मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’

हामी नेपाली संंस्कृति तथा परम्पराले धनी छौं। ती परम्परामध्ये एउटा गौरवशाली परम्परा आमालाई सम्मान गर्ने दिन वा आमाको मुख हेर्ने दिन पनि हो। यो पर्व वैशाख औंसीमा पर्छ जुन मातृऔंसीका रूपमा प्रसिद्ध छ। यो दिन विशेष गरी जन्म दिने आमालाई मेवा-मिष्ठान्न ख्वाएर तथा विभिन्न उपहार प्रदान गरेर खुसी बनाउने प्रयास गरिन्छ। औंसी आउनु एक हप्ताअघिदेखि नै मिठाईं पसलहरूको चहलपहल र रौनक बढ्छ।
मातातीर्थ औंसी आउनु एक महिनाअघिदेखि नै बजारको चहलपहल बढ्छ, पसलहरूमा नयाँ-नयाँ सामग्री आउन थाल्छन्। साडी पसलमा पनि उत्तिकै भीड लाग्छ। न्यूरोडका व्यवसायी अर्जुन गुप्ता आमाको मुख हेर्ने समय व्यापारको पिक सिजन भएको बताउँछन्। यो समयमा पसलमा ग्राहकको भीडले गर्दा खुट्टा राख्ने ठाउँ पनि हुँदैन। गुप्ता यो वर्षको आमाको मुख हेर्ने सामान आइसकेको बताउँछन्। धेरैजसोले सिफनका साडी र धोती लाने गरेको उनको अनुभव छ। इम्ब्रोइडरी साडी पनि केही मात्रामा बिक्री हुने उनी बताउँछन्। यसैगरी मैतीदेवीका व्यवसायी दिनेश श्रेष्ठ पनि यो समयमा पसलमा धेरै नै व्यस्त हुने बताउँछन्।
सबै छोराछोरीका लागि यो दिन महत्वपूर्ण हुन्छ। यो दिन आफ्नी आमालाई आदरका साथ विभिन्न उपहार प्रदान गरिन्छ। विदेशमा भएका छोराछोरीले पनि आफ्नी आमालाई सम्झनास्वरूप विभिन्न वेबसाइट तथा आफन्तमार्फत उपहार पठाउँछन्। अस्टे्रलियामा भएकी छोरी प्रतिभाले गत वर्षको औंसीमा आफ्नी आमाका लागि चेन उपहार पठाएकी थिइन्। यसपटक पनि आमालाई उपहार दिने योजनामा भएको प्रतिभा बताउँछिन्। स्वदेशमा भन्दा पनि विदेशमा बस्दा आफ्नो देश र आमा बढी मिस हुने उनले बताइन्। यसैगरी ज्ञानेश्वरकी रीताले अघिल्लो वर्ष आमालाई साडी दिएकी थिइन् भने यसपटक कुर्ता-सुरुवाल दिने सोचमा छिन्।
आफूलाई माया गरेर हुर्काउने आमालाई एकदिन माया गरेर राम्रो उपहार दिँदैमा आमाको सम्मान भएको मान्न नसकिने गृहिणी उषा बताउँछिन्। उषाका अनुसार तर पनि यो दिनले धेरै ठूलो अर्थ बोकेको हुनाले म मेरी आमालाई प्रत्येक वर्ष साडी, मिठाईं तथा फलफूल दिएर मुख हेर्छु। यसैगरी कलंकीकी विनाले गत वर्ष आफ्नी आमालाई तिलहरी उपहार दिएकी थिइन्। यसपटक टप दिएर आमाको मुख हेर्ने सोचमा छिन् उनी।
आमाको मुख हेर्ने दिन आमा नहुनेहरू मातातीर्थ, पशुपतिनाथ तथा आफ्ना पायक पर्ने स्थानमा गएर आमाको सम्झनामा पूजाआजा तथा सिदा दान गर्छन्। मैतीदेवीकी शान्ता पनि हरेक वर्ष आफ्नी आमाको सम्झनामा मातातीर्थ गएर पूजा गर्छिन्। आमा नभए पनि त्यहाँ जाँदा आत्मिक शान्ति प्राप्त हुने उनको अनुभव छ।
जन्म दिने आमालाई माया, सम्मान दिनु राम्रो कुरा हो तर एकदिन मात्र आमालाई माया गरेर हुँदैन, हरेक दिन माया गर्नुपर्छ। हरेक दिन पूजा गर्नुपर्छ। हरेक दिनलाई आमाको मुख हेर्ने दिनका रूपमा लिनुपर्छ तब मात्र सही अर्थमा आमाप्रतिको सम्मान झल्कन्छ। आमालाई सम्मान एवं माया दिए मात्र आफ्नो कल्याण हुन्छ।
आमालाई दिन सकिने उपहार
साडी, सल, तिलहरी, टप, मिठाईं, जुत्ता, फलफूल, क्रिम, कुर्ता-सलवार, ब्याग आदि।
मातातीर्थ र मातृऔंसीसम्बन्धी किंवदन्ती
एक युवा गाई चराउन पोखरी नजिक गएका थिए। गाई चराउने क्रममा उनको खाजा खाने समय भएको थियो। खाजा खान लाग्दा उनको खाजाको केही भाग पोखरीमा खस्यो। पोखरीमा आफ्नो खसेको खानेकुरा हेर्दा उनले त्यहाँ आफ्नी मरेकी आमाको आकृति देखे जुन दिन औंसी थियो।
त्यसपछि ती युवाले आफ्नी आमालाई आफूसँगै घर जान अनुरोध गरे। उनकी आमाले पोखरीभित्रैबाट मरिसकेको मानिस घर जान सम्भव हुँदैन भनिन्। त्यतिबेला उनले वैशाख कृष्ण औंसीको दिन त्यही पोखरीमा देखिने वाचा गरिन्। त्यसपछि ती युवा खुसी हुँदै घर फर्किए। ती युवा प्रत्येक वर्षको कृष्ण औंसीका दिन पोखरीमा गएर आफ्नी आमाको अनुहार हेर्न थाले। त्यही समयदेखि आमा नहुनेहरू औंसीका दिन आफ्नी आमाको अनुहार देखिने विश्वासमा मातातीर्थ जान्छन्।
कसरी मनाउने ?
धर्म-संस्कृतिले धनी नेपालमा धेरै जात-जाति, भाषा एवं परम्परा छन्। सबैले आ-आफ्नो चलनअनुसार यो पर्व मनाउँछन्। कसैले यो पर्व बिहानै मनाउँछन् भने कसैले दिउँसो त कसैले बेलुकी मात्र मनाउँछन्। यो दिन आफ्नी आमालाई मनपर्ने परिकार बनाएर ख्वाइन्छ। यो पर्व आफ्नो चलनअनुसार आफ्नी आमाको सम्मान गरेर मनाइन्छ।