Successfully Copied

एकै ठाउँमा बस्नेको पनि जीवन कहाँ स्थिर छ र ?

पन्ध्र वर्षसम्म यो अजीव सहरमा गरेको दुःखको फल पाएजस्तो भएको छ । पत्रकारिताको सिलसिलामा गरेका सबै सास्ती भुलेकी छु । अभूतपूर्व सुख र शान्ति मैले पुस्तकको कभर फेसबुकमा पोस्ट गरेदेखि आजसम्म गरिरहेकी छु ।

सरला गौतम, लेखक

डुमेरो कस्तो पुस्तक हो ?

आफ्नो जीविका र सपनाका लागि मानिसले थातथलो छोड्ने क्रम जारी छ । उल्लेख्य रूपमा केटीहरू पनि अगाडि आए । आफ्नो सपना र जिम्मेवारी बोकेर देश–विदेश धाए । पराक्रम गरे । आफ्नो निजी जीवनमा, प्रेम र सम्बन्धमा आएको फराकिलो आयाम पनि सम्हालेर अघि बढ्दै छन् । नौला–नौला चुनौती र उस्तै अवसरसँग साक्षात्कार भइरहेका छन् । यस्तै आम पात्रमध्ये एक पात्र जसको सपना कलाकारिता छ । डुमेरो यही हो ।

पात्र छनोट कसरी गर्नुभयो ?

करिश्मा मानन्धर र दीपाश्री निरौलाको जीवनको उतारचढाव पत्रिकामा पढ्दै गर्दा मन भित्रैदेखि हल्लियो । पत्रिकाका लागि हिरोइनबारे खोजी रिपोर्ट नै तयार गरें । अझै उनीहरूको आत्माको नजिक पुगें । पेसा मात्र फरक । संघर्ष र खुसीका इन्द्रेणी आफूसँग मिल्दोजुल्दो पनि लाग्यो र कलाकार पात्र छानें ।

डुमेरो चर्चामा हुँदा कस्तो अनुभव भइरहेको छ ?

पन्ध्र वर्षसम्म यो अजीव सहरमा गरेको दुःखको फल पाएजस्तो भएको छ । पत्रकारिताको सिलसिलामा गरेका सबै सास्ती भुलेकी छु । अभूतपूर्व सुख र शान्ति मैले पुस्तकको कभर फेसबुकमा पोस्ट गरेदेखि आजसम्म गरिरहेकी छु ।

आफू डुलन्ते भएकाले किताबको नाम डुमेरो राख्नुभएको हो ?

म डुलेर काम गरेकै हो । एकै ठाउँमा बस्नेको पनि जीवन कहाँ स्थिर छ र ? शब्दसँग बच्चादेखिको याद अनि जीवनको चरित्रसँग मिलेकाले यो नाम रोजें ।

घुमेको मध्ये मन परेको स्थान ?

मुक्तिनाथ, रारा र बडिमालिका ।

पत्रकारिता सहज कि लेखन ?

पत्रकारिता मेरो नसा–नसामा छ । मेरो पत्रकारितामै लेखन समाहित थियो । मेरो शरीरभित्र हावा र पानी भएर बहन्छन् पत्रकारिता र लेखन ।

नेपाली महिलाको अबको लक्ष्य के हुनुपर्छ ?

प्रकृतिको कानुनसँग सहकार्य गरेर जाने महिलाको गुण घर, समाज र देशको नीति र कानुनमा समावेश गर्ने लक्ष्य हुनुपर्छ । त्यस्तै, समानता र प्रेम फक्रिएको, प्रकृतिको रक्षा गरिएको समाज र राज्य व्यवस्था हाम्रो लक्ष्य हुनुपर्छ ।

कौसी उद्यानप्रतिको मोह कसरी बढ्यो ?

पहिलादेखि नै बिरुवाप्रेमी हुँ । बिरुवामा काम गर्दाको बेलाको सुख–शान्तिको कारण पनि अझै मोह प्रगाढ भयो ।

मन पर्ने बिरुवा ?

बाँसघारी । आहा ।

टिकटकप्रति कसरी आकर्षित हुनुभयो ?

कतिले टिकटकलाई हल्का मान्दा रै’छन् । अक्षरमा अभिव्यक्त गर्न जानेको तप्काले आफूलाई अरूभन्दा विशिष्ट र खास मान्ने भ्रमपूर्ण मानकसँग झोंक चलेर नि टिकटक हान्दिन्छु । आफूलाई पढ्ने सबैखाले शुभचिन्तकसँग समदूरीमा बस्न पनि टिकटक गर्छु ।

मनपर्ने सेलिब्रेटी (जुनसुकै क्षेत्रको) ?

भारतीय वातावरणविद् बन्दना सिभा मन पर्छ । उनीबाट अथेन्टिक बीउहरू जोगाउने र प्रकृतिलाई माया गर्ने सवालमा प्रेरणा लिइरहन्छु ।

 Image