Successfully Copied

गृहनिर्मातृका लागि लगानी योजना

सुरक्षित भविष्यका लागि बचत गर्नु मात्र पर्याप्त हुँदैन त्यसबाट राम्रो प्रतिफल प्राप्तिका लागि उचित ठाउँमा लगानी गर्नु पनि जरुरी छ।

सुरक्षित भविष्यका लागि बचत गर्नु मात्र पर्याप्त हुँदैन त्यसबाट राम्रो प्रतिफल प्राप्तिका लागि उचित ठाउँमा लगानी गर्नु पनि जरुरी छ। हरेक कामकाजी वा गृहिणी महिलाका लागि लगानी आवश्यक हुन्छ। यसले महिलाहरूमा कारोवार गर्ने प्रवृत्तिको विकास गर्छ। विशेषगरी गृहनिर्मातृहरूले ठूलोभन्दा पनि सानो लगानीमा आफूलाई प्रोत्साहित गर्नुपर्छ। अब पहिलेजस्तो घरका कुनाकुनामा पैसा लुकाउने वा खुत्रुकेमा जम्मा गर्ने समय छैन। त्यस्तो बचतले खासै ठूलो काम पनि गर्दैन, जम्मा भएर बस्ने मात्र हुन्छ जसबाट कुनै प्रतिफल आउँदैन। आर्थिक स्वतन्त्रता अनुभव गर्ने हो भने आफूले जम्मा गरेको पैसा लगानी गरी त्यसबाट प्रतिफल प्राप्त गर्नुपर्छ। यसले परिवारको आर्थिक सुरक्षामात्र होइन अरू धेरै फाइदा पनि हुन्छ।

मानिसहरूमा महिलाहरू राम्रो लगानीकर्ता बन्न सक्दैनन् भन्ने भ्रम छ। महिलाहरूलाई ब्याज, शेयर तथा मुद्दतीका विषयमा त्यति ज्ञान हुँदैन भन्ने अधिकांशको सोचाइ छ तर यो सत्य होइन। महिलाहरू बजारमा किनमेल गर्छन् त्यसैले उनीहरूलाई बजारभाउ तथा महँगीका सम्बन्धमा मात्र जानकारी हुन्छ। बजार घुम्दा उत्पादनको मूल्य, त्यसको गुणस्तर तथा मागका सम्बन्धमा स्पष्ट हुन्छ। त्यसकारण यही जानकारीका आधारमा उनीहरू शेयरमा लगानी गर्न सक्छन्। कुनै पसल खोलेर आफ्नो बचत सदुपयोग गर्न सक्छन्।

कसरी छनोट गर्ने विकल्प

कुनै पनि ठाउँमा लगानी गर्नुअघि आफ्नो लक्ष्य निर्धारित गर्नुपर्छ। आफ्नो लक्ष्य के हो, आफ्नो चाहना के हो र त्यसलाई पूरा गर्न के गर्नुपर्छ स्पष्ट हुनुपर्छ। आफ्नो जीवनको यात्रा कता गैरहेको छ त्यसको मूल्यांकन गर्नुपर्छ। घर वा लक्जरी कार खरिद वा विश्व भ्रमण गर्न दीर्घकालीन लक्ष्य बनाउन सकिन्छ। किनभने यस्ता लक्ष्य सानोतिनो पुँजीले पूरा गर्न सकिँदैन। धेरै महिनाअघिदेखिको योजना तथा जम्मा पुँजीबाट मात्र त्यसलाई पूरा गर्न सकिन्छ। त्यसैगरी बालबालिकाहरूको उच्च शिक्षा, विवाह, स्कुटर खरिद आदि अल्पकालीन रूपमा पनि पूरा गर्न सकिन्छ। मानिसको रुचि तथा चाहना भन्ने कुरा समयसँगै परिवर्तित हुँदै जान्छ। उमेरअनुसार आफ्नो लक्ष्य निर्धारण गरी आफ्नो लगानीको दायरालाई परिवर्तित गर्दै लानुपर्छ।

२० वर्ष

यो उमेरका महिलाहरू जागिरमा हुन्छन् वा कलेजमा। यो उमेरमा पैसाको अभाव हुन्छ। आफूले चाहेका सबै कुरा खरिद गर्न सकिँदैन। बचत गर्ने सही माध्यम पनि हुँदैन। यद्यपि कुनै खाता खोली पैसा जम्मा गर्दा फरक पर्दैन। अहिले नेपालका कतिपय बैंकमा ० ब्यालेन्समा खाता खोल्न सकिन्छ। यसमा आफूसँग पैसा हुँदा जम्मा गरेर आवश्यक पर्दा निकाल्न सकिन्छ। यसो गर्दा सावामा ब्याज पनि जोडिन्छ। त्यसैगरी शेयरमा लगानी गर्न सकिन्छ। शेयरमा अरूभन्दा कम रिस्क हुन्छ।

३० वर्ष

गृहनिर्मातृको नाताले यो उमेरका महिलाहरूसँग पनि भनेजति पैसा हुँदैन तर पनि परिवारका लागि स्वास्थ्य बीमा गर्न सकिन्छ। स्वास्थ्य बीमाले परिवारको हितमै काम गर्छ। बिरामी पर्दा पनि यसले सहयोगीको भूमिका निर्वाह गर्छ। आवश्यक हुँदा यसले संजीवनीको काम गर्छ। अनावश्यक खर्च कटौती गरी बचतको रकम बालबालिकाहरूको उच्च शिक्षाका लागि प्रयोग गर्न सकिन्छ। आफू तथा आफ्नो जीवनसाथीका लागि रिटायरमेन्ट प्लान तयार गर्न सकिन्छ। खर्चालु योजनाभन्दा मितव्ययितालाई प्रश्रय दिनुपर्छ। सुनका गहनामा लगानी गर्नुभन्दा सुनको सिक्कामा लगानी गर्नु बुद्धिमानी हुन्छ। सुन लगानीका लागि राम्रो विकल्प हो।

४० वर्ष

बालबालिकाहरूको उच्च शिक्षा, विवाह तथा रिटायरमेन्टका लागि यो उमेर निकै उपयोगी मानिन्छ। यदि कोही १५ सय स्क्वायर फिटको घर खरिद गर्ने योजनामा भए १ हजार स्क्वाएर फिटको खरिद गर्नुपर्छ वा खरिद गरे खाली भागलाई भाडामा दिन सकिन्छ। उक्त ठाउँ पेइङ गेस्टलाई दिन सकिन्छ। त्यसबाट प्राप्त हुने रकम छोराछोरीहरूको विवाह तथा अध्ययनमा प्रयोग गर्न सकिन्छ।

५० वर्ष

यो उमेरमा डुब्ने खतरा हुने ठाउँमा लगानी गर्नु हुँदैन अर्थात् लगानी गर्दा निकै विचार पुर्‍याउनुपर्छ। अल्पकालीन लगानीमा जोड दिनुपर्छ। अन्तिम समयलाई कुर्नु हुँदैन। शिशुको भर्नाको कुरा छ भने भरसक छिटो गर्नुपर्छ। अहिले बजारको कुनै भरोसा छैन। कुनै समय शेयरमा लगानी उच्च थियो कुनै समय घरजग्ग्ाामा लगानी उच्च भयो तर अहिले त्यसको समय छैन। त्यसैले यो उमेरमा बजारमा नगएर आफ्नो अनुभवमा विश्वास गर्नुपर्छ।

६० वर्ष  

यो उमेरलाई ढल्कदो उमेर पनि भनिन्छ। आफूले गरेको लगानीको परिणाम चाख्ने उमेर यही हो। आफूले ठाउँठाउँमा गरेको लगानी कसैका नाममा ट्रान्सफर गर्ने इच्छा भए गराउनुपर्छ। आफ्नो नगद मुद्दती खातामा राख्नुपर्छ। यसबाट राम्रो ब्याज प्राप्त गर्न सकिन्छ। यो उमेरमा जटिल योजनाहरूमा लगानी गर्नु हुँदैन। तुरुन्तै परिणाम प्राप्त हुने क्षेत्रमा लगानी गर्नु उपयुक्त हुन्छ।

 Image