आदर्श प्रेमको नमुना जोडी
प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था ।

हाम्रो समाजमा यस्ता थुप्रै उदाहरणीय महिला छन् जसले आफ्नो पेसामा विशेषज्ञता हासिल गरेर पनि अन्य सिर्जनशील क्षेत्रमा समेत आफूलाई अब्बल साबित गरिरहेका छन् । कुशल व्यवस्थापकीय क्षमता बोकेका नारी जाति बहुमुखी प्रतिभाका पर्याय हुन् । उहीहरूमा एकै पटकमा मल्टिटास्किङ क्षमता प्रस्तुत गर्नसक्ने स्वभाव हुन्छ । केही त्यस्ता नेपाली महिला जो छेकिएको क्षमता प्रस्फुटन गरी आफ्नो पेसा–व्यवसायका अतिरिक्त थप दक्षता प्रस्तुत गर्दै अघि बढिरहेका छन् :
प्रियंका झा
मानवाधिकारकर्मी तथा अभियन्ता
सरकारी इन्जिनियर ताराकान्त तथा आशा झाका ३ सन्तानमध्येकी कान्छी छोरी प्रियंका वि.सं. २०४९ मा वीरगंजमा जन्मिएर जनकपुरमा हुर्किएकी हुन् । सानै उमेरमा काठमाडौं छिरेकी प्रियंका डिएभी सुशील केडिया विश्व भारतीबाट स्कुलिङ, युनाइटेड एकेडेमीबाट प्लस टु, के.यु. बाट ब्याचलर हुँदै हाल केयुबाटै कन्फ्लििक्ट, पिस एन्ड डेभलपमेन्ट स्टडिज विषयमा स्नातकोत्तर अध्ययनरत छिन् ।
सुरुवाती दिनमा मोडलिङमा आबद्ध प्रियंका सन् २०१४ को मिस नेपालकी प्रतिस्पर्धी हुन् । हाल उनको टुटल एपको विज्ञापन निकै हिट भैरहेको छ । महिला, युवा तथा मानवाधिकारमा रुचि राख्ने प्रियंका आफूलाई मोडलिङमा रुचि नभएकाले म्युजिक भिडियोका लागि आएका धेरै प्रस्ताव अस्वीकार गरेको बताउँछिन् ।
स्नातकोत्तर अध्ययनरत छँदा युनेस्कोअन्तर्गतको रिसर्च प्रोजेक्टमा छानिइन्–प्रियंका, जुन पत्रकारहरूसँग सम्बन्धित थियो । शोध–अनुसन्धानको काम गर्दागर्दै उनी शेयर संसार अनलाइन न्युज पोर्टलमा रिपोर्टिङ र रिसर्चरको काम गर्न पुगिन् । शेयर मार्केटमा रुचि भएका कारण प्रियंका शेयर खरिद–बिक्री पनि गर्छिन् ।
कलिलो उमेरमै चौतर्फी जिम्मेवारी बहन गरिरहेकी झा हाल शान्तिका लागि साझा अभियानमा मिडिया मोनिटरिङ अफिसरका रूपमा कार्यरत छिन् । तराईको कुनै स्थानीय पत्रिकामा उनले जाडो महिनामा खाली खुट्टा शीर्षकमा समाचार र तस्बिर छापिएको देखिन् जसले उनको मन छोयो, तत्काल उनले अभियान सुरु गरिहालिन् र पीडितहरूको पीडामा मल्हम लगाइन् ।
अहिले उनी मिडिया एक्सन नेपालको उपाध्यक्ष, शान्तिका लागि साझा अभियानको मिडिया मनिटरिङ अफिसर, शेयर कारोवारी तथा मास्टर्स इन कन्फ्लिक्ट, पिस एन्ड डेभलपमेन्ट स्टडिजकी विद्यार्थीका रूपमा अनेकौं जिम्मेवारी एकसाथ निर्वाह गरिरहेकी छिन् । प्रियंका भन्छिन्–हरेक व्यक्ति जसले आफ्नो आधारभूत आवश्यकताभन्दा बढी आयआर्जन गर्छन्, उनीहरू कम्तीमा पनि एकजना बालबालिकाको शिक्षामा सहयोगी हुन सकेको खण्डमा समाज समृद्ध हुनुका साथै मानवाधिकार पनि सुरक्षित हुन्छ ।