Successfully Copied

बालश्रम रोजगार होइन

बाल श्रमिकहरू विश्वमा सबैभन्दा बढी शोषित र पीडित श्रमिक वर्गमा पर्छन् । एसियामा मात्र १० लाख बालबालिका यौन शोषणको शिकार हुन्छन् जहाँ विश्वकै ६० प्रतिशतभन्दा बढी बालश्रमिकहरू छन् ।

मानिसले वर्षौंदेखि कति लज्जास्पद काम गरिरहेको छ भने बालबालिकालाई ‘बालश्रम’ गराएर रोजगारको उपनाम दिइरहेका छन् । यो क्रम अहिले विश्वमा यति धेरै बढेको छ कि बाल अधिकारको जतिसुकै वकालत गरे पनि यसले उनीहरूलाई झनै शोषणतिर धकेली रहेको छ । एउटा परिपक्क वा वयस्क मानिसले स्वतन्त्र भएर जिम्मेवारीपूर्ण काम गर्छ भने त्यसलाई श्रम मान्न मिल्छ । तर, बालबालिकालाई उनीहरूले पाउनु पर्ने अधिकारबाट विहीन गरेर रोजगारी तिर धकेलिन्छ भने त्यसलाई बालश्रम नै भन्नुपर्छ । यसलाई अधिकार माथिको शोषण र उनीहरूको स्वतन्त्रतामाथि बुझक्कड समाजले गरेको हनन् भन्दा फरक नपर्ला ।

कुनै पनि बालबालिका श्रममा इच्छाले होइन बाध्यता र अभावलाई पूरा गर्न लाग्नुपर्ने देखिएको छ । उनीहरूको उमेरले नै उनीहरूलाई श्रम गरेर बाँच भन्दैन । आफ्नो परिचयसमेत राम्ररी खुलाउन नसक्ने उमेरका बालबालिकाको काँधमा कामको जिम्मेवारी थोपरिएको हुन्छ । बालबालिकालाई क्षमताभन्दा पनि बढी असर पुर्‍याउने कामहरू गराएर उनीहरूको अधिकार हनन गरिएको छ । त्यसलाई बालश्रम भनिन्छ । यसले उनीहरूको मानसिक, समाजिक र शारीरिक रूपमा असर पारिरहेको हुन्छ ।

हिंसा, शोषण, दुव्र्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांकअनुसार विश्वमा ५ देखि १७ वर्ष उमेरका करिब २५ करोड बालबालिका बाल मजदुरका रूपमा छन् । विश्वभरका सबै प्रकारका आर्थिक सामाजिक पृष्ठभूमि उमेर समूह धर्म तथा संस्कृतिका लाखौं बालबालिका हिंसा, शोषणबाट पीडित छन् । यसैगरी दक्षिण एसियाको अन्य देशमा जस्तै नेपालमा पनि यो बालश्रमको नाममा सामाजिक अन्याय, आर्थिक शोषण र शारीरिक कष्टबाट बालबालिकामा गुज्रिराखेका छन् ।

बाल श्रमिकहरू विश्वमा सबैभन्दा बढी शोषित र पीडित श्रमिक वर्गमा पर्छन् । एसियामा मात्र १० लाख बालबालिका यौन शोषणको शिकार हुन्छन् जहाँ विश्वकै ६० प्रतिशतभन्दा बढी बालश्रमिकहरू छन् । बालबालिकालाई उद्योगहरू, होटल, घरायसी काम, उद्योग, सडक ब्यापार, भरिया मजदुरजस्ता विभिन्न ठाउँहरूमा संलग्न गराई राखेको हुन्छन् । साहारा दिने नाममा उनीहरूलाई श्रममा लगाइन्छ र उनीहरूलाई साहरा दिने नाममा श्रममा बेचिन बाध्य पारिएको हुन्छ ।

बालबालिकालाई काममा लगाउादा पारिश्रमिक धेरै दिनु नपर्ने र आफ्नो व्यवसाय घाटामा जाने सम्भावना कम देखेर पनि बालश्रमिकको संख्या बढेको हो । सेभ द चिल्ड्रेन र युनिसेफद्वारा २०७७ जेठ १९ गते सार्वजनिक गरेको एउटा नयाँ तथ्यांकअनुसार कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको आर्थिक संकटले सन् २०२० को अन्त्यसम्ममा थप ८ करोड ६० लाख बालबालिका पारिवारिक गरिवीमा धकेलिन सक्छ भन्ने देखाएको छ ।

तत्काल आम्दानी गुमाउनु भनेको परिवारमा खाद्यान्न लगायतका आधारभूत आवश्यक्ता पूरा गर्ने क्षमता कम हुनुका साथै बालविवाह, हिंसा, शोषण र दुव्र्यवहारको जोखिम बढ्नु नै हो । कोभिड–१९ महामारीका कारण अचानक आइपर्ने गरिबीले बालबालिकालाई अत्यन्तै प्रभावमा पार्ने देखिन्छ ।  बालबालिकामा अल्पकालिन भोकमारी, कुपोषण समेतको उच्च जोखिममा छन् । जसले गर्दा उनीहरूलाई जिन्दगी भरिनै प्रभाव पर्न सक्छ ।

बाल श्रमशोषणको अन्त्य नहुनु भनेको बाल अधिकारको हल्ला गर्नु मात्र हो । त्यसैले शोषणको न्यूनीकरण गर्न बाल अधिकारलाई सम्मान र संरक्षण गर्नुपर्छ ।

 Image