँचौं दिन तिलक उत्सव र छैठौं दिन वैवाहिक कार्यक्रम तथा सातौं दिन रामकलेवा विधिसाथ सम्पन्न गरिन्छ ।
रामजानकी महोत्सवका लागि अयोध्याबाट आएका जन्ती र साधुसन्तलाई जानकी महलमा स्वागत गर्ने चलन छ । अघिल्लो वर्ष रामको जन्तीमा आएका साधुसन्त महोत्तरीको मटिहानीमै बास बसेका थिए । बिहान तामझामसँग ठूलो संख्यामा उपस्थित भएका जन्तीले जलेश्वरनाथको दर्शन गरेर जलेश्वरबाट जनकपुरधाम प्रस्थान गरेका थिए । विवाहपछि सम्पन्न गर्ने विधिलाई रामकलेवा विधि भनिन्छ । जन्तीलाई बिदा गर्दा प्रचलित परम्पराअनुसार उपहार दिने चलन छ । जनकपुरमा रामायणजस्तै सीतायाण ग्रन्थ पाठ गर्ने चलन छ । राम र सीताको विवाह, १४ वर्ष वनवास, राम–रावणयुद्ध, वनमा निर्वासित सीताको बिलौनाबारे विस्तृत रूपमा रामायण र सीतायाण ग्रन्थमा उल्लेख छ ।