बाहिर निस्कँदा हातमा ट्याबलेट, घरमा भिडियो गेम तथा कार्टुन अहिलेका बालबालिकाहरूको दिनचर्या बनेको छ । उनीहरु बाहिर खेल्नुभन्दा यस्ता हाते खेलौनमा रम्न थालेका छन् । जसको प्रत्यक्ष प्रभाव उनीहरूको स्वास्थ तथा मनस्थितिमा परिरहेको छ । उनीहरू कसैसँग पनि हेलमेल हुन रुचाउँदैनन् । एकोहोरिएर आफ्नै तालमा गेम खेल्न मस्त बन्छन् ।
अभिभावकलाई पनि टिभी बालबालिकाहरू तह लगाउने माध्यम बनेको छ तर यो दीर्घकालिन उपचार होइन । यस्तो प्रवृत्ति बढ्दै जाँदा बालबालिकाहरूमा विभिन्न समस्या देखा पर्छन् । टिभीका माध्यमबाट बालबालिकाहरूले राम्रो कुरा कम तथा नराम्रो कुरा बढी अभ्यास गरिरहेका हुन्छन् । उनीहरू यस्ता गेमको बानी पर्नाले बटनको भरमा संसार चलाउन तम्सन्छन् । यथार्थको संसारमा आएपछि भने उनीहरू निरास हुनपुग्छन् किनभने उनीहरूमा अरूको कुरा सुन्ने, वार्ता गर्ने तथा मिलेर बस्ने बानी ह्रास भैरहेको छ ।
शारीरिक प्रभाव
भिडियो गेम तथा टिभीको प्रयोग बालबालिकालाई शारीरिक दृष्टिले नकारात्मक छन् । नियमित रुपमा टिभी हेर्नाले बालबालिकाहरूको शारीरिक तन्दुरुस्ती कमी भै मोटोपनको समस्या पैदा हुन्छ । टिभी हेर्दै गर्दा बालबालिकाहरूले आफूले कति खाइएको छ भन्ने कुराको आकलन गर्न सक्दैनन् । उनीहरू थाहै नपाई बढी जंकफुड खानपुग्छन्, फलस्वरूप विभिन्न रोगका सिकार हुन्छन् । भिडियो गेम तथा टिभीले बालबालिकाहरूको आँखामा समस्या पैदा गर्छ ।
मानसिक प्रभाव
कार्टुनमा अधिक मोहित हुने बालबालिकाहरू पढ्न रुचाउँदैनन् । कार्टुनका कारणले उनीहरूमा नक्कल गर्ने प्रवृत्ति बढ्दै जान्छ । उनीहरू कार्टुनमा देखिएका पात्रहरूलाई आफूमा कल्पना गरेर त्यसैअनुरूप बन्न खोज्छन् । कार्टुनमा हुन नसक्ने कुराहरू पनि प्रसारण गरिने भएकाले यसले बालबालिकाहरूमा मानसिक प्रभाव पार्छ । उनीहरू आफनो जीवनलाई कार्टुन जस्तै बनाउन चाहन्छन् । त्यसैगरी भिडियो गेम बढी खेल्ने बालबालिकाहरूको सोच्ने शक्तिमा कमी आउँछ ।
आर्थिक प्रभाव
टिभीका कारणले बालबालिकाहरूको माग गर्ने शैली बढ्छ । टिभीमा आएको हरेक विज्ञापनले उनीहरूलाई आकर्षित गर्छ । उनीहरू देखिएका सबै चिजको माग आफ्ना अभिभावकलाई राख्छन् । यसको कारणले अभिभावहरूमा आर्थिक भार पर्न जान्छ । टिभी देखिएको ग्याजेट, खेलौना तथा विभिन्न जंक फुडको विज्ञापनले उनीहरूमा ती वस्तुहरू हासिल गर्ने मोह जाग्छ । उनीहरू आफ्ना अभिभावकहरूसँग त्यस्ता वस्तुहरू जसरी पनि खरीद गरिदिन आग्रह गर्छन् । उनीहरू महंगा–महंगा हाते खेलौनाको माग गर्छन् । अहिले बजारमा देखिएका यस्ता सामग्रीहरू अभिभावकहरूको तलब भन्दा पनि महंगा हुन्छन् । जसलाई खरीद गर्दा आर्थिक भार बढ्छ ।
सामाजिक प्रभाव
उहिलेका बालबालिका तथा अहिलेका बालबालिकामा आकाश–जमिनको फरक पाइन्छ । अहिलेका बालबालिकाहरूले समूहमा बसेर हाँस्न, नाच्न तथा खेल्न बिर्सिसकेका छन् । उनीहरू समूहमा बस्न रुचाउँदैनन् । कोठा बन्द गरी भिडियो गेम तथा कार्टुनमा रमाउन चाहन्छन् । यसले गर्दा उनीहरूले आफनो पृष्ठभूमि बिर्संदै छन् । आजका बालबालिकाहरूलाई आफ्नो संस्कार, चाडपर्व तथा पारिवारिक जमघट मन पर्दैन । उनीहरूको संसार टिभी तथा प्राविधिक उपकरणमै अडेको पाइन्छ । उनीहरू प्रविधिलाई सामाजिक सम्मानसँग जोडेर हेर्छन् । जोसँग अधिक प्राविधिक उपकरणहरू छन् उनीहरूको साथीभाइबीचमा एक प्रकारको सान हुन्छ ।
अभिभावकहरूको ध्यान
हाइड एन्ड सिककी प्रिन्सिपल अहिलेका बालबालिकाहरूमा प्रविधि हावी भएको बताउँछिन् । बालबालिकाहरू कम्प्युटर, ट्याबलेटजस्ता वस्तुहरूप्रति निकै आकर्षित छन् । अभिभावकहरू पनि आफ्ना नानीहरूलाई यस्ता सामग्री दिएर भुलाउँछन् । जब कि यसो गर्नु गलत हो । आफूलाई आराम दिलाउन आमाहरू यस्ता सामग्रीहरूको सहयोग लिन्छन् । त्यसो गर्दा बालबालिकाहरू मानसिक तथा शारीरिक रूपमा दुर्बल बन्छन् । जसका लागि हामी अभिभावक पनि जिम्मेवार छौँ ।
हामीले आफ्ना नानीहरूलाई प्रविधिसँग खेल्न होइन कि उनीहरूलाई प्रविधिको सुपुर्दगी गरिदिएका छौँ । अहिले बजारमा आएका ग्याजेट कसको नानीले कत्तिको प्रयोग गर्छन् भनेर अभिभावहरूमा प्रतिस्पर्धा चल्छ । यसरी प्रविधिले सरल बालबालिकाहरूलाई जटिल बनाएको छ ।
प्रविधिबाट बालबालिकाहरूलाई कसरी नियन्त्रण गर्ने ?