‘म स्टाफ नर्स पढ्न चाहन्छु।’ शिलाले आमासँग भनिन्।
‘बालाई भन’ आमाले सजिलै भनिदिनुभयो।
आमाको कुराले उनमा जाँगर भने चलेन। आमाले कति सजिलै भनिदिनुभयो। उनलाई यस्तै लाग्यो। अब भन्न के नै बाँकी रह्यो र?
शिला जन्मिएदेखि उनका बाले उनलाई खासै वास्ता गरेनन्। छोराको आश लिएर बसेका उनका बा छोरी जन्मिएको थाहा पाएपछि त्यसै निराश भए। उनले छोरीको अनुहार राम्रोसँग हेरेनन्। त्यसपछि छोरीदेखि सधै पर–पर रहन थाले।
शिलालाई बालापनमा बासँग खेलेको सम्झना छैन। न कहिल्यै बासँग घुम्न पाएकी थिइन्। उनी बासँग बोल्न पनि डराउँथिन्। बा उनका लागि कहिल्यै सहज भइदिएनन्। बोलाउँदा पनि कहिल्यै राम्रोसँग बोलेनन्। त्यसैले पनि शिलाको मनभित्र बाप्रति सधै डरको बास भयो। उनी त्यसै–त्यसै पर भइन्।
एस.एल.सी. उत्तीर्ण भएको दिन उनी बहुतै खुसी थिइन्। दस वर्षको मेहनतले रंग ल्याएको थियो। यो समाचार उनी पहिले बालाई सुनाउन चाहन्थिन्। यो समाचारले बा कति खुसी होलान्? उनले मनमनै सोचिन्। आफ्नो सन्तानले राम्रो अंक ल्याएर पास हुँदा कसका बाआमा खुसी नहोलान्? उनी मनभरि खुसी बोकेर घर पुगिन्। घरमा बा थिएनन्। आमालाई खबर सुनाइन्। आमाको अनुहारमा देखिएको खुसीको चमकले उनमा उत्साह थपियो। भरे बा घर फर्किएपछि अवश्य भन्नेछु। उनले यस्तै सोचिन्।
आठ कक्षाको जिल्ला स्तरीय परीक्षामा उनी प्रथम भएकी थिइन्। त्यतिबेला उनले बालाई भनेकी थिइन् तर बाले सुनेर पनि नसुनेझैं गरेका थिए। उनलाई हेर्दा पनि हेरेनन्। उनलाई नरमाइलो लागेको थियो। तर उनले सोचिन् जाबो आठ कक्षाको परीक्षा त हो। म एस.एल.सी.मा राम्रो अंक ल्याएर देखाइदिन्छु अनि त्यसबेला बा पक्कै पनि खुसी होलान्। त्यसपछि शिलाले कडा मेहनत गर्न थालिन्।
दिनभर एस.एल.सी.को नतिजा हातमै लिएर बसिरहिन्। बा आए कि भन्दै उनले घरिघरि आँगनमा हेरिरहिन्। झमक्क साँझ पर्दा पनि बा आएनन्। उनी निराश भइन्। रातको दस बजेतिर बा आए। त्यतिबेला शिला निदाउने तरखरमा थिइन्। उनी उठेर बालाई खुसीको समाचार भन्न चाहन्थिन्। तर बा चर्किएको आवाजले उनी थामिइन्। बा पूरै मातेर आएको कुरा उनले बुझिहालिन्। उनले आफूभित्रको खुसी दबाएरै राखिन्। रात कतिबेला बिहानमा परिवर्तन होला भन्दै उनी ननिदाई बसिन्। बिहानपख उनलाई निद्राले छोपेछ। भुसुक्कै निदाइन्।
भोलिपल्ट बा बिहानै बाहिरिए। उनले बालाई आफैंले सुनाउने भनेको समाचार आमाले बिहानै सुनाएकी थिइन् तर बाबाट त्यसको कुनै प्रतिक्रिया आएनछ। त्यसपछि शिला असमञ्जसमा परिन्। अलिकति मन दुखेर आयो। आफैंले सुनाएकी भए झन् के हुन्थ्यो? के मन थाम्न सक्थें हँ‘ला? उनले आफैंलाई सम्झाउन थालिन्। तर मन न हो दुखेर आँखाबाट छल्कियो।
एस.एल.सी.को नतिजापछि के पढ्ने? धेरैको चासोको विषय थियो। शिलामा पनि यो चासोले धेरै दिनदेखि जरो गाडेको थियो। उनका साथीहरू सधै यही विषयमा सोधिरहन्थे। छलफल गरिरहन्थे। उनी भने सानैदेखि एउटै सपना पालेर हुर्किएकी थिइन्। उनी स्वास्थ्य क्षेत्रमा लागेर देशको सेवा गर्न चाहन्थिन्। त्यसैले उनले स्टाफ नर्स पढ्ने आफ्नो सुन्दर सपना आमालाई सुनाइन्। आमाले केही गर्ने कुरामा उनको विश्वास थियो।
‘त्यसले पढेर के गर्छे?’ बा आमासँग झर्किदै थिए।
‘विचरीलाई तपार्इंले कहिल्यै माया गर्न‘ भएन। छोरी भनेर सधै टाढा मात्र राख्नुभयो। यतिबेला उसलाई पढ्न दिनुहोस्। विचरीको मन किन रुवाउनुहुन्छ?’ आमा बालाई सम्झाउन थालिन्।
बा त्यसपछि मौन रहे। धेरै दिनसम्म बाले केही भनेनन्। शिला आफूले पढ्न नपाउने कुरामा ढुक्क भइन्। अहिलेसम्म कुनै नतिजा नआउनु भनेको यही त हो? उनी आफैसँग भन्थिन्। उनलाई घरबाट बाहिर निस्कन मन लाग्न छाड्यो। साथीहरूले सोधे के जवाफ दिने? त्यसैले उनी घरमै बस्थिन्।
‘भोलि शिलालाई उसले भनेको कलेजमा भर्ना गर्न के–के गर्न‘पर्छ बुझेर आउँछु।’ बाले खाँदाखाँदै भने। बाको आवाजले शिला अक्क न बक्क भइन्। उनीभित्र खुसीको बाढी उर्लेर आयो। उनले बालाई पुलुक्क हेरिन्। बा–आमालाई हेर्दै थिए। आमाले मुसुक्क हाँसेर शिलातिर हेरिन्।
बाले शिलालाई स्टाफ नर्समा भर्ना गरिदिए।
शिला आफूले चाहेको पढ्न पाउँदा औधी खुसी थिइन्। उनले यो खुसीलाई साँचेर मेहनतमा ढालिन् र सफल पनि भइन्।
चर्काे गर्मी थियो। गर्मीमा शिला काममा व्यस्त थिइन्। उनी पढाइ सकेर काम गर्न थालेकी थिइन्। उनको काममा अस्पतालले निक्कै विश्वास गरेको छ। उनमा काम गर्ने जाँगर छ। ‘तिमीले एक महिनामै धेरै राम्रो काम गरेर देखायौ।’ सुमला दिदीले शिलालाई भनिन्।
‘तपाईंले काम सिकाइदिनुभएको छ नि दिदी?’ शिलाले भनिन्।
‘भोलि त तिम्रो पहिलो तलब थाप्ने दिन। तिमी के गछ्र्याै? आमालाई दिन्छ्यौ?’ सुमला दिदीले सोधिन्।
यो प्रश्न झर्न नपाउँदै शिलाले फ्याट्ट भनिन्, ‘बालाई लगेर दिन्छु।’
त्यसपछि भने शिलालाई भोलि कहिले होला भयो। उनी भोलिको दिनको पर्खाइमा आतुर थिइन्। साँच्चै भन्नुपर्दा शिला रातभर सुतिनन्। उनलाई भोलिको पर्खाइ थियो। त्यसमाथि उनले जीवनमै पहिलोपटक तलब थाप्दै थिइन्।
तर अचम्म। जब उनले तलब थापिन् तब उनीलाई अचानक कायरताले छोप्यो। तलब हातमा पर्नासाथ उनका हात काँप्न थाले। हिजोसम्मको उनमा आएको आँट शिथिल होलाजस्तै भयो। घरमा कसरी जाने? के म हिम्मत गर्न सक्छु? उनी भित्र थुप्रै प्रश्नले जवाफ खोज्न थाले।
घर पुग्दा शिला शिथिल भैसकेकी थिइन्। उनमा हिजोसम्म भएको जोश आज आएर चिसिएको थियो। किन हो उनी हिम्मत जुटाउन सकिरहेकी थिइनन्। तैपनि उनी हिम्मत जुटाउँदै थिइन्।
वास्तवमा भन्नुपर्दा यो घरमा उनले होस सम्हालेदेखि आफूलाई बाले कहिल्यै बोलाएको थाहा छैन। उनले बोलाउँदा बाको रुखोपनकै कारण उनले पनि बोलाउन छाडेकी थिइन्। बासँग नबोलेकै धेरै दिन भैसकेको थियो। यो अवस्थामा कसरी अघि बढ्ने? उनलाई पसिना आउलाझैं भयो। तैपनि कसोकसो हिम्मत जुटाइन्।
हिजोआज बा रिटायर्ड भएका थिए। त्यसैले घरमा आराम गरेर बस्थे। शिला आफूलाई सम्हाल्दै र आफूभित्र साहस बटुल्दै बाको अघिल्तिर पुगिन्। उनको मुटु जोडले धड्किन थाल्यो। निधारमा पसिना देखिन थाले। उनलाई लाग्यो सक्दिन होला, तर प्रयास त गर्न थियो। उनले हिम्मत गरिन् र हात अघि बढाउँदै भनिन्, ‘बा मेरो पहिलो तलब? यो म तपाईंलाई दिन चाहन्छु।’
शिलाका हात काँपिरहेका थिए। उनका ओठ थरथराएका थिए। झन्डै रुलाझैं आवाज भएको थियो। झन् बाले उनलाई एकोहोरो हेरे। बाले हात अघि बढाए। त्यतिबेला बाका हात पनि काँपिरहेका थिए। बाले तलब समाते। शिलाको मनभित्र एक्कासि खुसीको सञ्चार भयो।
‘छोरी शिला, यो तलबको असली हकदार तिम्री आमा हुन्।’ बाले भने। बाले पहिलो पटक शिलालाई मायालु नजरले हेरिरहेका थिए। शिलाका आँखाबाट खुसीका आँसु तप्किन थाले।