Successfully Copied

सेलिब्रेटी छोराका नजरमा आमा

आमा शब्दमा जति आत्मीयता र मिठास लुकेको हुन्छ अन्य कुनै शब्दमा हुँदैन। एक महिलाका लागि आमा बन्नु आफ्नो अर्को जन्म हुनु मानिन्छ।

आमा शब्दमा जति आत्मीयता र मिठास लुकेको हुन्छ अन्य कुनै शब्दमा हुँदैन। एक महिलाका लागि आमा बन्नु आफ्नो अर्को जन्म हुनु मानिन्छ। हरेक मान्छेका जन्मदाता आमाहरू आफ्ना छोराछोरीको प्रगतिका लागि सदैव मार्गदर्शक बनिरहेका हुन्छन्। प्राय: मानिसहरूले सुखद् क्षणमा आमाहरू माया, स्नेह, त्याग, तपस्यालाई भुले पनि जीवनको उतारचढाव, दुखद् पल, असफलतामा पनि आमाकै सम्झना आउँछ। हुन पनि सबैभन्दा चोखो माया नै आमाले आफ्ना सन्तानलाई दिने माया हो। यही मेसोमा यसपटक नारीले विभिन्न क्षेत्रमा विशिष्ट स्थान बनाएका छोराहरूको नजरबाट आमालाई नियालेको छ ।

सकारात्मक सोच र निर्णय क्षमता आमाबाट पाएँ

गगन थापा, राजनीतिज्ञ

आमा : रामेश्वरी थापा, गृहिणी

आमा ममताकी खानी हुनुहुन्छ। त्यसमा विशेषण थपिरहनु पर्दैन। ममताको पर्यायवाची आमा सबैका लागि विशेष हुन्छन् तर मेरा लागि आमा अलि बढी नै विशेष हुनुहुन्छ। म जे छु,, जे सोच्छु, जे गर्न हुन्छ, गर्नुहुन्न, जे गर्दा डराउँछु, जे गर्दा डराउँदिन त्यसलाई सेभ गर्ने, आकारमा ल्याउने सबै प्रभाव आमाकै हो। मेरी आमा साक्षर मात्र हुनुहुन्छ तर मैले कुन कुरा सही र कुन गलत भन्ने छुट्याउन पनि उहाँबाट सिकें। राजनीतिमा निर्णय गर्दा, कुन राम्रो हो, केलाई प्राथमिकता दिने भन्ने कुरा भित्रैबाट पैदा हुन्छ, जसको श्रेय मेरी आमालाई नै जान्छ। ममा लोभ, सम्पत्ति थुपार्ने चाहना नहुनु र सहयोग गर्ने भावनाको विकास पनि आमाबाटै आएको हो। आमाले दु:ख र आपत्मा परेका मानिसहरूलाई बुबासँग लुकाएर सहयोग गर्नुहुन्थ्यो जसबाट उहाँलाई सन्तुष्टि मिलेको देख्दा ममा पनि सहयोगको भावना बढेको हो। आमाको कुरा गर्दा बाल्यकालको एउटा घटना सम्झन्छु। बुबाको कामको सिलसिलामा हामी सिन्धुपाल्चोक जिल्लाको लामोसाँघुमा बस्थ्यौं। म १ कक्षामा पढ्थें, म कसैले दिएको रातो टिसर्ट लगाएर खेल्न गएको थिएँ। त्यहाँ एउटी दिदीको सानो छोराले मेरोजस्तै लुगा चाहियो भनेर दु:ख दियो र मैले आफ्नो त्यही टिसर्ट फुकालेर उसलाई दिएँ। घर फर्किएपछि बुबाले गाली गर्नुभयो तर आमाले छोडिदिनुस्, माग्यो होला, रोयो होला दियो भन्नुभयो। हो यस्ती मायाकी खानी हुनुहुन्छ, मेरी आमा तर केही गल्ती गरेर बुबाले कुट्नुभएको वा गाली गर्नुभएको अवस्थामा भने कहिल्यै बचाउनु भएन। हामी चार जना छोरा सबैलाई गलत मार्गमा जान आमाका यस्तै कुराहरूले रोके। मैले कहिलेकाहीँ ठूला राजनीतिक निर्णय लिँदा मेरो मनमा आमाका सकारात्मक सोचहरू आउँछन् र म कुनै कुरामा पनि डगमगाउँदिन।    

बुबा र मेरो मध्यस्थकर्ता

गौरव पहाडी, नायक

आमा : मञ्जु पहाडी, गृहिणी

हरेक व्यक्तिको मात्र होइन सबै प्राणीका लागि पनि आमा भन्नासाथ आदर, माया र केयरको भावना मनमा आइहाल्छ। म पनि आमाको माया र मार्गनिर्देशनबाटै आफूले चाहेको बाटोमा सहज रूपमा हिँड्न सकेको हुँ। बुबा सुटिङको सिलसिलामा काठमाडौंतिरै हुनुहुन्थ्यो र आमा नवलपरासीमा घरपरिवार सम्हाल्नुहुन्थ्यो। आमाले सानैदेखि मलाई दाइहरूलाई भन्दा बढी माया गर्नुहुन्थ्यो। म मामाघरमै हुर्किएँ। पछि राम्रो शिक्षा दिनुपर्छ भनेर आमाले मलाई ४ कक्षादेखि काठमाडौंमा होस्टलमा राखेर पढाउनुभयो। होस्टलमा सधैजसो आमाको मायाको अभाव महसुस भैरहन्थ्यो। आमाले हरेक पल्ट राम्रोसँग पढ भन्नुहुन्थ्यो तर उहाँले मेरो कुनै पनि निर्णयमा रोक लगाउनुभएन। एक्टिङ पढ्छु भन्ने मेरो महत्वपूर्ण निर्णयमा आमाले मुख्य भूमिका खेल्नुभयो। अहिले पनि म एक्लै काठमाडौंमा बसेर अभिनययात्रा गरिरहेको छु। हरेक दिन आमाले फोन गरेर के खायौ, कस्तो छ, काम कस्तो भैरहेको छ भनेर सोधिरहनुहुन्छ। उहाँ बुबा र मेरो मध्यस्थकर्ताका रूपमा पनि काम गर्नुहुन्थ्यो। मेरो अभिनय राम्रो भएको बुबाले आमालाई भनेपछि आमाले मलाई सुनाउनुहुन्छ। यसरी आमा मेरो काममा सधैं सहयोगीका रूपमा अघि बढिरहनुभएको छ।   

आमाकै कारण कलाकार बनें

सुबोध घिमिरे, बाग्मती अञ्चल प्रहरी प्रमुख तथा आर्टिस्ट

आमा : शान्ति घिमिरे, साहित्यकार

आमा भन्नासाथ आमाको न्यानो काख र मायाको अनुभूति गर्छु। हरेक सन्तानको पहिलो गुरु नै आमा हुन्छन्। मेरो जीवन सही दिशातर्फ लाग्नुमा र म जति असल छु त्यो बन्नुमा उहाँको मुख्य योगदान छ। मेरी आमा टक्सारमा जागिरे हुनुहुन्थ्यो, आमाले दु:ख गरेर हामीलाई राम्रो शिक्षा दिनुभयो र सही मार्गमा हिँड्न सिकाउनुभयो। आमाले हामी सबैलाई बराबर माया गर्नुहुन्थ्यो। ममा कलाप्रति मोह जाग्नुमा आमाकै हात छ। बाल्यकालमा म चित्रहरू कोर्थें तर सिकेर त्यसलाई निरन्तरता दिन सकिन्छ भन्ने कुरा थाहा थिएन। ६ कक्षामा पढ्दा आमाले नेपालकै पहिलो आर्ट ग्यालरी पार्क ग्यालरीमा आर एन जोशी (रमानन्द जोशी) कहाँ आर्ट सिकाउन पुर्‍याउनुभयो। यसरी त्यतिबेला मेरो कला यात्रामा उहाँको ध्यान नपुगेको भए म प्रहरी मात्र हुन्थें होला। सानोमा चित्र कोर्दा, कविता वा कथा लेख्दा सधैं आमाले प्रेरणा दिनुहुन्थ्यो। साहित्य, कला र संगीत भनेको जीवनलाई सही मार्गमा लाने बाटोका रूपमा बुझाउनु हुन्थ्यो। मैले घरमै आफ्ना ल्यान्डस्केपहरू संकलन गरेको छु, छिटै कला प्रदर्शनी पनि गर्दैछु। यसको जस आमालाई नै जान्छ। हाम्रो हरेक निर्णयमा उहाँकै स्वीकृति हुन्थ्यो। उहाँको यही स्नेह, माया र असल चित्तले नै हामी कहिल्यै खराब बाटोमा मोडिएनौं। मलाई अहिले पनि सम्झना छ, सानोमा उहाँले भन्ने कथामा सबै राम्रा उदाहरण मात्र हुन्थे। अहिलेसम्म पनि मेरो कुनै कदम गलत भैरहेको छ कि भनेर दिनभरिका कुराहरू सोध्नुहुन्छ र भन्नुहुन्छ, 'तिम्रो पेसा जनताको सेवा, हित र हिफाजतका लागि हो।' त्यसैले मेरी आमा मेरो जीवनकै एक मात्र प्रेरणाकी स्रोत हुनुहुन्छ।  

क्लोज फ्रेन्ड

आस्तिक शेरचन, फेसन डिजाइनर

आमा : उषा शेरचन, साहित्यकार

आमा मेरी क्लोज फ्रेन्ड हुनुहुन्छ। जे-जस्तो कुरा पनि म आमासँग सेयर गर्छु। कक्षा ४ मा मलाई पञ्चगनीको होस्टलमा राख्नुभयो। त्यतिबेला किन मलाई आमाबाट टाढा एक्लै होस्टलमा राखिएको होला जस्तो लाग्थ्यो तर पछि थाहा पाएँ त्यो समय नेपालमा जनयुद्ध चर्किएकाले छोराको मायाकै कारण आफूबाट टाढा होस्टलमा राख्नुभएको रहेछ। ८ कक्षासम्म वर्षको ३ पटक घर आउन मिल्थ्यो त्यतिबेला आमा आफै लिन आउने र पुर्‍याउने काम गर्नुहुन्थ्यो। मेरी आमा एकदमै माया गर्ने, जे भन्यो त्यही पूरा गरिदिन खोज्ने प्रकृतिकी हुनुहुन्छ। ए लेबल पढ्न रातो बंगला आएपछि ममा कन्फिडेन्स बढ्यो। सानैदेखि केही नयाँ काम गरौं भन्ने सोच थियो। त्यही भएर आमासँग फेसन डिजाइनिङ पढ्छु भन्दा सुरुमा सबै अचम्मित भए। बुबालाई ६ महिना लगाएर मनाएपछि आमाबुबा सँगै गएर फ्रान्समा मैले नै खोजेको फेसन डिजाइनिङ कलेजमा भर्ना गरी बस्ने व्यवस्था मिलाइदिएर र्फकनुभयो। आमा साहित्यमा र बुबा व्यवसायी भएकाले मेरो यो लाइनमा गाइडेन्स भने पाइन तर मोरल्ली र इकोनोमिक सपोर्ट भयो। आमालाई म आइडियल पर्सन मान्दिन र कुनै पनि सन्तानले आफ्ना आमाबुबालाई आइडियल मान्नु हुँदैन। मेरी आमाले मलाई धेरै माया गर्नुहुन्छ। मेरी  आमाको कृतिको पहिलो र राम्रो समीक्षक पनि मै हुँ। आमाले जे लेखे पनि मलाई पढ्न लगाएर मात्र छाप्नुहुन्छ। आमाले मलाई पनि साहित्यमा कलम चलाए हुन्थ्यो भन्नुहुन्थ्यो तर भारतमा पढेको हुनाले मेरो नेपाली त्यति राम्रो भएन। यद्यपि नेपाली भाषामा कलम चलाएर आमाको चाहना पूरा गरिदिने सोच छ। आमाले मेरो हरेक निर्णयलाई सहयोग गर्नुभएको छ। हाम्रो क्लोजनेस अहिले अझ बढेको छ। आमालाई वेस्ट फ्रेन्ड भन्नमा मलाई कुनै अप्ठ्यारो लाग्दैन।  

मेरो खेल हेर्न सक्नुहुन्न

विशाल श्रेष्ठ, फुटबल खेलाडी

आमा : मिश्रीमाया श्रेष्ठ, गृहिणी

मायाको सुरुवात र अन्त्यको नाम जस्तो लाग्छ, आमा। आमाको मायाबिनाको संसार कल्पना गर्न पनि डर लाग्छ।  हरेक समय माया मात्र बाँड्न जान्ने आमा जसको सहयोगमा म आज यहाँ आइपुगें। मेरा हरेक राम्रा-नराम्रा क्रियाकलापमा मेरी आमाको विशेष भूमिका छ। सिन्धुपाल्चोक जिल्लाको टौथलीमा जन्मिए पनि म कपनमा हुर्किएँ। तीन जना दिदीको कान्छो भाइ भएकाले पनि म सबैको प्रिय छु। सानैदेखि फुटबलमा रुचि भएकाले घर नजिकै खेल्न निस्कन्थें तर त्यतिबेला आमाले खेलमा भन्दा पढाइमा बढी ध्यान देऊ भन्नुहुन्थ्यो तर मेरो फुटबलप्रतिको रुचिका कारण एन्फामा अन्डर १२ का लागि होस्टलमा पढाउन पहल गर्नुभयो। ७ कक्षामा पढिरहेको म एक्लो छोरो एन्फामा पढ्न जाँदा आमा चिन्तित हुनुभएको थियो। होस्टलमा ७ वर्षजति बस्दा मैले आमालाई जति अरू कसैलाई सम्झिन। एन्फाको सातदोबाटोमा पढ्दा आमा समय-समयमा भेट्न आउनु हुन्थ्यो। राम्रोसँग पढ र खेल भन्नुहुन्थ्यो। होस्टलमा बस्दा दिउँसो पढाइ र खेलमा रमाए पनि सुत्ने बेला आमालाई सम्झिएर रुन्थें। एन्फामा १० दिन लामो सेलेक्सनमा सधैं आमा आएर मेरो हौसला बढाइदिनुहुन्थ्यो। त्यसैको प्रतिफल मैले नाम निकालेर आज यो ठाउँमा आउन सफल भएँ। १ वर्षअघि हात भाँचिएर वर्ष दिन खेल्न नपाउँदा आमा धेरै दु:खी हुनुभयो भने मैले बाइक उपहार पाउँदा निकै खुसी हुनुभएको थियो। मेरो जीवनका हरेक उतारचढाव र निर्णयमा उहाँकै भूमिका छ।

रोल मोडल मेरी आमा

नरेश भट्टराई, सञ्चारकर्मी

आमा : रत्नमञ्जरी भटट्राई

आमाबिनाको जीवन कल्पना पनि गर्न सकिँदैन। मेरो जुन परिचय छ, सबै आमाकै देन हो। माया, सद्भाव दिने, हुर्काउने, बाटो देखाउने सबै काम आमाले गर्नुभयो। म चार छोरामध्ये कान्छो हँु। आमाले अहिलेसम्म मेरो चित्त दुखाउने काम गर्नुभएको छैन। मलाई आमाले कुनै कुरामा दबाब दिनुभएको छैन। प्रेसरमा कुनै काम गराउनुभएन। उहाँको बौद्धिकता पढे-लेखेकाहरूको भन्दा कम देखिँदैन। उहाँ हाम्रो मनोभाव बुझेर मात्र कुरा गर्नुहुन्छ। बुबा कडा मिजास र रिसाइहाल्ने स्वभावको हुनुहुन्छ। आमाले नै सधैं ब्यालेन्स, घरपरिवार, साथी सबैमा म्यानेज गर्नुहुन्थ्यो। कसलाई के चाहिन्छ, बुझेर मात्र काम गर्ने उहाँको बानी छ। आमाकै कारण हामी सबै आ-आफ्नो क्षेत्रमा सफल भयौं। अहिलेसम्म आमा रिसाएको थाहा छैन। हरेक आमा सहनशील हुन्छन् तर मेरी आमाको सहनशीलता अझ बेजोड लाग्छ। हिँड्न नसक्दा पनि उहाँको अनुहारमा हाँसो हुन्छ। पहाड ओखलढुंगाबाट तराई सर्लाहीसम्म बसोबास गर्दा उहाँले धेरै दु:ख पाउनुभयो। बुबा बाहिर हिँडिरहने हुँदा सबै काम आमाले नै गर्नुभयो। बुबाले कमाउने काम गरे पनि घरलाई व्यवस्थित गर्ने काम आमाले गर्नुहुन्थ्यो। मेरी आमा धेरै कुरामा उदाहरण हुनुहुन्छ। म अहिले हप्ताको २-३ पटक उहाँसँग फोनमा कुरा गर्छु। अहिले पनि आमाले आफ्नो काममा लगनशील भएर लाग भनेर सम्झाइरहनुहुन्छ।    

आमाको सहयोगका कारण संगीतमा लागें

कमलमान सिंह श्रेष्ठ, गायक, संगीतकार तथा गीतकार

आमा : आरती सिंह

म सानैदेखि जिद्दी र एकोहोरो थिएँ। एउटा कुरा गर्छु भनेपछि त्यो काम पूरा नगरेसम्म निरन्तर लागिरहने मेरो स्वभावसँग मेरी आमा कहिल्यै दिक्क हुनु भएन। ६ कक्षामा पढ्दा नै गितार बजाएर गीत गाउन थालेको थिएँ। आमाले मेरो संगीतप्रतिको रुचि देखेर गीत नगाऊ भन्नुभएन। त्यति मात्र होइन मेरो संगीतको करिअरको मुख्य क्षण अर्थात् पहिलो पटक मेरो शब्द र संगीतमा एल्बम निकाल्न आमाले ७० हजार रुपैंयाँ दिनुभएको थियो। आमाले त्यो पैसा नदिनु भएको भए यो क्षेत्रमा मेरो आगमन नहुन पनि सक्थ्यो। दाइ-भाउजू अस्ट्रेलियामा र भाइबुहारी अमेरिकामा बस्ने भएकाले अहिले पनि आमासँग मेरो सम्बन्ध अरूको भन्दा बढी राम्रो छ। स-साना कुरामा पनि चासो राख्ने र गलत बाटोमा हिँडेको छ कि भनेर क्रसचेक गर्ने बानी उहाँमा अहिले पनि छ। मेरो जीवनमा सबैभन्दा माया गर्ने, केयर गर्ने र कडा नियममा राख्ने व्यक्ति नै आमा हुनुहुन्छ। हरेक  परिस्थितिमा सहयोग गर्ने मेरी आमा नै मेरा लागि संसार हुनुहुन्छ। अहिले पनि मैले घर-व्यवहारमा त्यति ध्यान दिएको छैन केवल संगीत सिर्जनामै व्यस्त छु। अनेकौं प्रोजेक्ट हातमा छन्, म तिनलाई कसरी राम्रो र मीठो बनाउने धुनमा हुन्छु। तैपनि आमाले संगीत छोडेर अरू काम गर भन्नुभएको छैन। उहाँको एउटै गुनासो छ, विवाह गरेन भन्ने, त्यसका लागि पनि म आफूलायक जीवनसाथीको खोजीमा छु, म आमालाई कुनै कुराले दु:ख पुर्‍याउन चाहन्न किनभने उहाँकै योगदान र मायाले आज म यहाँसम्म आइपुगेको हुँ।

रमाउन सिकाउने आमा

साकार श्रेष्ठ, आर्किटेक्ट, लेक्चरर तथा आर्टिस्ट

आमा : नीलम श्रेष्ठ, गृहिणी

जीवनमा म जहाँ, जस्तो अवस्थामा पुगे पनि आमाको मायाबाट कहिल्यै टाढा हुन सक्दिन। मलाई सही बाटोमा उभ्याउन उहाँले गरेको प्रयास प्रशंसनीय छ। जीवनका तीता-मीठा यथार्थमा कसरी प्रस्तुत हुने भन्ने कुरा मैले उहाँकै जीवनबाट सिकें। सरल, सुशील र दयालु मेरी आमा सधै हामी चारै छोराछोरीलाई पढ्नुपर्छ, शिक्षित हुनुपर्छ, दु:खमा परेकाहरूलाई सहयोग गर्नुपर्छ भन्नुहुन्थ्यो। सही मार्गमा अघि बढी इमान्दारिताका साथ मेहनत गरे अवश्य सफल भइन्छ भन्नुहुन्थ्यो। आमा भन्नासाथ म दुई कक्षामा पढ्दाको एउटा कुरा सधैं सम्झन्छु। स्कुलबाट भागेर बिगि्रएको ट्रकमा बसेर टिफिन खाइरहेको बेला आमाले देखी कान समातेर स्कुल पुर्‍याइदिनुभयो। त्यो घटना आमाले नदेख्नुभएको भए के थाहा, म त्यही बाटोमा हुन्थें कि ? आमा खाना एकदमै मीठो बनाउने, बुहारीहरूसँग छोरीको जस्तै व्यवहार गर्ने अनि स्वतन्त्रता प्रेमी हुनुहुन्छ। जहिले पनि बुहारीहरूलाई पनि तिमीहरू आफ्नो काम मन लगाएर गर, घर र बच्चाहरूको चिन्ता गर्नु पर्दैन भन्नुहुन्छ। बच्चाहरूलाई खाना पठाइदिने, स्कुलबाट फर्किएपछि हेर्ने काम आमाले नै गर्नुहुन्थ्यो। मेरा जुम्ल्याहा छोरी त जतिबेला पनि उहाँसँगै बस्न खोज्छन्। मेरी आमा एकदमै रमाइलो गर्नुपर्ने स्वभावकी हुनुहुन्छ। नाचगान गरी सबैसँग राम्रो व्यवहार गर्ने भएकीले पारिवारिक जमघटमा उहाँ हुनुभएन भने सबैले खल्लो महसुस गर्छन्। हामीलाई काम गरेर मात्र हुँदैन रमाइलो पनि गर्नुपर्छ भनेर आमाले नै सिकाउनुभएको हो।

 Image