Successfully Copied

छोरीहरूका प्यारा बुवा

बुवालाई धेरैले आफ्नो आदर्श पात्रका रूपमा हेर्ने उदाहरण प्रशस्तै छन् । हरेकजसो घरमा छोरीहरूले बुवाको कुरा मानेको र उनकै बाटोमा हिँड्न चाहेको पाइन्छ । मनोविद् कुमार भारतीका अनुसार छोरीहरूले बुवाको कुरा सही मान्ने मानसिकता आफ्नै आमाले गर्दा पनि सिर्जित हुन्छ ।

भनिन्छ–हरेक छोरीलाई सबैभन्दा प्यारा आफ्ना बुवा हुन्छन् । अधिकांश छोरीहरू बुवाकै पथमा हिँड्न चाहन्छन् अनि उनीहरूलाई नै आफ्ना आइडल पर्सनका रूपमा लिन्छन् । त्यसो भन्दैमा आमा प्यारो नहुने भन्ने होइन । आमाको तुलना अरू कसैसँग गर्न सकिँदैन, आमा अतुलनीय हुन्छिन् । यद्यपि प्राय:जसो छोरीलाई बाल्यावस्थामा आमाहरू जति मनपर्छन्, ठूलो हुँदै गएपछि उनीहरूको झुकाव बुवाप्रति बढ्दै जान्छ ।

बुवालाई धेरैले आफ्नो आदर्श पात्रका रूपमा हेर्ने उदाहरण प्रशस्तै छन् । हरेकजसो घरमा छोरीहरूले बुवाको कुरा मानेको र उनकै बाटोमा हिँड्न चाहेको पाइन्छ । मनोविद् कुमार भारतीका अनुसार छोरीहरूले बुवाको कुरा सही मान्ने मानसिकता आफ्नै आमाले गर्दा पनि सिर्जित हुन्छ । बुवाको व्यस्त जीवन शैली, उनीहरूको निर्णय क्षमता, बोल्ड व्यक्तित्व एवं आमा बढी भान्सामै व्यस्त हुँदा बुवासँग बढी समय हुने कारणले पनि बुवाप्रति उनीहरूको सकारात्मक सोच बढेको हो ।

कवि भीमनिधि तिवारीका दुवै छोरी वेञ्जु शर्मा र मञ्जु काँचुली साहित्यमा समर्पित हुनु, वासुदेव शर्मा लुईंटेलकी छोरी डा. सुषमा आचार्य, गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला, मनुजबाबु मिश्रकी छोरी मञ्जु मिश्र, कलाकार लैनसिंह वाङदेलकी छोरी डिना वाङ्देल, उद्योगपति बसन्त चौधरीकी छोरी मेघा, कवि तथा गायक धर्मराज थापाकी छोरी ज्ञानु राणा, निर्देशक बद्री अधिकारीकी छोरी केकी अधिकारी, राजनीतिज्ञ मानिक लामाकी छोरी नवीना लामा, गायक द्वारिकालाल जोशीकी छोरी लसता जोशी, मनराज नकर्मीकी छोरी असिस्मा नकर्मी, कमलराज रेग्मीकी छोरी सन्ध्या रेग्मी आदि थुपै्र उदाहरण छन् । अंग्रेजी साहित्यमार्फत उदाइरहेकी शिवानी न्यौपाने पनि बुवाकै व्यवसायलाई साथ दिइरहेकी अर्की छोरी हुन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि मोडल विकास शाहकी छोरी हुन् । यीमध्ये कतिले बुवाको उत्तराधीकारीका रूपमा आफूलाई स्थापित गर्ने सोच बनाएका छन् भने कोही बुवालाई आदर्श पात्रका रूपमा लिएर अघि बढिरहेका छन् ।

साथी, गुरु: मेरा बुवा

छोरी सम्पदा मल्ल, लेखक तथा सिनेकर्मी,

बुवा अशेष मल्ल, नाटककार, संस्थापक निर्देशक सर्वनाम

बुवा मेरा लागि बेस्ट फ्रेन्ड, गुरु तथा आइडियल पर्सन हुनुहुन्छ । सानैदेखि बुवा मलाई साथीजस्तै लाग्नुहुन्थ्यो । बुवासँग म हरेक कुरा सेयर गर्न सक्छु । बुवा मेरो पढाइ, रुचि, स्कुल–कलेजका कुरा, प्रेम, विछोड तथा मनका हरेक तरङ्ग खोल्न सक्ने व्यक्ति हुनुहुन्छ । मलाई अझै सम्झना छ उहाँ जति व्यस्त भए पनि बिहान ८ बजे मलाई स्कुल पुर्‍याउनुहुन्थ्यो । अहिले पनि राति १२ बजे उठेर भोक लाग्यो भन्दा खाना बनाइदिन भान्सामा छिर्नुहुन्छ ।

मैले ६ वर्षको उमेरदेखि लेख्न थालेकी हुँ । बुवा वर्कसपहरूमा सिकाउन जानुहुन्थ्यो, तर मलाई कहिल्यै सिकाउनु भएन । एकपटक मैले गुनासो गर्दा उहाँले भन्नुभएको कुरा अझैं सम्झना छ–तिमीले जन्मदेखि नै यो कला लिएर आएकी छौ, खाली लेख, म तिम्रो पछाडि छु । त्यसपछि मैले लेख्न थालें । एक पाना मात्र केही लेख्दा पनि उहाँ खुसी हुनुहुन्थ्यो । मैले पछि भारतमा काम गर्न जाने सोच बताउँदा बुवा खुसी हुनुभयो । भारतमा हरेक २–३ घन्टा बुवासँग फोनमा कुरा हुन्थ्यो । म कुनै स्क्रिप्ट लेख्न बस्दा पनि बुवासँग सेयर गर्थें । अहिले म नेपाल फर्कनुको कारण पनि बुवा नै हो ।

अब म बुवाबाट एकछिन पनि टाढा बस्न चाहन्न । जसरी पृथ्वी थिएटर शशि कपूरकी छोरीले चलाइरहेकी छिन् । म पनि बुवाका हरेक काममा साथ दिन चाहन्छु । मुम्बईमा ६ वर्ष बस्दा त्यहाँका साथीहरू बुवा र मेरो अगाध प्रेम देखेर डाहा गर्थे । अहिले म सर्वनाममा क्रिएटिभ आर्टको कलेज खोल्ने तरखरमा छु । मैले त्यहाँको म्यानेजमेन्ट हेर्दै आएकी छु । अहिले सम्पदाको कथामा अशेष मल्लले निर्देशन गर्दैछन् । बुवाले भनेका दुईवटा कुरा सधैं सम्पदाको मनमा छन् । १. एउटा पुस्ता अर्काे पुस्ताको काँधमा चढेर अघि बढ्नुपर्छ । २. यस्तो काम गर, त्यसमा उत्कृष्ट हौ, पैसाको पछाडि नजाऊ, पैसा आफै तिम्रो पछाडि भाग्छ ।  

                                                                                                क्रमश...

 Image