भारतीय राज्य मध्यप्रदेशमा पर्ने ग्वालियरकी महारानी विजयाराजे सिन्धियाकी नातिनी प्रतिमालाई भगाएर नेपालगन्ज भित्र्याएको मेयर धवलशमशेर राणालाई हिजोअस्तिजस्तै लाग्छ । कति वर्ष भयो, उनलाई झट्ट भन्न गार्है पर्यो ।
नजिकै रहेकी प्रतिमासँग सोधिहाले–‘साँच्चै, कति वर्ष भयो ?’
उनले मुस्कुराउँदै भनिन्–‘३८ वर्ष ।’
धवलशमशेर भर्खर १९ वर्षका थिए, प्रतिमा १८ वर्षकी । उनीहरू एउटै सहर र कलेजमा पनि थिएनन् । धवल दार्जीलिङमा पढ्थे । प्रतिमा कलकत्तामा । एउटा पारिवारिक जमघटमा नजिकिएका उनीहरू अन्तत: घर–परिवारलाई थाहै नदिई ‘भागी विवाह’ गर्ने निर्णयमा पुगे ।
प्रतिमाकी आमा पद्मावतीराजे ग्वालियरकी महारानी विजयाराजे सिन्धिया तथा महाराज जीवाजीरावका पाँच सन्तानमध्ये जेठी छोरी हुन् । उनको विवाह त्रिपुरा महाराज किरिटदेव बर्मनसँग भएको थियो । सन् १९६४ मा पद्मावतीको निधनपछि किरिटदेवले देवशमशेरकी पनातिनी विभुकुमारीसँग विवाह गरे । उनी नाताले धवलशमशेरकी दिदी पर्थिन् । त्यही सम्बन्धले धवल र प्रतिमाको पहिलो भेट ०३६ सालमा लखनउको एउटा पारिवारिक जमघटमा भएको थियो । पहिलो भेटमै उनीहरूले एक–अर्कालाई मन पराए ।
‘लभ एकै नजरमा हुन्छ भन्छन् नि । हो रै’ छ,’ ५७ वर्षीय राणा आफ्नो प्रेम अनुभव सुनाउँछन्–‘पहिलो भेटमै हामीले एक–अर्कालाई मन पराएका थियौं ।’ केही दिनको लखनउ बसाइमै ठेगाना आदान–प्रदान भयो । त्यो अहिलेजस्तो फोन, मोबाइल र इमेल–इन्टरनेटको जमाना थिएन । सन्देश आदान–प्रदानको एउटै माध्यम चिठीपत्र थियो । धवल दार्जीलिङ फर्किए, प्रतिमा कलकत्ता अनि सुरु भयो प्रेमपत्र ।
चिठीपत्रले मात्र भएन । एक–अर्कालाई भेट्न कलकत्ता र दार्जीलिङको यात्रा बाक्लियो । धेरैजसो धवल नै प्रतिमालाई भेट्न कलकत्ता पुग्थे । कहिलेकाहीँ प्रतिमा दार्जीलिङ पुग्थिन् । उनीहरूको माया एक वर्षमै यति झाङ्गियो कि छुट्टाछुट्टै बस्नै नसक्ने भए । ‘कति दार्जीलिङ–कलकत्ता गरिरहने भनेर विवाह गर्ने निधो गर्यौं,’ प्रतिमाले भनिन् ।
माइतीलाई थाहै नदिई उनी धवलको जीवनसाथी बनेर नेपाल आइन् । त्यतिबेला नेपालगन्जको रूप अर्कै थियो । त्रिभुवनचोक र सदरलाइनबाहेक कतै बजार देखिँदैनथ्यो । तैपनि कलकत्ताको रमझम र नेपालगन्जको सुनसानबीच आफूले कुनै तुलना नगरेको प्रतिमा बताउँछिन् । राणा भन्छिन्–‘मैले अरू केही देखिनँ । कतै–कुनै कमी महसुस गरिन । सबै प्रेममय लागे, किनभने मसँग धवल थिए ।’
अल्लारे उमेरमा घरजम गर्न आएकी प्रतिमाले यहाँ कुनै समस्या भोग्नु परेन । माइती रिसाए पनि घरवाला खुसी थिए । त्यसैले उनले राम्रै पारिवारिक वातावरण पाइन् । ठूलो परिवार थियो । पारिवारिक भेटघाट र पिकनिक भैरहन्थे । उनीहरू बेलाबेला सिकार खेल्न जान्थे । ‘घरमा मैले छोरीकै स्थान पाएँ’ प्रतिमा भन्छिन्–‘कहिल्यै बुहारी भएको महसुस गर्नुपरेन ।’
इन्टरमिडियट अध्ययनरत प्रतिमालाई ससुरा कैलाशशमशेरले कलेज भर्ना भएर पढ्न भने, तर उनलाई नेपाली लेख्न–पढ्न पटक्कै आउँदैनथ्यो । नेपालगन्जमा अंग्रेजी माध्यमका कुनै विद्यालय थिएनन् । त्यसैले उनले सीमावर्ती भारतको नानपाराबाट प्राइभेट परीक्षा दिइन् ।
विवाह गरेपछि केही न केही रोजगारी त गर्नुपर्यो । के गर्ने ? उनीहरूले गाउँमा कृषि फर्म खोले । त्यहाँ प्रशस्तै तरकारी उत्पादन हुन्थ्यो । दिनहुँ एक लडिया तरकारी नेपालगन्ज बेच्न पठाइन्थ्यो । तीन महिनामा तरकारीबाट कमाएको पैसाले सुनौलो रंगको ‘सेकेन्ड ह्यान्ड’ राजदूत मोटरसाइकल किनेको दिन सम्भँmदा उनी अहिले पनि रोमाञ्चित हुन्छिन् ।
दुई भारतीय राजघरानाकी नातिनी प्रतिमा त्यसरी भागेको माइतीलाई पटक्कै मन परेको थिएन । सबैभन्दा धेरै कान्छी आमा विभुकुमारी रिसाएकी थिइन् । टाढाकै भए पनि नातेदारमा त्यसरी विवाह गरेकोमा उनलाई चित्त बुझेको थिएन । त्यसमाथि उनीहरूले कम उमेरमै विवाह गरेका थिए तर जति रिसाए पनि पाँच वर्षपछि भने माइतीको मन पग्लियो । धवल–प्रतिमा त्रिपुरा खान्दानमा भित्र्याइए ।
पढाइ सकेर मन्सुरीबाट फर्कंदा धवलले अमेरिका जाने मनस्थिति बनाएका थिए, तर उनको मन एकाएक फेरियो । अमेरिका गएर दु:ख गर्नुभन्दा स्वदेशमै केही गर्ने इच्छा जागेको उनी बताउँछन् । अमेरिकाको सपना त्यागेर उनीहरूले ०४३ सालमा नेपालगन्जमा मोर्डन पब्लिक स्कुल खोले । दुवैले झन्डै १६ वर्ष त्यहाँ पढाए । ०४६ सालमा होटल वाटिका खोले । त्यसबाट पनि धवललाई सन्तुष्टि मिलेन । उनी ०४८ सालमा राजनीतितर्फ मोडिए । सुरुमा राप्रपामा लागे । राप्रपासम्बद्ध युवक संगठनको जिल्ला सचिवबाट राजनीति थालेका राणा अहिले केन्द्रीय महामन्त्री छन्, तर यसबीच उनले धेरै उतारचढाव पार गरेका छन् ।
फुर्सदका बेला ट्याक्टरले आफैं खेत जोत्न जान्छन्, तर उनले कृषिलाई भने पेसा बनाउन सकेनन् ।
उनका बुवा कैलाशशमशेर अमेरिकामा पढेर फर्किएका नेपालकै पहिलो कृषि इन्जिनियर मानिन्छन् । उनी आफ्ना दुई छोरा सुमेरशमशेर र धवलशमशेर पनि कृषिमै सक्रिय देख्न चाहन्थे । सुमेरले बुवाको बाटो पछ्याए । धवलले पनि कृषि मन पराए, तर लामो हिँडेनन् बरु उनले आफ्ना जिजुबुवा देवशमशेरको राजनीतिको बाटो समाए । देवशमशेर विकासप्रेमी राणा प्रधानमन्त्री मानिन्थे । ०५४ सालमा मेयर जितेपछि धवलशमशेरले पनि विकासप्रेमी मेयरकै परिचय बनाए । उनको त्यही विकासे छविकै कारण ०७० को स्थानीय चुनावमा फेरि सहजै मेयर भए ।
धवलशमशेरलाई बिहानदेखि बेलुकासम्मै भ्याइ–नभ्याइ हुन्छ । बिहानै ‘ब्रेकफास्ट’ गरेर निस्किएका राणा साँझ कतिबेला फर्कने कुनै टुंगो हुँदैन । यद्यपि अब यसमा प्रतिमाले गुनासो गर्न छाडिसकेकी छिन् । ‘धन्न ‘ब्रेकफास्ट’ सम्म सँगै खान भ्याउनुहुन्छ,’ प्रतिमा भन्छिन्–‘नेतासँग गुनासो गरेर के फाइदा ? बानी परिसक्यो ।’ उनीहरूकी एक्ली छोरी शिवांगिनी काठमाडांैमा बस्छिन् । दिनभर घरमै कुरेर बस्नुभन्दा उनी आधा समय छोरीसित बस्ने गरेकी छिन् । नेपालगन्ज आएका बेला पनि भेट्न मुस्किल भएपछि कहिलेकाहीँ उप–महानगरपालिका कार्यालयमै पुग्ने प्रतिमा बताउँछिन् ।
प्रतिमाको माइतीतर्फ आमा पद्मावती र सानीआमा उषाराजेबाहेक सबैजसो राजनीतिमा सक्रिय भए । उषाराजे राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाकी श्रीमती हुन् । हजुरआमा राजमाता विजयाराजे भारतीय जनता पार्टीकी प्रभावशाली नेतृ मानिन्थिन् । उनी पटक–पटक लोकसभा सदस्य भइन् । मामा माधवराव सिन्धिया २००१ सेप्टेम्बर ३० मा हवाई दुर्घटनामा निधन हुनुअघिसम्म विधानसभा लोकसभा सदस्य थिए । उनी केन्द्र सरकारमा मन्त्री पनि भए । उनका छोरा ज्योतिरादित्यसमेत लोकसभा सदस्य भए ।
एउटी सानीआमा वसुन्धराराजे राजस्थानकी मुख्यमन्त्री छिन् भने अर्की यशोधराराजे मध्यप्रदेश सरकारमा मन्त्री छिन् । यस्तोमा प्रतिमालाई राजनीति गर्ने कुनै मोह नहोला ? उनी भन्छिन्–‘एउटै घरबाट कतिजनाले राजनीति गर्ने ? मलाई त धवलराजाको राजनीति देखेरै पुगेको छ ।’
धवललाई पनि आफ्नो व्यस्तता अलि बढी नै भएको महसुस हुन थालेको छ । तैपनि समय व्यवस्थापन गर्न सकिरहेका छैनन् । उनको अघिल्तिर एकातर्फ घरपरिवार र व्यवसाय छ, अर्कातर्फ नगर विकासको अभिभारा । अहिले उनी आफूलाई लोकप्रिय मतले चुनाव जिताउने मतदातालाई पछुतो नहुनेगरी दोस्रो विकल्पमा व्यस्त छन् । नेपालगन्जमा धवलले पार्टीको संगठन र विचारले भन्दा पनि ०५४ सालको मेयरका रूपमा गरेको कामका बलमा चुनाव जितेको मानिन्छ ।
राप्रपाले नगरका तीन वडामा मुस्किलले जित्दा उनी भने फराकिलो मतान्तरले विजयी भएका थिए । विकासको आकांक्षा राखेर मतदाताले आफूलाई रोजेकाले त्यो विश्वासलाई त्यसै खेर जान नदिने उनको संकल्प छ । ‘राजनीतिमा जनताको भरोसा टुट्न दिनु हुँदैन । त्यसैले म दिनरात खटिरहेको छु,’ स्थानीय शासनका विद्यावारिधि धवल भन्छन्–‘पुरानो सहर नेपालगन्जले पाँच वर्षमा काँचुली फेर्नेछ ।’