तीजमा सिर्जनशील महिला उद्यमी मेला
काठमाडौंमा हरितालिका तीजको अवसरमा पाँच दिने सिर्जनशील महिला उद्यमी मेला हुने भएको छ ।

महिला हिंसाविरुद्ध चौतर्फी आवाज उठिरहेको बेला अमेरिकी हिपहप गायिका महोगानी जोन्स यस्तै अभियान लिएर नेपाल आएकी छन् । अन्तर–सांस्कृतिक बुझाइ र सहकार्यलाई बढावा दिन अमेरिकी दूतावासले गर्दै आएको ‘कला दूत’ कार्यक्रमअन्तर्गत उनी नेपाल आइपुगेकी हुन् ।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले महिला हिंसाविरुद्ध आफ्नो कलाको सदुपयोग गर्न पाउदा खुसी लागेको बताइन् ।
उनले महिला हिंसाविरुद्ध लड्न महोगानीले ‘प्युअर’ नामक अभियान नै सुरु गरेकी छन् । २० वर्षको भएपछि र्याप सिक्न थालेको र त्यसपछि एउटा ठूलो र्याप कम्पिटिसनमा गएपछि उनी र्यापतिरै लागेकी थिइन् । ‘त्यति बेला महिला भएकै कारण हामी हेपिनुपर्यो । मेरो छालाको रंग, तौल, जातीयताको कुरालाई लिएर मानिस हेप्थे,’ उनले भनिन्, ‘जब मैले र्याप र हिपहप सुरु गरेँ, मैले आफूलाई बलियो महसुस गरेँ । मानिसले मलाई फरक ढंगले हेर्थे, मेरो गीत सुन्थे र मलाई जज गर्थे ।’ त्यसपछि उनले महिलाकै लागि गीत लेख्न र गाउन थालेको पनि सुनाइन् । उनले आफ्नो एल्बमहरूलाई महिला हिंसाविरुद्ध समर्पण गरेकी छन् ।
‘कलामार्फत गरिने सोसल मुभमेन्ट र क्याम्पेनहरू निकै प्रभावकारी हुने मेरो बुझाइ छ,’ पत्रकार भेटघाटमा उनले भनिन्, ‘नेपालका कतिपय स्थानमा महिलाहरूको शैक्षिक पहुँच कमजोर छ भन्ने सुनेकी छु । रूढिवादी परम्परामा जेलिएका महिलाहरूलाई जगाउन कलाको माध्यम फलदायी हुन सक्छ ।’ प्रस्तुतिका क्रममा हिपहप, नारी सुलभता, आध्यात्मिकता र अनुरागलाई एकसाथ आत्मसात गर्ने उनले सुनाइन् ।
उनै हिपहप गायिका महोगानी शनिबार जावलाखेलस्थित फुटबल खेल मैदानमा प्रस्तुत भएकी छिन् । उनीसँगै उनको ब्यान्डले सोमबार वीरगन्जमा प्रस्तुति दिनेछन् ।