उहिले हाम्रा हजुरआमा, आमाका पालामा प्रयोग गरिने स्टिल, पित्तल, ढलोट तथा सिल्भरका भाँडाको स्थान अब मेलामाइन, सेरामिक, चरेस तथा सिल्भर प्लेटेड भाँडाले लिन थालेका छन् । अझै पनि पुराना बूढाबूढीहरू माटाको कालो कराहीमा पकाइएको दाल-तरकारीको स्वाद जिब्रोमै गडेको बताउँछन् तर त्यस्ता भाँडाकुँडा अहिले कहाँ पाउनु ? पछिल्लो समयमा त अझ बिजुलीबाट चल्ने प्रेसर कुकरले प्राय: भाँडाको काम एक्लैले गरिदिन्छ । यसमा भातदेखि सुपसम्म पकाउन मिल्छ ।
बजारमा देखिएका यस्ता आधुनिक भाँडामा अहिले सर्वाधिक चलेको डिनर सेट नै हो । थाइल्यान्डको बिस्टो ब्रान्ड तथा चाइनिज सिसाका डिनर सेट अहिले चल्तीका आधुनिक भाँडा हुन् । जसको मूल्य ८ हजारदेखि १३ हजार रुपैयाँसम्म पर्छ । यसभित्र दाल, भात, तरकारीका लागि छुट्टाछुट्टै बाउल, सर्भिङ स्पोनलगायत खाना सर्भ गर्ने प्लेट र साना आकारका बाउलसम्म आउँछन् । मकैको खोस्टा, मेलामाइन, काठ आदिबाट बनाइएका कोस्टर पनि भान्साका लागि आकर्षक र आवश्यक एसेसरिज हुन् । यसको मूल्य ९५ रुपैंयाँदेखि २ सय ५५ रुपैंयाँ पर्छ । ८० देखि ३ सय रुपैंयाँका सेरामिकका कलरफुल टी कप र टी मग अहिले सर्वाधिक बिक्री हुने आइटम हुन् जुन कफी, चिया, दूध आदि पिउनका लागि उत्तम छन् । ३ सय देखि २५ सयसम्मका कप सेटमा भने टी कपका अतिरिक्त टी प्लेट पनि सँगै आउँछन् । प्लास्टिकका चिटिक्क परेका कलरफुल फ्रुट स्पोन तथा र्फक पनि अहिलेका क्रेताले निकै रुचाएका छन् ।
चाडपर्वमा बढी बिक्री हुने ननस्टिक कराही, प्यान, तावा पनि अहिले परिमार्जित रूपमा राता, पहेंला, हरिया तथा ब्याक प्रिन्टमा आएका छन् । कलरफुल ननस्टिकका यी भाँडा माछा-मासु फ्राई गर्न, भेजिटेबल स्टिम गर्न तथा तार्न सहज हुने भाटभटेनी सुपरमार्केट, कोटेश्वरका फ्लोर इन्चार्ज कृष्ण खतिवडा बताउंँछन् । यसको मूल्य २ हजारदेखि ४ हजारसम्म पर्छ । पिकासो, फिन्को, मिल्टन नामक भारतीय ब्रान्डका हटकेस अहिले कामकाजी मानिसका लागि तातो र फ्रेस खानाका लागि वरदान साबित भएका छन् । ८ सयदेखि ३ हजारसम्मका यस्ता हटकेस विभिन्न कलरमा उपलब्ध हुन्छन् । चाडपर्वमा बढी बिक्री हुने भान्साका आइटममा चरेसका भाँडाकुँडा पनि अग्रपंक्तिमा छन् । चरेसका थाल, कचौरा, गिलास, चम्चा, काँटा आदि सामग्रीमा अहिले क्रेताहरूको रुचि बढ्दै गएको खतिवडाको भनाइ छ । ६ हजार ६ सय ७० रुपैंयाँ पर्ने भारतीय कम्पनी बाल्टाको इलेक्टि्रक प्रेसर कुकर न्यू अराइभल किचेन गुड्स हो । यसमा दाल, भात, तरकारीका साथै माछा-मासु, सुप आदि हरेक कुरा पकाउन मिल्छ । अर्को नयाँ सामान भनेको चाइनिज ब्रान्डको फ्रायर तथा जापनिज ब्रान्ड पानासोनिकको किमा बनाउने मिट ग्य्रान्डर मेसिन हो । यी दुईका माध्यमद्वारा माछा-मासु, आलुका अतिरिक्त अन्य भेजिटेवल फ्राई गर्न र म:म वा कचिलाका लागि किमा बनाउन सहज हुन्छ । १ वर्षे वारेन्टी रहेका यी इलेक्ट्रोनिक्स सामानको मूल्य ६ हजार ७ सय तथा ६ देखि १२ हजार रुपैंयाँ पर्छ ।
भान्सालाई आकर्षक लुक्स दिन तथा एलिगेन्ट भान्साका लागि क्रिस्टलका भाँडाकँुडा पनि उपयुक्त हुन्छन् । क्रिस्टलद्वारा निर्मित वाइन तथा हि्वस्की गिलास चाडपर्व लक्षित सामग्री पनि हुन् । ६ वटाको सेटलाई २ हजारदेखि ३ हजार ५ सय रुपैयाँ पर्ने क्रिस्टलका गिलासको ठूलो माग छ । प्रतिगोटा ४ हजार ५ सय रुपैयाँ पर्ने लन्डनबाट आयातीत क्विन एनी टेवल वेयर सिल्भर प्लेटेड भाँडा हुन् । यसअन्तर्गत पूजाथाली, किस्ती, करुवाका अतिरिक्त अन्य डेकोरेटिभ आइटम आउँछन् । तामाका पूजाथाली, टीकाथाली, खड्कुला, गाग्री तथा शंखको ३ सयभन्दा माथि पर्छ । भारतीय, फिलिप्स तथा निकाइ ब्रान्डका ६ देखि १० हजार रुपैंयाँ पर्ने जुसर पनि नेपालीहरूले निकै रुचाएका छन् भने सार्पको ठूला आकारका राइस कुकरको माग पनि बढ्दो छ । १० लिटरको राइस कुकरको मूल्य १६ हजार पर्छ भने साना राइस कुकुर आकार र कम्पनीअनुसार फरक मूल्यमा उपलब्ध हुन्छन् ।
लक्ष्मी भण्डारी थापा