Successfully Copied

घरपालुवामा छालाको समस्या

गर्मी महिनाको आगमनसँगै घरपालुवामा छालाको समस्या बढ्छ। त्यसैले छालाको उचित रेखदेख अर्थात् स्याहार गर्नुपर्छ।

गर्मी महिनाको आगमनसँगै घरपालुवामा छालाको समस्या बढ्छ। त्यसैले छालाको उचित रेखदेख अर्थात् स्याहार गर्नुपर्छ। घरभित्र तथा बाहिर पालिएको कुकुरमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या नै छालाको रोग हो। समयमा उपचार नगर्दा छालाको जटिल समस्या देखा पर्छ । त्यसैले गर्मी तथा वषर्ा सुरु हुनुअघि नै केही सावधानी अपनाएर घरपालुवालाई छालामा लाग्ने रोगबाट बचाउन सकिन्छ। घरपालुवा जनावरको छालाको प्रकृतिका बारेमा वैज्ञानिक जानकारीको अभावले उनीहरूलाई सफा तुल्याउन हप्तैपिच्छे नुहाइदिने चलन छ। यसले उनीहरूको छालाको समस्या अझ बढेर आउँछ। छालालाई पनि शरीरको महत्वपूर्ण अंशका रूपमा लिइन्छ। घरपालुवाको छालामा मानिसको जस्तो पसिना आउने ग्रन्थि हुँदैन तर एक किसिमको तैलीय पदार्थको तह हुन्छ जसले छाला तथा रौंलाई पोषण प्रदान गर्छ।

कुन-कुन समस्या हुन सक्छ ?

गर्मीमा छालाका समस्याका प्रमुख कारक तत्व किर्ना वा उपियाँलाई मानिन्छ। छालाका प्रमुख समस्याहरूमध्ये एलर्जी डर्मटाइटिस, एलोपेसिया, मेन्ज, रिंग वर्म, फोलिकलाइटिस फुरुन्कलोसिस, सेबोरिया आदि हुन्।

घरपालुवालाई छालाका रोगबाट बचाउन के गर्ने ?

घरपालुवाका रौं कम्तीमा दिनको एकपटक ब्रस वा काइँयोले कोरिदिनुपर्छ। बजारमा कुकुरका रौंअनुसार (लामो तथा छोटो रौंका लागि) ब्रस किन्न सकिन्छ। कुकुर दुईदेखि चार महिनाको भएपछि नियमित रूपमा काइँयो लगाउने वा ब्रस गर्ने बानी बसाल्नुपर्छ।

कुकुरलाई दुई­तीन साता वा महिनामा एकपटक, कुकुरकै लागि बनाइएका साबुन अथवा स्याम्पुले नुहाइदिनुपर्छ। धेरै फोहोर भए पानीलेे भिजाएको तौलिया राम्रोसँग निचोरेर केश पुछ्न सकिन्छ। पानीले नुहाउँदा साबुन र स्याम्पुको फिँज राम्रोसँग पखालेपछि भुवादार कपडाले शरीर पुछेर सुकाउनुपर्छ। कुकुरलाई धेरै नुहाइदिनु हुँदैन। बढी नुहाउँदा उसको छालामा भएको तैलीय पदार्थ नष्ट हुँदै जान्छ र छालामा समस्या देखा पर्न थाल्छ साथै कुुकुुरको आँखा र कानमा पानी पर्न दिनुहुँदैन।

कुकुरको खानपानमा ध्यान पुर्‍याउनुका साथै उसलाई आवश्यक खनिज पदार्थ तथा भिटामिन दिनुपर्छ। कुकुरका लागि मासु, अण्डा, तरकारी, फलफूल आदि लाभदायक साबित हुन्छन् भने गुलियो (चकलेट) र चिल्लो पदार्थ हानिकारक हुन्छ। वयस्क कुकुरलाईर् दिनमा दुईपटक निर्धारित समयमा खाना दिनुपर्छ।

किर्ना तथा उपियाँबाट जोगाउन कुकुरको बस्ने ठाउँ सधैं सफा राख्नुका साथै किर्ना, उपियाँ देखिनेबित्तिकै पशु चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्छ।

कुकुरलाई ४­४ महिनामा जुकाको औषधि ख्वाउनुपर्छ।  

लक्षण

छालामा रातो फोका आउने, छाला चिलाउने, शरीरबाट गन्ध आउने, रौं धेरै र्झने भए छालाको रोग लागेको बुझ्नुपर्छ।

उपचार तथा रोकथाम

कुकुरको छालामा लाग्ने रोग धेरै भए पनि सामान्य भाषामा त्यसलाई लुतो भनिन्छ। रोग लागेको पहिचान गरी राम्रोसँग उपचार गराएको खण्डमा सजिलै निको पार्न सकिन्छ। जति ढिलो गर्‍यो रोग उति बिग्रने सम्भावना हुन्छ। अहिले बजारमा पशुहरूका लागि विभिन्न किसिमका औषधि उपलब्ध छन्। ख्वाउने, लगाउने तथा सुईको माध्यमले रोग निको पार्न सकिन्छ। त्यसैले समयमै पशु चिकित्सकसँग सल्लाह लिएर उपचार गराउँदा रोग निको हुन्छ।

डा. शरद सिहं यादव

एडभान्स पेट हस्पिटल, विशालनगर

 Image