फुल्नु छ
हाँगा–हाँगा नबिर्सेर पात–पात समेटेर रंगको समय फुल्नु छ मलाई

परिवार आफैंमा एउटा संगठन हो । यो संगठनका हरेक सदस्यबीचको बलियो सम्बन्ध, सद्भाव एवं प्रेमले नै परिवार बनेको हुन्छ । पहिले–पहिले परिवारका सदस्यबीच आपसमा समय बिताउने, आफ्ना कुरा साटासाट गर्ने, सँगै बसेर खाने, चाडवाडका बखत सबै सदस्य एकै ठाउँमा जम्मा हुने चलन थियो तर अहिले हरेक व्यक्ति व्यस्त हुने र परिवारका प्रायः युवा सदस्य विदेशमा भएकाले अहिलेको चाडवाड पारिवारिक जमघटका हिसाबले अपूर्ण जस्तो देखिन्छ । हाम्रो हिन्दू धर्मशास्त्रमा चाडपर्वको महत्व र महिमा उच्च छ । यसभित्रका विधि–विधानले अन्ततः परिवारका सदस्यबीच आपसी सद्भाव, भातृत्व र सम्बन्धलाई अझ प्रगाढ बनाउनेतर्फ उन्मुख गर्छ ।
तीजमा परिवारका सबै सदस्य सँगै हुँदा फरक अर्थ राख्ने कुरा बताउँदै व्यवसायी आँचल प्रधान शाक्य भन्छिन्–हिजोआज फरक जाति, संस्कृति र धर्मका बीच वैवाहिक सम्बन्ध जोडिने क्रम बढ्दो छ । तीजमा परिवार र आफन्त एकै स्थानमा जम्मा हुनुले अन्तर सांस्कृतिक सम्मान बढाएको छ ।’ केही वर्षयता शारीरिक उपस्थितिका दृष्टिकोणबाट पर्व भर्च्युअल हुन पुगेका छन् ।
उहिले जस्तो तीज, दसैं, तिहार आदिमा व्यक्ति स्वयं उपस्थित हुनैपर्छ भन्ने मान्यता घट्दै गएको छ । इन्टरनेटद्वारा भिडियोकल र विच्याटमा पर्व सेलिब्रेसनको लहड चलेको छ । पर्वमा परिवारको महत्व के हुन्छ ? परिवार एकत्रित नहुँदा पर्व किन खल्लो हुन्छ ? बैंकर्स निकिता भण्डारी थापा भन्छिन्–परिवारबाटै संस्कार सिकिन्छ, चाडवाडको विधि र महत्व थाहा हुन्छ, त्यसैले पनि पर्वमा परिवारको भिन्न अर्थ हुन्छ ।’ लायन्स क्लियोपेट्राकी सचिव मञ्जु गौतम सिटौला तीजमा परिवारका सदस्यहरूले सिंगार्दा पूर्ण सुन्दरता झल्किने कुरा बताउँदै पारिवारिक जमघटबिनाको तीज खल्लो हुने धारणा व्यक्त गर्छिन् ।
सामाजिक परिवर्तनका क्रममा धेरै कुरा बदलिँदै आएका छन् । पछिल्ला केही वर्षयता अन्तरजातीय तथा अन्तरधार्मिक विवाह बढ्दो छ । आफन्त, इष्टमित्र एवं प्रियजनको सहभागितामा पर्व मनाउँदा अन्तरधर्म तथा संस्कृतिप्रति सम्मान बढ्ने, एक–अर्काको चलनचल्तीलाई सहजै स्वीकार गर्न सक्ने क्षमता बढ्ने र एक–अर्काको रीतिरिवाजमा खुसी हुने ट्रेन्ड बढ्दै गएको ज्योतिष पुष्पकला कौशिक बताउँछिन् । परिवार मिलेर पर्व एवं उत्सव आदि मनाउँदा हर्षोल्लास थपिने, लामो समय भेटघाट नभएका र हालखबर थाहा नपाइएकाहरूको अवस्थाका बारेमा समेत जानकारी हुने हुँदा पर्वमा परिवारको महत्व बेग्लै छ ।
निकिता भण्डारी थापा
शाखा प्रवन्धक, जनता बैंक/ थापाथली
बैंकर्स निकिता भण्डारी थापाका ४ जना देउरानी–जेठानी, सासू, भतिजाभतिजी, नन्द–आमाजू आदिको ठूलो परिवार छ । हरसमय अत्यन्तै व्यस्त हुने उनको परिवारका महिला सदस्यहरू तीज वरिपरिका केही दिन भने सँगै हुन्छन् । उनीहरूले लामो समयदेखि सँगै बसेर हालखबर आदान–प्रदान गर्न पाएका हुँदैनन् । तीज उनीहरूका लागि यस्तो महत्वपूर्ण समय हो जतिबेला उनीहरू आफ्ना लागि मात्र नभएर परिवारका हरेक सदस्यका लागि समय छुट्याउँछन् । ७ दशक पार गरिसकेकी निकिताकी सासू सीता थापा आफ्नो बेलाको तीजलाई बुहारीहरूले अहिले मनाउने तीजसँग तुलना गर्दै भन्छिन्–त्यतिबेला कताको फुर्सदले दर खान पाउनु कहाँ अहिले जस्तो सयौं थरी परिकार ?
देउरानी–जेठानीबीच पनि अहिलेजस्तो साथी एवं दिदीबहिनीको जस्तो व्यवहार हुँदैनथ्यो । अहिले मेरा ४ वटी बुहारीले मिल्ने साथी वा आफ्नै दिदीबहिनीजस्तो गरेर सौभाग्य सामग्री साटेको, आफूसक्दो उपहार आदान–प्रदान गरेको, एकले अर्कालाई खान बोलाएको देख्दा असाध्यै खुसी लाग्छ ।’ निकिताकी माहिली जेठानी भुवन थापा आफूले सासू र जेठानीबाट तीजको संस्कार एवं विधि सिकेको बताउँछिन् । भुवन भन्छिन्–‘त्यसैले पनि उहाँहरू नभए तीज अपूरो लाग्छ ।’ उनकी जेठी र साहिँली जेठानी सवनम र प्रभा आफूहरूले पछि आएका देउरानीलाई आफ्नो घरभित्रको संस्कार, रीतिरिवाज सिकाउन सक्दो सहयोग गरेको र उनीहरूले पनि त्यसलाई सहज रूपमा स्वीकार गरेको बताउँछन् ।
यो परिवारबीच तीजका अवसरमा मुख्यतः चुरापोते, शृंगार सामग्री, लुगाफाटो आदान–प्रदान गर्ने, सँगै तीजको व्रत विधि सम्पन्न गर्ने, पञ्चमी पूजा लाउने र सबैजना जम्मा भएर एकै ठाउँमा दर खाने चलन छ । निकिता तीजलाई अहिलेका व्यस्त महिलाका लागि ‘स्ट्रेस बस्टर’ का रूपमा लिन्छिन् । निकिता भन्छिन्–हामी प्रोफेसनलहरू हरेक समय व्यस्त रहन्छौं । परिवार तथा आफन्तहरूको सन्चोबिसन्चो, को कहाँ पुग्यो, को के गर्दैछ भन्ने कुराको पनि जानकारी हुँदैन । यतिबेला आफूलाई कामबाट टाढा राखी विशुद्ध परिवारको सदस्य मात्र हुन पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ ।’
मुख्यतः परिवार सँगै बसेर चाडपर्व मनाउँदा संस्कार–संस्कृति हस्तान्तरण हुने, परिवारभित्र अनुशासन थपिँदै आपसमा सम्मान बढ्ने, कार्यविभाजन हुने र आफू स्वयं खुसी भइने यो परिवारको बुझाइ छ । अर्को कुरा पर्वका अवसरमा सबै सँगै हुँदा त्यो संस्कारको प्रभाव आफ्ना छोराछोरीमा पर्दै जान्छ र उनीहरू सभ्य एवं अनुशासित हुँदै जान्छन् भन्ने निकितालाई लाग्छ । यो परिवारका बुहारीहरू अहिलेसम्म पानी नपिई व्रत बस्छन् र व्रतको समापन श्रीमान्को खुट्टाको जल खाएर गर्छन् जुन उनीहरूले परिवारबाटै सिकेको संस्कार हो ।