Successfully Copied

शान्ति खोज्दै  तपोवन

ओशोको सन्देश एवं तपोवनको वातावरणले जीवन सरल एवं सहज बनाउने शोभिता सिंखडा बताउँछिन् । उनी ओशो तपोवनमा ६ महिना निरन्तर ध्यान गरेर बसेकी छिन् ।

ओशोको सन्देश एवं तपोवनको वातावरणले जीवन सरल एवं सहज बनाउने शोभिता सिंखडा बताउँछिन् । उनी ओशो तपोवनमा ६ महिना निरन्तर ध्यान गरेर बसेकी छिन् ।

विपश्यना केन्द्रमा हरेक अंग्रेजी महिनाको १ देखि १४ तारिखमा महिनाको दुईपटक १० दिनको शिविर सञ्चालन गरिन्छ । विपश्यना जानेहरूका लागि केन्द्रका निश्चित नियम तोकिएको छ । विपश्यनामा ध्यान गर्न चाहनेहरूका लागि काठमाडौंमा रहनेहरूले कान्तिपथस्थित ज्योति भवनस्थित कार्यालयमा फारम भर्नुपर्ने हुन्छ । 

मानिसहरूको दैनिकी निरन्तर व्यस्त हुँदै गएको छ । भीडभाड र कोकाहलबाट मुक्त रहन ओशो तपोवन, विपश्यना ध्यान केन्द्र आदि मानिसहरूका आकर्षण बन्दै गएका छन् । केही समय मानिस एक्लै रमाउने र सबै कुराबाट टाढा भएर बस्नुपर्ने यी ठाउँमा स्वदेशीसँगै विदेशीहरू पनि आउने क्रम बढ्दै गएको छ । ओशो र विपश्यनामा ध्यान गर्न जानेहरूलाई त्यति सहज भने छैन । शिविरभित्र बसेपछि कडा नियम पालना गर्नुपर्छ । बिहानै ४ बजे उठ्नुपर्ने, एक्लै ध्यान गर्नुपर्ने, मोबाइलका साथै अरुसँगको कुराकानी बन्द गर्नुपर्ने, शाकाहारी भोजन मात्र खानुपर्ने, कुनै पनि गरगहना लगाउन र सिंगार गर्न नपाइने, सफा र स्वच्छ भएर बस्नुपर्ने, महिलाहरूले पछ्यौराको प्रयोग अनिवार्य गर्नुपर्ने, पुरुषहरूले हाफ पाइन्ट लगाउन नहुनेजस्ता थुप्रै नियम पालना गर्नुपर्छ ।

यस्ता नियम पालना गर्दै करिब २० वर्षअघि नै संगीतकार राम कार्की ओशो तपोवनको शिविरमा पुगे । ओशोका बारेका धेरै कुरा सुनेका कार्कीलाई त्यो विषयप्रति चासो भएकाले पनि उनी शिविरमा सहभागी हुन पुगेका थिए । संगीत साधनामार्फत ध्यान गराउने हुनाले उनले त्यसले आफ्नो कामलाई थप सहज बनाएको महसुस गरेका छन् । कार्कीले त्यही समयदेखि निरन्तर ओशो ज्ञानलाई पछ्याइरहेका छन् । ओशो तपोवनमा बसेर आएपछि उनको दैनिक जीवनमा र सोचमा धेरै परिवर्तन आएको छ । कार्कीले अहिले आफ्नो परिवारलाई नै ओशोमय बनाएका छन् । अहिले उनको परिवारमा नियमित ध्यानका साथै संगीत साधना पनि हुन्छ । ओशोको ध्यानले मानिसलाई सरल जीवनशैली जिउन सिकाउने संगीतकार कार्की बताउँछन् । 

ओशोको सन्देश एवं तपोवनको वातावरणले जीवन सरल एवं सहज बनाउने शोभिता सिंखडा बताउँछिन् । उनी ओशो तपोवनमा ६ महिना निरन्तर ध्यान गरेर बसेकी छिन् । सानै उमेरदेखि ओशोका बारेमा सुन्दै आएकी सिंखडा त्यहाँ बसेर पुस्तक लेख्छिन् । तपोवनमा बस्न थालेपछि आफूलाई खुसी मिल्नुका साथै जीवनमा सकारात्मक तरिकाले अघि बढ्ने सोच आएको उनी बताउँछिन् । 

विपश्यनाकाबारेमा धेरै कुरा सुनेर १० दिनको शिविरमा पुगे कीर्तिपुरका प्रभात पोखरेल । करिब दुई वर्षअघि विपश्यना केन्द्र पुगेका उनी त्यहाँको ध्यान आफ्ना लागि धेरै प्रभावकारी साबित भएको बताउँछन् । बाहिरको दिक्कलाग्दो वातावरणबाट शान्त वातावरणमा रमाउन पाउँदा आनन्द लागेको उनको तर्क छ । विपश्यनाको नियम पालना गर्न सुरुका केही दिन निकै कठिन भयो । ‘सबै कुरा एक्कासि बन्देज हुँदा सहज हुँदैन । पोखरेल भन्छन्–‘तर त्यहाँको वातावरणमा रमाउन थालेपछि छुट्टै आनन्द प्राप्त हुन्छ ।’ विपश्यनाको ध्यानले उनलाई स्वस्थ जीवन जिउन सिकाउनुका साथै मानसिक तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समेत ज्ञान दिएको छ । 

ओशो तपोवन 

काठमाडौंको बालाजु चोकबाट करिब छ किलोमिटर जंगलैजंगलको बाटो लागेपछि नागार्जुन हिलमा ‘ओशो तपोवन’ छ । करिब ३० वर्षअघि स्वामी आनन्द अरुणद्वारा स्थापित ओशो तपोवनको मुख्य उद्देश्य ध्यानमार्फत मनलाई शान्त राख्नु हो । तपोवनमा गएर बस्नेहरूले निकै कडा नियम पालना गर्नुपर्ने हुन्छ । 

तपोवनसँग आध्यात्मिक रूपले जोडिएका पोखरा तथा लुम्बिनीका ओशो तपोवनमा पनि यस्तै साधना विधि प्रयोग गरिन्छ । ओशो तपोवनमा आउने नेपालीहरू मात्र होइन विदेशीहरूको चाप पनि उस्तै छ । तपोवनमा प्रत्येक वर्ष करिब १८ सय विदेशी आउने बताइन्छ । 

ओशो प्याकेज 

निश्चित रकम तिरी ओशो तपोवनमा जानेहरूले निश्चित नियम पालन गर्नुपर्छ । त्यहाँ पारिवारिक रूपमा वा एकल रूपमा बस्न सकिन्छ । शिविरमा आवश्यकताअनुसार बस्न सकिन्छ । दिन–रात जतिबेलासम्म पनि बस्न सक्ने व्यवस्था ओशो तपोवनले मिलाएको छ । राति बस्नेहरूका लागि तपोवनले प्रतिव्यक्ति प्रतिरात ९ सय रूपैंयाँ शुल्क तोकेको छ । उक्त प्याकेजभित्र ड्रेस, सादा खाना तथा ओशोका केही पुस्तक उपलब्ध हुन्छन् । एक दिन बस्नेहरूका लागि भने १ सय रुपैंयाँको टिकट मात्र काटे पुग्ने ओशो केन्द्रले बताएको छ । 

विपश्यना केन्द्र

विपश्यना अत्यन्तै पुरानो साधना विधि हो । यो साधना विधि करिब २६०० वर्षपूर्व नै गौतम बुद्धको समयमा उत्पत्ति भएको बताइन्छ । नेपालमा भने १९८१ मा विपश्यना शिविर सञ्चालनमा आएको हो । काठमाडौंमा आनन्दकुटी विहारमा सत्यनारयण गोयन्काञ्जुले यसलाई सञ्चालनमा ल्याएका हुन् । यो विधिको मुख्य उद्देश्य शारीरिक एवं मानसिक रोगहरूबाट मुक्त हुनु हो । यो ध्यान एउटा कलाका रूपमा विकसित हुँदै गएको छ । अहिले नेपालमा पनि यसको क्रेज बढ्दै गएको छ । ओशो प्याकेजजस्तै विपश्यनामा पनि उस्तै खालका नियम लागू हुने गरेका छन् । अहिले नेपालमा विपश्यना ध्यान केन्द्रहरू बिस्तार हुँदै गएको अवस्था छ । पोखरा, चितवन, सुर्खेत, इलाम, सोलुखुम्बु आदि ८ ठाउँमा विपश्यना ध्यान केन्द्र सञ्चालन छन् ।

विपश्यना प्याकेज 

विपश्यना केन्द्रमा हरेक अंग्रेजी महिनाको १ देखि १४ तारिखमा महिनाको दुईपटक १० दिनको शिविर सञ्चालन गरिन्छ । विपश्यना जानेहरूका लागि केन्द्रका निश्चित नियम तोकिएको छ । विपश्यनामा ध्यान गर्न चाहनेहरूका लागि काठमाडौंमा रहनेहरूले कान्तिपथस्थित ज्योति भवनस्थित कार्यालयमा फारम भर्नुपर्ने हुन्छ । फारम भर्न शुल्क तिर्नुपर्दैन । विपश्यना केन्द्रले एकपटकमा २ सय ५० जनालाई ध्यान गराउँछ । विश्वभरका विपश्यना केन्द्रहरू स्वेच्छिक दानबाट सञ्चालन हुन्छन् । विपश्यनामा हरेक उमेर समूहका मानिस जान सक्छन् । यहाँ ८ वर्षदेखिका बालबालिकाहरूका लागि पनि विशेष शिविरको व्यस्स्था रहेको केन्द्रले जानकारी दिएको छ । विपश्यना ध्यान केन्द्रले बिदाको अवसर पारेर बालबालिकाहरूका लागि पनि शिविरको आयोजना गर्दै आएको छ । 

 Image