संविधानले नै हरेक क्षेत्रमा ३३ प्रतिशत महिला नेतृत्वको कुरा सुनिश्चित गरिदिएको छ । सोहीअनुरूप गत स्थानीय निर्वाचनले नेपालका स्थानीय निकायमा महिला जनप्रतिनिधिको संख्या ह्वात्तै बढायो । मुलुक संघीयतामा गैसकेको अवस्थामा स्थानीय निकायको शक्ति केन्द्रीय सरकारसरहको भैसकेको अवस्था छ । स्थानीय निकायका महिलाको उपस्थितिपछिका उपलब्धि तथा परिवर्तनका विषयमा यसपटकको नारी बहस ।
कान्तिका सेजुवाल
मेयर, चन्दननाथ नगरपालिका जुम्ला
स्थानीय निकायमा महिलाको उपस्थितिले संविधानमा उल्लेख भएअनुसार महिलाको पहुँच वृद्धि गरेको छ । महिला प्रमुख भएका ठाउँमा सहज र सरल रूपमा भेटघाट गर्न सक्ने, मूल मुद्दामा मात्र केन्द्रित रहने, अनावश्यक गफगाफमा समय नखर्चिने र सामाजिक रूपान्तरण तथा विकासका कुरामा महिला सहज रूपमा प्रस्तुत हुने हुँदा त्यसको प्रभाव विकास निर्माणमा पनि पर्ने गरेको छ । हामी महिला–पुरुष भनेर विभेद गर्दैनौं र समान व्यवहारमा खरो उत्रिरहेका छौं । असल शासनको कुरा गर्दा स्थानीय निकायमा महिलाको उपस्थितिले समाजमा शुसासन, अनुशासन तथा भ्रष्टाचार कम भएको छ । हामीले देशभरिकै स्थानीय तहमा मास्टर प्लान बनाउन सफल भयौं । अहिले सहर हिजोको तुलनामा दसौं गुणा स्वच्छ भएको छ । ७ सय ५३ स्थानीय तहमा ७ जना महिला मेयर तथा ११ जना गाउँपालिका अध्यक्ष महिला छौं । यी सबैमा परिवर्तन भनेको असल शासन नै हो । महिलाले काम गरेर देखाउँछन्, गफ लगाउँदैनन् भन्ने कुरा साबित गर्दै गएका छौं ।
किशोर थापा,पूर्वाधार विज्ञ तथा पूर्वसचिव
नीतिगत तहमा महिला मूल मुद्दा आएका कारण नीतिगत तहमा महिला मुद्दा परेका छन् । विभिन्न संयन्त्र समिति, कार्यदल गठन हुँदा गाउँपालिका, नगरपालिकाभित्र र बाहिर दुवै स्थानमा महिलाको उपस्थिति बढ्यो, त्यसअघि देखिने पुरुषको अमर्यादित बोली एवं व्यवहारमा धेरै हदसम्म सुधार आएको छ । त्यसैले अहिले समग्र समाज नै संयमित र मर्यादित भएको छ । यसको प्रभाव निर्णायक तहमा प्रत्यक्ष रूपमा परेको देखिन्छ जस्तो कि परिपक्व र व्यावहारिक तथा छिटो निर्णय हुनेलगायत सभ्य समाज । सामान्यतया स्थानीय तहमा खुल्लमखुल्ला भ्रष्टाचारजन्य गतिविधि गर्न कठिन भएको छ र त्यसको एउटा प्रमुख कारण हो महिलाको खबरदारी । यद्यपि अझै पूर्ण परिणाम हेर्न बाँकी छ । पाँच वर्षको कार्यकाल सकिएपछि नै समग्र मूल्यांकन गर्नु राम्रो हुन्छ । सीधै भन्नुपर्दा महिलाले बोलेका कुरा र उनीहरूले अपेक्षा गरेको परिणाम आउन बाँकी नै छ । महिला जनप्रतिनिधिहरू सिक्दैछन् । उनीहरू विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका छन्, जनताले भाषणभन्दा विकास खोजिरहेका छन् । महिलामा अनावश्यक खर्च नगरी बचत गर्ने बानी हुन्छ, जसले भ्रष्टाचार न्यूनीकरण तथा विकासमा ठूलो भूमिका खेल्छ ।
ओमकुमारी महतो
उपमेयर, मध्यविन्दु नगरपालिका, नवलपरासी
प्रत्येक वडामा महिला प्रतिनिधिहरू छन् । महिलाहरू महिला तथा बालबालिकाका विषयमा बढी केन्द्रित छन् । महिलाहरूकै बढी निगरानी गर्ने, कुन उमेरका बालबालिकाले बालविवाह गरेका छन्, कुन समूहका बालबालिका विद्यायल गएका छन् वा छैनन् निगरानी बढेको छ । महिला जनप्रतिनिधिहरू आफ्ना गाउँ, टोल एवं वडाका समस्या लिएर आउँछन् । त्यसलाई हामी सोही ढंगले समाधान गर्छौं । महिला जनप्रतिनिधि नहुँदा सभा, सम्मेलन, कार्यक्रममा महिला उपस्थिति नै हुँदैनथ्यो तर अहिले नगरसभामा महिला जनप्रतिनिधिको उपस्थिति बढेको छ । प्रत्यक्ष रूपमा हामी महिलालाई यो चाहिएको छ भन्ने अवस्था सिर्जना भएको छ अहिले । पुरुष जनप्रतिनिधिले महिलाका आवाज कमै उठाउँथे । अहिले आफैं पद र शक्तिमा भएपछि आफ्ना माग राख्न सक्ने भए । महिला जनप्रतिनिधि भएको ठाउँमा भ्रष्टाचार हुँदैन यसलाई म सुनिश्चित गर्न सक्छु । महिला भएको ठाउँमा उनीहरूले थोपा–थोपा खर्च बचाएर बढी काम गरेका छन् ।
सीता सुन्दास
अध्यक्ष, जिल्ला समन्वय समिति महासंघ नेपाल
पहिलो कुरा त महिलाहरू यति ठूलो संख्यामा निर्वाचित हुनु नै महत्वपूर्ण उपलब्धि हो । नगर तथा गाउँपालिकाहरूमा प्रमुख, उपप्रमुखमध्ये एक महिला हुने नीतिअनुरूप जुन ढंगले काम गर्ने जिम्मेवारी प्राप्त गरेका छन् । स्पष्ट कानुन नबनीसकेको वर्तमान अवस्थामा पनि उनीहरूले गरिरहेको कार्य सम्पादन प्रशंसनीय छ । महिलाहरूले काम गर्न सक्छन् भन्ने बोध भएको छ । महिला, दलित, जनजाति आदि वर्गका विषयमा हिजो सोचिएको थिएन अहिले यी वर्ग अनुकूलका कार्यविधि तय भएका छन् र सोहीअनुरूप काम अघि बढिरहेको छ । अहिले महिलाहरू न्यायिक समितिमा बसेर काम गरिरहेका छन् । त्यसले स्थानीय तहमा न्याय पाएको अनुभूति भएको छ । भ्रष्टाचार तथा अनुशासनहीनता कम भएको छ । समयभित्रै कार्य सम्पन्न गर्ने, समयानुकूल काम गर्ने–गराउने कुरा तीव्र रूपमा अघि बढेको छ । महिला हिंसाविरुद्धका अभियानहरू सञ्चालन भएका छन् । महिला प्रजनन स्वास्थ्यसँग सम्बन्धित सचेतना फैलाउने काम भैरहेका छन् । भौतिक संरचनाको विकाससँगै मानवीय विकासले फड्को मारेको छ । यसले सामाजिक–सांस्कृतिक रूपान्तरणको जग बसाल्ने काम गरेको छ ।
पशुपति चौधरी
वडाध्यक्ष, त्रियुगा नगरपालिका, उदयपुर
स्थानीय तहमा महिलाको नेतृत्वले समाजभित्र लुकेर रहेका महिलाका स–साना समस्यादेखि लिएर निर्णायक तहमा महिलाको पहुँचसम्म जोडदार प्रभाव पारेको छ । पहिले पुरुष प्रतिनिधि हुँदा महिला आफ्ना समस्या एवं गुनासाहरू सुनाउन र त्यसको उपचार खोज्न असक्षम थिए कारण हाम्रो पितृसत्ता नै हो । महिलाले बोल्नु हुँदैन, जान्ने हुनु हुँदैन भन्ने मान्यताका कारण हामी महिला थिचिएका थियौं अब महिला नै स्थानीय निकाय हाँक्ने भएपछि अन्य महिलाको आँट र साहस पनि बढेको छ । महिलाहरू उदाहरण बनेका छन् । आफू पनि महिला भएका कारण उनीहरूले महिलाको पिर–मर्का गहिरिएर बुझ्छन् र सोहीअनुरूप काम–कारबाही अघि बढ्छ । महिला जनप्रतिनिधिले समाजलाई सभ्य, सुसंस्कृत एवं भ्रष्टाचारमुक्त बनाउन तथा विकासका प्रक्रियालाई तीव्र रूपमा अघि बढाउन समय व्यवस्थापनका साथ असल शासनका कुरामा ठूलो परिवर्तन ल्याएका छन् ।