Successfully Copied

घरलाई रिफ्रेस गर्ने कला

अहिले बालबालिकाहरूलाई नै लक्षित गरी किड्सफ्लोरिङसमेत भित्रिएको छ । सफ्ट फ्लोरिङ भएकाले यसमा चोटपटक लाग्दैन । यसरी नयाँ भित्रिएका कुनै पनि इन्टेरियर सामग्री प्रयोग गरेर यो दसैंका लागि घरको कुनै पार्ट रिनोभेट गर्न सकिन्छ ।

वर्षाैंदेखि घरको इन्टेरियर एउटै छ भने पक्कै पनि दिक्क लाग्छ । यद्यपि व्यस्त समय र भागदौडका कारण चाहेर पनि सबैले घरको इन्टेरियरमा नयाँपन दिन सकिरहेका हुँदैनन् । यस्तो स्थितिमा घरको इन्टेरियरलाई केही ट्रिकमार्फत पनि नयाँपन दिन सकिन्छ ।  सजिलैसँग केही कुरामा नयाँ लुक्स दिएर वा ठाउँ परिवर्तन गरेर पनि इन्टेरियरमा नयाँपन दिन सकिन्छ । घरमा भएका सबै सामग्रीलाई व्यवस्थित रूपमा राख्न सक्नु पनि एउटा कला हो । भित्तामा वाल पेपर लगाएर वा फेरेर, कुसन कभरहरू फेरेर, सोफाको कभर परिवर्तन गरेर, सजावटका नयाँ वस्तुहरू राखेर तथा बत्तीहरू फेरेर पनि इन्टेरियरमा नयाँ लुक्स दिन सकिन्छ ।

यस क्रममा धेरै वर्षदेखिको फ्लोरिङ बदल्न सकिन्छ । अहिले फ्लोरिङमा वुडन सेड धेरैको रोजाइमा छ । त्यसमा पनि क्यालियो वुडन जस्तो देखिने हेवी टाट फ्लोरिङ इन्टेरियरको पहिलो च्वाइसमा छ । बजारमा उपलब्ध कलरफुल रग्स वा फ्लावर सेपको कार्पेट तथा ह्यान्डमेड गलैंचा लिभिङ एरिया वा बेडको साइडमा राख्दा पनि आकर्षक देखिन्छ । त्यसमा पनि चाडपर्वको मौकामा लबी तथा बाटोमा डिजाइनर कार्पेटहरू राखेर आफ्नो घरलाई सुन्दर तथा न्यानो बनाउन सकिन्छ । यसरी घरको इन्टेरियरलाई केही समयमै चेन्ज गरी नयाँ लुकमा ढाल्न त्यति गार्‍हो पनि छैन ।

कोठाको रेनोभेसनका लागि फर्निचरहरू फेर्न सकिन्छ । अहिले फर्निचरको बजारमा पोर्टेबल तथा फोल्डेबल फर्निचरहरू मल्टिपल प्रपोचका साथ भित्रिएका छन् । पहिले जस्तो ठूलो स्पेस नओगट्ने हुनाले यी फर्निचरहरू प्रयोग गरी घरलाई सफा, चिटिक्क र स्मार्ट बनाउन सकिन्छ । त्यस्तै बालबालिकाहरूको कोठाका लागि विभिन्न किसिमका बेडकम स्टडी टेबलहरू आइरहेका छन् ।

अहिले बालबालिकाहरूलाई नै लक्षित गरी किड्सफ्लोरिङसमेत भित्रिएको छ । सफ्ट फ्लोरिङ भएकाले यसमा चोटपटक लाग्दैन । यसरी नयाँ भित्रिएका कुनै पनि इन्टेरियर सामग्री प्रयोग गरेर यो दसैंका लागि घरको कुनै पार्ट रिनोभेट गर्न सकिन्छ । व्यस्त जीवनशैलीलाई लक्षित गरी अहिले बजारमा विभिन्न सामग्री भित्रिरहेका छन् । त्यसमा पनि यसपटकको दसैंकै लागि भनेर नेपाली बजारमा भित्रिएको सफा गर्न सजिलो मेन्टेनेन्स कम र एन्टी ब्याक्टेरिया इपक्सी फ्लोरिङमा धेरैको ध्यान तानिएको छ ।

किचेन, डाइनिङ, बेड रुम तथा लिभिङ रुमको कलर फेर्न सकिन्छ । पूरै भित्ताको रंग नफेरी कोठाको एउटा मात्र वाल हाइलाइट हुने गरी वालपेपर लगाउन सकिन्छ । कोठाको फेब्रिक, वाल कलर तथा फर्निचरहरूलाई ध्यानमा राखी म्याच हुने गरी वालपेपर लगाउनु उपयुक्त हुन्छ । भित्तामा रंग मात्र प्रयोग नगरी वाल पेन्ट गराई घरलाई नयाँ लुक दिन सकिन्छ । बालबालिकाहरूको कोठालाई कार्टुन, बार्बी, फ्लावर प्रिन्ट आदिले त्यत्तिकै आकर्षक बनाउँछ । वाल डेकोरका लागि काठको वेस्टबाट निर्मित वालपेपरसमेत प्रयोग गर्न सकिन्छ ।

फिक्स पार्टिसेसन छ भने त्यसलाई हटाएर सिएमसी पार्टिसेसन गर्न सकिन्छ । यसले गर्दा पार्टिसेसन पनि हुन्छ र उज्यालो पनि छेकिँदैन । यो पार्टिसेसनले कोठाको सुन्दरता अझ बढाउँछ । कोठामा एक–दुईवटा इन्डोर प्लान्ट पनि राख्दा घरको स्वरूपमा विल्कुलै नयाँपन आउँछ । घरमा कुनै पुराना ढोका छन् भने रंग लगाई नयाँ बनाउन सकिन्छ । एयर सर्कुलेसनको कमी छ भने लाइट र हावा कसरी आउँछ मेन्टेनेन्समा जानुपर्छ । यसरी घरको आवश्यकता र आफ्नो चाहनाबमोजिम केही कुरालाई हटाएर, थपेर अर्थात् फेरेर घरलाई रिनोभेट गर्न सकिन्छ ।

अहिले पहिले जस्तो टिभी र्‍याकको फेसन छैन । स्लिम टिभीले गर्दा कोठा नै ढाक्ने ठूला र्‍याकहरू घरबाट हट्दै गएका छन् । त्यस्ता र्‍याकले गर्दा कोठा नै भारी महसुस हुन्थे । त्यसको ठाउँमा स्लिम टिभी तथा स्लिम र्‍याकहरू बजारमा उपलब्ध हुन थालेका छन् । स्लिम सामग्रीले कोठालाई ठूलो र खुल्ला देखाउँछ ।

ग्लासलाई काठका साथ मात्र प्रयोग गर्नुपर्छ भन्ने छैन । सिसा स्टोनका पिलर्स वा टेबलमुनि लगाइएको स्टोनका साथ पनि यो सुन्दर देखिन्छ । ग्लासका फर्निचर प्रयोग गरी घरको इन्टेरियर लुक्सलाई भिन्न र सुन्दर बनाई अतिथिको ध्यानाकर्षण गर्न सकिन्छ । यदि केही नयाँ चेन्ज गर्न सकिएन भने ताजा फूल लबी, बैठकका टेबुल डिजाइनर फूलदानीका साथ सजाएर घरलाई नयाँ लुक्स दिन सकिन्छ । अतिथिको ध्यानाकर्षण गर्न ढाकाका कपडा, हस्तकला, माटाका मूर्ति तथा फ्लोरिङ क्यान्डल आदि प्रयोग गर्न सकिन्छ भने तामाको आरीमा पानी एवं फूल सजाउँदा घर धेरै सुन्दर देखिन्छ ।

फेब्रिक चेन्ज गरी नयाँ लुक

अहिले कटनको पर्दा पनि धेरैले मन पराएका छन् । यो मौसममा मरुन टेक्सर मार्बल, वुडन जे भए पनि म्याचिङ हुन्छ । घरलाई क्लासी वा रोयल लुक दिन गोल्ड तथा सिल्भर सेड्सको पर्दा छनोट गर्न सकिन्छ । यसमा हल्का वर्क गराउनु उपयुक्त हुन्छ ।

सिल्क, साटन, भेल्भेटजस्तै साइनी फेब्रिकका पर्दाले कोठालाई ट्रेडिसनल लुक दिन्छन् । भित्ताजस्तै पर्दाका लागि पनि कन्ट्रास्ट कलर छनोट गर्न सकिन्छ । पर्दाका लागि सिल्क, साटन वा कटन फेब्रिक नै छनोट गर्नुपर्छ । यसरी पर्दा चेन्ज गर्न धेरै समय तथा खर्च पनि लाग्दैन भने कोठा पनि नयाँ देखिन्छ । पर्दाजस्तै बढी खर्च नगरे पनि घरलाई नयाँ लुक दिन कुसन कभर परिवर्तन गरिरहनुपर्छ । चाडपर्वमा कुसनका लागि कटनको सट्टा सिल्क, भेल्भेट, टिस्यु, ओर्गेन्जा आदि फेब्रिक छनोट गर्न सकिन्छ । लिभिङ रुममा मिरर वर्क, ब्रोकेड वा सिक्वेन्ड कुसन कभर प्रयोग गर्नुपर्छ । यो मौसममा मरुन, गोल्डेन, कोला ब्राउन आदि कलरका कुसन कभर फेसनमा रहन्छन् ।

 Image