चार दिनसम्म एकोहोरो बर्सिएको साउने झरीपछि बल्ल धर्तीले घामको न्यानो स्पर्श पाएको थियो । काठमाडौं उपत्यकाको मुहार भने घामले उज्यालिएको थियो । बानेश्वरको व्यस्त क्याफेको छतमा हामी आमाछोरी कफीको चुस्कीसँगै त्यहाँबाट देखिने उपत्यकाको दक्षिण–पश्चिम भागको मनोरम दृश्यको आनन्द लिइरहेका थियौं । उपत्यकाको आनन्ददायक दृश्यपान गर्नका लागि व्यस्त थिए हाम्रा आँखा । वेटरले ल्याएको खाजापछि भोकले पेटमा मुसा दौडिरहेको कुरा थाहा भयो ।
मेरो दिनभरि अफिस, छोरीको कलेजको पढाइ अनि घर जानेबेला दुवैको लगभग उस्तै समय भएकोले हामी बानेश्वरको चोकमा भेटपछिकेही खाएर घर फर्किने एउटा रुटिङ बनेको थियो । यसैक्रममा छोरीलाई मन परेको डिस टेबलमा आएपछि ऊ दायाँ–बायाँ नहेरी, मलाई आँखाको संकेतले, ‘मैले त सुरु गरें, हजुर पनि खानुस्, मीठो छ’ भन्थिन् । आमालाई सन्तानले मीठो मानेर खाएको हेर्दानिकै खुसी लाग्दो रहेछ ।
उपत्यकाको मनोरम दृश्य र छोरीको खुसीसँगै रमाएको मेरो मनलाई हामी सँगै खाजा खाइरहेका मानिसहरूले घरीघरी तानिरहेका थिए । यसको कारण थियो–त्यहाँ रहेकी करिब तीन वर्षकी फूलजस्ती बालिका, जो हातभरि ब्ल्याक फरेस्ट केक आँखा चिम्म गर्दै, ‘मीठो छ, अर्काे पनि खाने’ भन्दै थिइन् । सायद उनकी आमा होलिन्, ‘धेरै खाइसक्यौ केक, अब त पेट दुख्छ सानुमायालाई, भोलि अझ धेरै खाने हस्’ भन्दै फकाउँदै थिइन् । हामीतिर ढाड फर्काएर बसेकी हुनाले, साइड लुक मात्र देखिएको ती बहिनीको अनुहार कताकता मसँग परिचितझैं लाग्यो । उनको पूर्ण मुहार हेर्न म लालायित भएँ । अनुहार हेरेपछि चिनेकै परिन् । तिनीसँग चार वर्षअघि नै दिदीबहिनीको साइनो गाँसेकी थिएँ । मैले तिनलाई बोलाएँ ।
‘माया बहिनी तपाईं यहाँ, अनि तपाईंकी सानी छोरी हुन् यी?’
उनले खुसी र आत्मीयता प्रकट गर्दै भनिन्, ‘शिवांशी दिदी, आज कस्तो संयोगले तपाईंसँग भेट भयो ।’
माया बहिनी विपश्यना साधना केन्द्र गएको चार दिनमा, मबाट छुटेयता मैले राख्ने जिज्ञासा हुने गथ्र्यो, ‘माया बहिनीले गरेको निर्णयको जित भयो त ? के उनको अधिकारको कदर भयो त ?’
छोटो भलाकुसारीपछि हामी आ–आफ्नो घरतर्फ लागेका थियौं । फर्किने क्रममा बाटोमा बेलुकीपखको शीतल बतासको स्पर्शसँगै चार वर्षअघिको कुराले मनलाई स्पर्श गरिरह्यो । साउनमै मायासँग भेट भएको थियो ।
मायालाई पहिलो पटक देख्दा नै मनले आफ्नो मानेको थियो । उनीमाथि आँखा पर्नुको कारण पनि स्वयं उनी नै थिइन् । उनी मनिर बसेकी थिइन् । तत्कालको समयलाई लिएर ममा जस्तो उत्सुकताका रेखाहरू उनका मुखाकृतिमा कोरिएका थिएनन् । हामी दुईबीचको सामान्य परिचयपछि उनलाई देखेर मनमा उठेका भावहरूलाई शान्त बनाउनु नै थियो मलाई । त्यसैले सोधेकी थिएँ–
‘हामी सांसारिक संसारबाट दश दिनका लागि आध्यात्मिक संसारमा जाँदैछौं । बिल्कुल अर्कै संसारमा, अर्कै जीवन बुझ्न, भोग्न, आफ्नो जीवनलाई मनन गर्न, आत्मालाई बुझ्न ..... अझ यो मेरो सोचाइभन्दा अलग पनि त हुनसक्छ त्यहाँको यथार्थता । अनि तपाईंलाई के लागिरहेको छ ?’
उनी केही समय शान्त रहिन् । उनका आँखा सजल भएका थिए । लाग्यो बित्थामा सोधेंछु । तर, अर्को मनले भन्यो, ‘उनको मनमा चिन्ताको भारी छ, सायद बिसाउन जाँदैछिन् ।’ फेरि अर्को मनले भन्यो, ‘उनीमा ममा जस्तो ध्यान, साधनालाई लिएर उत्सुकता होइन, गहिरो चिन्तन छ, उनी अहिले पनि सायद ध्यानमग्न पो छन् कि ?’
उनले मलाई दोहोरो जवाफ नदिएसम्म मेरा आफ्नै सवालजवाफले मनभित्र दोहोरी खेलिरहे । निकै बेरपछि लामो सुस्केरा हालेर उनी मुसुक्क मुस्कुराएकी थिइन् । त्यो मुस्कानले मेरा प्रश्नलाई शान्त बनाएको थियो । उनीसँगै म पनि मुस्कुराएकी थिएँ ।
‘तपाईं जति एक्साइटेड हुनुभएको छ, तपाईंले सोचेजस्तो नहुन पनि सक्छ, तपाईंको दश दिनको बसाइ ।’
उनको कुराले म फिस्स हाँसें मात्र, आफूले सोचेजस्तो उत्तर नआएर । हाँसोका कति रूप छन् है ।
ज्योति भवनमा हामी तीन घण्टाजति बस्यौं । त्यो बसाइले एक–अर्कालाई धेरथोर चिन्ने मौका मिल्यो । उनको कोखमा तीन महिनाकी छोरीले पूर्ण मानवाकृति बनाउँदै रहिछन् । पहिलो सन्तानका रूपमा छ वर्षकी छोरी रहिछन् । घरमा सासू, ससुरा र श्रीमान् रहेछन् । हिजो भर्खर भ्रूण जाँच गराएर आफ्नो कोखमा दोस्रो पटक पनि छोरी छ भन्ने कुरा थाहा पाएकी रहिछन् । उनी र उनकाश्रीमान्ले गर्भ जाँच नगराउने, गर्भमा जे भए पनि एक सन्तानबाट दुई सन्तान हुन्छन् । छोरीका लागि साथी हुन्छ । यसमा छोरा भए झनै राम्रो, छोरी भए पनि आफ्नो सन्तान हो । नराम्रो कर्म नगर्ने संकल्प गरेका रहेछन् । तर, भ्रूण जाँच गराउन बढी जोड उनकै सासू आमाको रहेछ र सासू आमा नै साथमा गएकी रहिछन् । सासू आमाले गर्भमा छोरी छ भन्ने थाहा पाएपछि उनलाई भन्थिन्, ‘यदि छोरी छ भने उतै एबर्सन गराउने ।’ यो कुराले माया निकै मर्माहित भइन् । जसोतसो सम्हालिएर त्यस दिनलाई टारेर भोलिपल्ट त्यहीँ पोलिक्लिनिक आउने कुरासहित सासूलाई लिएर घर फर्केकी थिइन् । घर आएपछि गर्भमा छोरी रहेको कुराले घरको माहोल नै अशान्त, शोकाकुल बनेको थियो । धन्न श्रीमान् उनको पक्षमा भएकाले र उनी स्वयं आफ्नो मातृत्व अधिकारको पक्षमा दह्रो भएर उभिएकीले सासूको जस्तोसुकै उर्दी पनि सामना गर्न सक्छु भन्ने दृढनिश्चय गरेकी थिइन् । उनकाश्रीमान् एउटा मात्र छोरा भएकाले र घरमा एउटी नातिनी भइसकेकीले यो गर्भकी नातिनी चाहिन्न भनेर सासूले भन्थिन् । जसरी भए पनि वंश धान्ने नाति चाहिन्छ भन्न थालिन् । त्यसैले गर्भ फ्या“क्ने विषयमा सासूबाट एकोहोरो दबाबबढेपछि, घरमा रहनुको साटो विपश्यनामा गए राम्रो भनेर उनी त्यता गएकी रहिछन् । अभल आफ्नो गर्भलाई बचाउनुपर्छ भन्ने सोचेर उनी दश दिनका लागि श्रीमान्को सल्लाहमा पा“च वर्षकी छोरी जिम्मा लगाएर ध्यान गर्न पुगेकी थिइन् । उनी विपश्यना आएको दोस्रो पल्ट रहेछ । हुन त विपश्यना आउन त्यतिसजिलै कहाँ मिल्छ र ? मैले महिनाअघि फर्म भरेर बल्ल सहभागी हुन पाएकी थिएँ । धन्न उनको चाहिँ चिनेको व्यक्ति त्यहाँ रहेछन् ।
उनले भोगेको तत्कालको अवस्था देखेर मन अमिलो भयो । उनलाई भएभरको आफ्नोपनको अंगालोले बेरेर, स्नेहले उनको काँध थुमथुमाउन र भन्न मन लागेको थियो, ‘बहिनी तिम्रो साहस र निर्णयलाई सलाम छ ।’ तर सकिन । सायद पहिलो चोटि भेटिएकीले होला । केही संकोच मभित्र थियो । बिस्तारै सोधें, ‘यहाँ आएर चाहिँ कसरी आफ्नो गर्भको रक्षा गर्न सक्नुहुन्छ ? सासू आमाले निकाल्नुभएको समस्याको समाधान हुन्छ त बहिनी ?’ उनले ओठमा खुसीको फूल फुलाउँदै भनिन् ।
‘म यहाँ दश दिनबस्न सकें भने मेरो एबर्सन टाइम क्रस हुन्छ । अनि डक्टरले पनि गर्न मान्दैनन् । यतिबेला म यहाँ आएको कारणले घरमा मेरा श्रीमान्ले धेरै कुरा सुन्नुपर्नेछ । आमाछोराबीच चर्काचर्की पनि पर्ला । तर, म नै घरमा नभएपछि, बुहारी उसको मूल्य–मान्यता, मातृत्व संरक्षणका लागि गएकी हो भन्ने कुरा अवश्य बुझ्नुहुनेछ । यतिबेला म उहाँको सामु नहुनु नै उचित लागेर म यहाँ आएकी हुँ । मैले जसरी पनि मेरी अर्की छोरीलाई यो संसारमा ल्याउनुछ । यहाँ आउनलाई पनि त मैले आफ्नो अफिसको जिम्मेवारी साथीलाई सुम्पिएर आएकी छु । यति सहज त कहाँ छ र मलाई आफ्नो जिम्मेवारी एकै पटक मिलाएर हिँड्न । तर, मेरो र मेरी छोरीको भाग्य भन्नुपर्छ कि ऊ गर्भदेखि नै आध्यात्मिक साधनामा अभ्यस्त हुनेछिन् । राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने विपश्यना साधनामा जोकोही मानिस कहाँ आउन सक्छ र ? को आँट गर्न सक्छ र ? हुन त म बाध्यताले यहाँ आएकीे हुँ अहिले । मेरो गर्भमा छोरा भएको भए, अहिले म घर, अफिस गर्थें होला । सबैको मन र अनुहारमा खुसी छाउँथ्यो । माहोल अर्कै बन्थ्यो । सन्तानका रूपमा छोरा र छोरी दुबै भएको कसलाई राम्रो लाग्दैन र ? कसलाई पूर्ण लाग्दैन र आफ्नो जीवन । तर, यसो हुन सकेन । सत्य जे हो त्यो स्वीकार गर्नुपर्छ । मेरो भागमा जे छ, त्यो मैले पाउने हो अनि किन म यहाँ दुःखी हुनु व्यर्थमा । स्वस्थ छोरीलाई जन्म दिन सक्नु महत्वपूर्ण कुरा हो । यही कुरा घरमा सबैले नबुझेर, घरको वातावरण खल्लो भएको छ । यो उहाँहरूले खराब मान्नुभएको समय र पन्छाउन खोज्नुभएको मेरी छोरीको जीवन रक्षाका लागि यो अपूर्व ठाउँ हो । यो ठूलो भाग्य हो कि मेरी छोरीले गर्भमै मबाट यो कुरा सिक्दैछिन् । यो महत्वपूर्ण कुरा हो ।’
उनको कुराले म जिल्ल परिरहें । कामना गरें कि, ‘उनले सोचेजस्तै होओस् उनको जीवन ।’
ज्योति भवनमा रहेको विपश्यना केन्द्रमा हामीलाई साधना र अनुशासन संहिताका बारेमा जानकारी गराएपछि, त्यहीँबाट उपलब्ध गराइएको बसमा चढेर हामी बूढानीलकण्ठतिर लाग्यौं । माया बहिनी र म बसको बीचतिरको एउटै सिटमा बस्यौं । बस्दा अलि जतन गरेर, विचार पु¥याएर उनी बसिन् । भर्खर आफूले शिविरमा साधकले कठिन नियममा रहेर साधना गनुपर्ने र त्यहाँ दश दिनसम्म नियम पालन गर्न नसक्ने हो जस्तो लाग्छ भने, ‘तपाईं अहिले आफ्नो घर फर्कन सक्नुहुन्छ ।’ भन्ने भनाइ सुनेकीले यी बहिनीले कसरी गर्लिन् साधना ? कसरी रहन सक्लिन् त्यहा“ लाग्यो । सोधी पनि हालें ।
‘यस्तो अवस्थामा विपश्यना साधनाको आचारसंहिता पालन गरी, तपाईं साधना गर्न सक्नुहुन्छ त ? यति बेला त मनलाई खुसी र शान्ति बनाएर, पौष्टिक आहार खाएर, सकेको काम गरेर, आराम पो गर्नुपर्छ । शरीरलाई यति बेला आरामको खाँचो छ । बरु माइती जानुभएको भए हुन्थ्यो । केही दिनका लागि ।’
उनको अनुहार, विचार र बोलीमा विश्वासको आभा फैलिँदै गएको थियो । ढुक्कले भनिन्, ‘दिदी यहाँ आएर आत्ममंगल, सर्वमंगलको भावनालाई विकास गराएर स्वस्थ, सुखी जीवन निर्माण गर्नका लागि सबैभन्दा उत्तम तपोभूमि पाउनु त ठूलो कुरा हो । मेरो लागि अरूले देखेको समस्या र तनावग्रस्त चित्तलाई मुक्त गर्न पुण्यभूमिको शरणमा आएकी छु । किन अनेक कुरा सोच्नु?’
मैले दिउँसो सुरुमा देखिएकी माया र अहिलेसम्ममा देखिएकी मायामा धेरै फरक पाइसकेकी थिएँ । किनभने उनले गर्भस्थ छोरी जन्माउन चाहेकी थिइन् । ध्यान केन्द्र त उनका लागि सासूले पटक–पटक दोहाउने ‘गर्भ तुहाऊ’ बोली सुन्नबाट जोगिन र गर्भ तुहाउने समयावधि कटाउने मेसो मात्रै थियो ।