नागाल्यान्डमा जन्मिएकी मरिनलाई नागाल्यान्डमा मनाएको दसंैको निकै सम्झना आउँछ । उनलाई सांस्कृतिक हिसाबले नेपालका चाडहरू विविध तरिकाले मनाउने प्रचलनले भने निकै छोएको छ । नागाल्यान्डमा दसैंमा धुमधामसँग दुर्गापूजा गरिन्छ । नागाल्यान्डमा हिन्दू मन्दिर खासै छैनन् । त्यसैले ठाउँ–ठाउँमा विभिन्न आकृतिका पाण्डाल बनाएर त्यहाँ दुर्गा भवानीको मूर्ति स्थापना गरिन्छ । पूजा गरेपछि उक्त मूर्तिलाई सेलाइन्छ । राई बाल्यकालमा साथीभाइसँग यस्ता पाण्डाल हेर्न निकै घुम्थिन् । पाण्डालमा विभिन्न प्रकारका मिठाईं प्रसादस्वरूप वितरण गरिन्थ्यो । त्यसले पनि बालबालिकाहरूलाई आकर्षित गथ्र्यो । दुर्गापूजा गर्ने तथा टीका लगाउने चलन भए पनि नागाल्याण्डमा भोगको चलन भने छैन । दसंैमा एक जोर नयाँ कपडा भने अनिवार्य रूपमा खरिद गर्ने चलन छ । यहाँको मासु भएझैं नागाल्यान्डमा सेल तथा केराउ र तिलको अचार बनाउनुपर्छ । मरिनलाई सेल निकै मन पर्छ । विवाह भएर नेपाल आएपछि उनले नेपाली संस्कृतिको फरक स्वादको दसंै अनुभव गरिन् । उनले यहाँ जमरा राख्ने, बिहान मन्दिर जाने, भोग दिनेजस्ता नयाँ परम्परासँग साक्षात्कार गरिन् ।
बाल्यकालमा दसंै रमाइलो गर्ने बहाना थियो भने अहिले उनी यसलाई ठूलो चाडका रूपमा लिन्छिन् । मरिन नौरथाभरी चोखो पहिरन लगाएर पूजापाठ गर्छिन् । दसैंमा टीका लगाउन परिवारका सबै सदस्य उनकै घरमा जम्मा हुन्छन् । टीका लगाउने मानिस करिब १ सय पुग्छन् । टीका लगाउनु तथा मीठो खानु दसंैको विशेषता नै हो । मरिन दसंैको किनमेल महिना दिनअघिदेखि नै गर्छिन् । पहिरनप्रेमी भएकाले उनी दसंैको पहिरनमा विशेष ध्यान दिन्छिन् । आफै कपडा व्यापारी भएकीले दसंै उनको पिक सिजन हो ।
दसंैमा फुर्सद हुने भएकाले बगैंचामा फूल परिवर्तनका साथै घरको सरसफाइको काम उनी आफै गर्छिन् । दसंैले परिवारका सबै सदस्यलाई वर्षमा एकपटक भए पनि भेट्ने अवसर दिन्छ र आपसी कटुता कम गर्छ । दसंैको रातो टीका तथा आफूभन्दा ठूलाले दिने आशीर्वादले सानालाई सकारात्मक सोच तथा काम गर्ने हौसला प्राप्त हुन्छ । दसैंले समाजमा शान्ति तथा सद्भावको सन्देश दिन्छ । मरिन भन्छिन्–दसंै हाम्रो संस्कारको निरन्तरता पनि हो । यसले नेपाली संस्कारलाई जीवन्त बनाउँछ ।