‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल
अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

व्यस्त जीवनको सेड्युल कसरी मिलाउनुहुन्छ ?
म सेड्युल बनाएर हिँड्दिन, जे काम छ त्यसमा हिँड्छु । व्यस्त भए पनि फुर्सदमा आनन्दले बस्छु । म टेन्सन लिएर काम गर्दिन । व्यस्तताबीचपनि समय निकालेर आराम गर्न छुटाउँदिन ।
अहिलेसम्म तपाईंले निर्वाह गरेका चरित्रमध्ये सबैभन्दा जमेको चरित्र कुन हो ?
म जस्तोसुकै चरित्र पनि जीवन्त रूपले निर्वाह गर्ने प्रयास गर्छु । लुटको हाकु कालेदेखि शब्दको दमाई, फाटेको जुत्ताको मधेसी चरित्र सबै उत्तिकै मनपर्छन् । यद्यपि दर्शकहरूमाझ उही हाकु कालेको चरित्र नै छाएजस्तो लाग्छ ।
अभिनयबाहेक अरूकेमा रुचि छ ?
म चलचित्र धेरै हेर्छु । राति प्राय: पुस्तक पढ्छु ।
तपाईंको दिमागमा हरेक समय चलचित्र नै घुमिरहन्छ कि क्या हो ?
त्यसो पनि होइन, तर कुनै चलचित्रमा काम गर्दा चरित्रलाई पर्दामा जीवन्त तुल्याउन सक्नुपर्छ भन्ने मान्यता राख्छु ।
आफू कस्तो छु जस्तो लाग्छ ?
लप्पनछप्पन नजान्ने, अभिनयमै डुब्ने अनि हाइफाइको जीवन नखोज्ने साधारण व्यक्ति ।
सँगै अभिनय गरेका नायिकामध्ये कसको कामबाट प्रभावित हुनुहुन्छ ?
दिया मास्के तथा प्रियंका कार्की ।
कस्तो गेटअपमा हिँड्न रुचाउहुन्छ ?
म पहिरनका मामिलामा त्यति चुँजी छैन । यस्तो फेसन छ, यस्तो गेटअप गर्छु भन्ने कहिल्यै सोचिएन । जिन्स र टिसर्ट नै मलाई मनपर्ने तथा सजिलो लाग्ने पहिरन हुन् ।
भान्साको काम कत्तिको गर्नुहुन्छ ?
गर्छु,म चिया र अण्डाका परिकार निकै मीठो बनाउँछु । यद्यपि पकाउने कुरामा भन्दा भान्सा सफा गर्न र भाँडा माझ्न रुचाउँछु ।
अफेयरलाई विवाहमा कहिले परिवर्तन गर्ने त?
भोलिको कुरा भोलिलाई नै छोडौं । म वर्तमानमा बाँच्ने व्यक्ति हुँ ।