Successfully Copied

जेभियर इन्टरनेसनल मन्टेश्वरी

शिक्षा क्षेत्रमा लागिपरेको समूहले चलाएको यो मन्टेश्वरी स्कुल पनि निकै राम्रो मानिन्छ।

शिक्षा क्षेत्रमा लागिपरेको समूहले चलाएको यो मन्टेश्वरी स्कुल पनि निकै राम्रो मानिन्छ। कालोपुलस्थित यसको मन्टेश्वरी विंग निकै शान्त तथा आरामदायक वातावरणयुक्त छ। अगाडिपट्टि ठूलो हरियो बगैंचामा बालबालिकाहरू मन खोलेर खेल्न सक्छन्। यो स्कुलले १८ महिनादेखि ६ वर्षका विद्यार्थीलाई भर्ना लिन्छ। स्कुल बिहान ८ बजेदेखि ३ बजेसम्म लाग्छ। यो स्कुलले विश्वव्यापी मान्यता पाएको मन्टेश्वरी शिक्षा प्रदान गरिरहेको छ। यहाँ बालबालिकाहरूलाई निकै रमाइलो तथा बुझ्न सक्ने गरी कुनै पनि विषयमा जानकारी दिइन्छ। यो स्कुलले विद्यार्थीहरूको भावना बुझेर सिकाउने काम गर्छ। रमाइलो पाराले सिकाउँदा बालबालिकाहरूले उत्साहित भएर सिक्छन्। सदैव प्रोत्साहित गरिने भएकाले बालबालिकाहरू कुनै पनि विषयमा सवाल-जवाफ गर्न डराउँदैनन्। कक्षा कोठामा विद्यार्थी संख्या कम भएकाले प्रत्येक विद्यार्थीलाई राम्रो हेरचाह पुग्छ। यहाँ बालबालिकाहरूको चौतर्फी विकासका लागि तयार गरिएको मिश्रति पाठ्यक्रमलाई पछ्याइएको छ।

यसरी तयार गरिएको पाठ्यक्रमअन्तर्गत वायुमण्डल, प्राकृतिक विज्ञान, मानव अनुभव, साहित्य, आर्ट, इतिहास, संस्कृति, नैतिक शिक्षा, आर्थिक तथा विज्ञानका विषयमा फरक-फरक तरिकाले अध्यापन गराइन्छ। यो स्कुलले विविध प्रकारका मटेरियल तथा टुल्स प्रयोगमा ल्याउँछ जसले गर्दा विद्यार्थीहरूले आफूलाई चाहेको मटेरियल छानेर प्रयोगमा ल्याउँछन्। स्कुलमा सबै शिक्षक तालिम प्राप्त भएकाले दक्ष छन्। शिक्षकहरूको विशेष भूमिकाका कारण विद्यार्थीहरू बुझ्न, सिक्न तथा नयाँ काम थालनी गर्न सक्षम बन्छन्।

अतिरिक्त क्रियाकलाप ः भिज्युअल आर्ट, म्युजिक, डान्स, आर्ट एण्ड क्राफ्ट, डिबेट एण्ड स्पिच, स्टोरी टेलिङ, सुविधाहरू, यातायात, खेल मैदान, कम्प्युटर ल्याब, मन्टेश्वरी ल्याब

लिटल ईएलएम्स मन्टेश्वरी एण्ड डे केयर सेन्टर

बालमैत्री यो मन्टेश्वरी स्कुलमा ८ महिनादेखि ६ वर्षसम्मका बालबालिकालाई भर्ना लिइन्छ। स्कुल व्यवस्थापन सदैव सुरक्षित वातावरण र स्नेहले भरिएको भावना प्रदान गर्न कटिबद्ध देखिन्छ। यहाँको शिक्षा प्रणालीले बालबालिकाहरूको व्यक्तिगत एवं चौतर्फी विकास गराउँछ। यो स्कुलले बालबालिका, अभिभावक तथा शिक्षकहरूलाई एउटै छातामुनि ल्याएर अपनत्वको अनुभूति जागृत गराउँछ। यो स्कुलले बालबालिकाहरूमा राम्रो नागरिक बन्ने भावनाको बीउ रोप्छ। यहाँको मेनु बालबालिकाहरूको स्वास्थ्यको हिसाबले निकै उपयोगी छ। यहाँ सक्षम तथा तालिमप्राप्त शिक्षकहरूबाट अध्यापन गराइन्छ। खेल्ने सामग्री पर्याप्त उपलब्ध छन्। अभिभावकहरूको सुविधाका लागि ५ बजेसम्म अतिरिक्त कक्षा संचालन गरिन्छ। यहाँ ननटक्सिक खेलौना, सेफ प्ले टुल, सेफ फर्निचरयुक्त संरचना विकसित गरिएको छ।

विशेषताहरू ः रमणीय तथा रंगीन कक्षा कोठा, म्युजिक तथा डान्स रुम, स्टोरी टेलिङ कर्नर, सेलिब्रेसन एरिया, थिम बेस्ट क्रियाकलाप, अतिरिक्त क्रियाकलाप, आर्ट एण्ड क्राफ्ट, डान्स, म्युजिक, लाइब्रेरी।

डायना मन्टेश्वरी एण्ड बेबी केयर सेन्टर

सन् २००५ मा स्थापना भएको यो स्कुलको अध्यापन प्रणालीले बालबालिकाहरूको भावना कदर गर्दै उनीहरूलाई सिकाइतर्फ उत्प्रेरित गर्छ, उनीहरूलाई अध्ययनको दोस्रो खुड्किलाका लागि तयारी पार्छ। रमाइलो बालमैत्री वातावरण निर्माण गरी अध्यापन गराउँछ। जीवनको निकै महत्त्वपूर्ण घडीलाई मध्यनजर गरी उनीहरूको विकासका लागि यहाँ कुनै पनि विषय अध्यापन गराइन्छ। मन्टेश्वरी पद्धतिले कुनै पनि विद्यार्थीको भित्री इच्छा बुझेर त्यहीअनुसार सिकाउनुपर्ने विश्वास राख्छ। मन्टेश्वरी अध्यापनका लागि प्रयोग हुने सामग्रीहरूले कुनै पनि अवधारणा बुझ्न सजिलो हुन्छ। यहाँको कक्षाले विद्यार्थीहरूलाई अनुशासित, कर्तव्यनिष्ठ, दक्ष, बहुप्रतिभाशाली तथा तार्किक बनाउँछ। यहाँ अभिभावकहरूको आवश्यकताअनुसार अतिरिक्त डे केयरको व्यवस्था पनि छ। यहाँ १८ महिनादेखि ६ वर्षका विद्यार्थी अध्ययन गरिरहेका छन्।

सेवाहरू ः सुविधा सम्पन्न कक्षा कोठा, डोरमिटोरी, डाइनिङ रुम, स्न्याक्स तथा लन्च, स्कुल भ्यान, डे केयर ।

बेस्ट मन्टेश्वरी

मन्टेश्वरी स्कुलको पंक्तिमा आफूलाई लोकप्रिय बनाउन सफल बेस्ट मन्टेश्वरी स्कुलको स्थापना सन् २००५ मा भएको हो। यो स्कुलले आफ्नो यो यात्रामा धेरै बालबालिका उत्पादन गरिसकेको छ। साथै अभिभावकहरूका लागि बाल शिक्षा के हो भन्ने विषयमा पनि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ। सफलताको सिढी चढ्दै अहिलेसम्म यसले आफ्ना चार वटा चिल्ड्रेन विंग्स बिस्तार गरिसकेको छ। यसका आउटलेटहरू कुलेश्वर, बत्तीसपुलती, धुम्बाराही तथा सामाखुसीमा छन्। यो स्कुलले मारिया मन्टेश्वरीको सिद्धान्तअनुसार अध्यापन गराउँदै आएको छ। मन्टेश्वरी शिक्षा प्रणालीले बालबालिकाहरूलाई खेलखेलमै जीवन, दर्शन, संस्कृति, विज्ञान, गणित एवं नैतिक शिक्षाका विषयमा ज्ञान प्रदान गर्छ। यसका  हरेक शाखा बालमैत्री वातावरण तथा प्रशस्त खेल्ने ग्राउन्डयुक्त छन्। सबै शाखा शान्त वातावरण, हरियालीयुक्त तथा सुरक्षित छन्। सबैतिर बगैंचामा मौसमी फूल लगाइएको छ।

प्रशस्त खेल मैदान तथा खेल सामग्रीले गर्दा बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने कुरामा कुनै शंका छैन। आफ्नै तालिम केन्द्र भएका कारणले यहाँका शिक्षक तथा कर्मचारीहरू तालिम प्राप्त छन्। उनीहरू आफ्ना विद्यार्थीसँग भिजेर उनीहरूकै भावनामा बगेर अध्यापन गराउँछन्। कक्षाकोठाहरू बालबालिकाहरूको रुचिअनुसार सजाइएको छ। हरेक विद्यार्थीलाई व्यक्तिगत अटेन्सन होस् भनी शिक्षक तथा सिस्टरहरू  कक्षा कोठामा रहन्छन्।  सफा, उज्यालो तथा हावा राम्रोसँग आवतजावत हुने हुँदा विद्यार्थीहरूलाई कक्षामा बसेर अध्ययन गर्न कुनै समस्या छैन। यहाँ विद्यार्थीहरूलाई मौसम सुहाउँदो मीठो खाना ख्वाइन्छ। बालबालिकाहरूको बढ्ने उमेरमा उनीहरूलाई यथेष्ट पैाष्टिकता आवश्यक हुन्छ। त्यसैले खानामा प्रोटिन, भिटामिन, खनिजजस्ता सबै तत्व सन्तुलित रूपमा प्राप्त गर्ने गरी तयार पारिन्छ।

यो स्कुलमा १८ महिनादेखि ६ वर्षका बालबालिकाहरू अध्ययन गरिरहेका छन्। स्कुलको सुविधा तथा अध्यापनको स्तरको तुलनामा शुल्क सन्तुलित छ।

अतिरिक्त क्रियाकलाप ः म्युजिक एण्ड डान्स, पेन्टिङ, आर्ट एण्ड क्राफ्ट, ड्रामा, आउटडोर गेम्स, सुविधा, यातायात, स्वास्थ्य परीक्षण, खाना, मन्टेश्वरी ल्याब, अतिरिक्त कक्षा ।

सिटी मन्टेश्वरी

सन् २००८ देखि संचालनमा आएको सिटी

मन्टेश्वरीले गुणस्तरीय मन्टेश्वरी शिक्षा प्रदान गर्नुका साथै बालबालिकाहरूको विशेष हेरचाह गर्दै आएको छ । अनामनगरस्थित यो स्कुलमा २ देखि ६ वर्षका नानीहरूलाई मन्टेश्वरी प्रणालीबाट शिक्षा प्रदान गरिन्छ । खुल्ला तथा बालमैत्री वातावरणमा अध्यापन गराइने यो स्कुलमा

हालसम्मका सबै अभिभावक यो स्कुलको अध्यापन प्रणालीबाट प्रभावित छन् । संचालिका पुष्पा रिजालले सुरुका दिनमा मन्टेश्वरी तालिम लिएर केही समय स्कुलमा अध्यापन गरेपछि आफैले यो स्कुल स्थापना गरेकी हुन् । पुष्पा भन्छिन्, 'नेपालमा अहिले विविध प्रणालीमा आधारित स्कुलहरू खुलेका छन् । सबैको फिलोसोफीले बालबालिकाहरूको चौतर्फी विकास गराउँछन् ।' उनी आफूले चाहिँ मन्टेश्वरी अवधारणा पछ्याएको बताउँछिन् । मन्टेश्वरी शिक्षा प्रणालीले बालबालिकाहरूलाई आत्मनिर्भर, सक्षम, कार्यमा दक्ष तथा आफ्नो खुट्टामा उभिन सक्ने बनाउँछ । यहाँको अध्यापनले बालबालिकालाई शैक्षिक मात्र होइन सामाजिक व्यवहारमा समेत पोख्त बनाउँछ । यो स्कुलले अध्यापन मात्र होइन मन्टेश्वरी तालिम पनि प्रदान गर्छ ।

अतिरिक्त क्रियाकलाप ः अभ्यासबाट सिकाइको कार्यक्रम, मायालु वातावरण, थिमवाइज टेक्निकल मेथड ।

हारमोनी किड्स मन्टेश्वरी

हारमोनी किड्स मन्टेश्वरी अन्तर्राष्ट्रिय प्रि-प्राइमरी स्कुल हो। गोंगबु स्थित यो स्कुलको स्थापना सन् २०११ मा भएको हो। मन्टेश्वरी तालिमप्राप्त शिक्षकहरूबाट अध्यापन गराइने यो स्कुलमा उच्चस्तरीय शिक्षा प्रदान गर्दै बालबालिकाहरूको मानसिक तथा शारीरिक विकासमा जोड दिइन्छ। स्कुलले मन्टेश्वरीका साथमा वालड्रप फिलोसोफी पनि पछ्याएको छ। यहाँको शिक्षा प्रणालीले बालबालिकाहरूभित्र रहेको क्षमता बाहिर ल्याउन सघाउँछ। बालबालिकाहरू यहाँ आबद्ध भएपछि आत्मनिर्भर, निडर तथा क्रियाशील हुन्छन्। यहाँ बालबालिकाहरूमा पारिवारिक तथा साथीभाइसँगको सम्बन्धका विषयमा पनि सकारात्मक सोचको विकास गराइन्छ। अध्यापनका लागि विविध सामग्रीहरूको प्रयोग हुन्छ। बालबालिकाहरूलाई जीवन, समाज तथा विश्वका विषयमा राम्रोसँग जानकारी दिइन्छ। यहाँ जीवनका लागि शिक्षा भन्ने साध्यलाई मनन गरिन्छ। बालबालिकाहरूका लागि स्वस्थ तथा स्वादिलो खाना तयार गरिन्छ। सन्तुलित तथा मौसमी खाना यहाँको पहिलो प्राथमिकतामा पर्छ। विद्यार्थीहरूलाई खाने सही व्यवहार पनि सिकाइन्छ। स्कुलको व्यवस्थापन यसलाई नमुना स्कुल बनाउने बाटोमा छ।

अतिरिक्त क्रियाकलाप ः आर्ट एण्ड क्राफ्ट, डान्स, म्युजिक, स्वीमिङ, अडियो-भिज्युअल ।

प्रिमियर इन्टरनेसनल प्रि-स्कुल

झम्सीखेलस्थित प्रिमियर इन्टरनेसनल प्रि स्कुल आइबी पी वाइ पी सम्बन्धन प्राप्त गर्ने नेपालको पहिलो स्कुल हो। आइबी वल्र्ड स्कुलले सामूहिक भावना आदानप्रदान गर्छ। यो स्कुलले आफ्नो पाठ्यक्रममा उच्च गुणस्तरीय, चुनौतीपूर्ण अन्तर्राष्ट्रिय शिक्षा प्रणाली समाहित गरेको छ। यो सिद्धान्तले बालबालिकाहरूको महत्वलाई बुझेर अध्यापन गराउँछ। आइबी पाठ्यक्रमका लागि सम्बन्धन प्राप्त संस्थाहरूले मात्र यो पाठ्यक्रम अध्यापन गराउन पाउँछन्।

अन्तर्राष्ट्रिय बाकालाउरेकेट (आइबी) रूपमा शिक्षा क्षेत्रमा विश्वव्यापी ख्यातिप्राप्त गरेको संस्था हो जसको हेडक्वार्टर जेनेभामा छ। अहिलेसम्म विश्वभर १ सय ४५ देशका ३५ सय स्कुलले यसको सम्बन्धन प्राप्त गरिसकेका छन्। यसलाई विश्वका ठूल्ठूला विश्वविद्यालयहरूले समेत मानिसकेका छन्। यो कार्यक्रमको उद्देश्य बालबालिकाहरूमा प्रश्न गर्ने, अरूको हेरचाह गर्ने, आफूभन्दा सानालाई माया गर्ने, शान्त तथा रमणीय संसार संरचना गर्ने क्षमता अभिवृद्धिमा सघाउनु हो। यो कार्यक्रमले विद्यार्थीहरूलाई देशको जुनसुकै स्थानमा अग्रज बन्न प्रेरित गर्छ भने जीवनभर सिक्न रुचाउने बनाउँछ र अरूको मनोभाव बुझेर व्यवहार गर्न सक्षम बनाउँछ। यो कार्यक्रमले बालबालिकाहरूलाई सोच्न सक्ने, ओपन माइन्डेड, केयरिङ, जोखिम बहन गर्न सक्ने, सिद्धान्तमा लम्कने, कसैसँग कुराकानी गर्न नडराउने तथा ज्ञानी बनाउँछ।

स्कुलको सफा, खुल्ला तथा मैत्रीपूर्ण वातावरणले गर्दा विद्यार्थीहरू आफूले सिक्न चाहेका कुरा सजिलै सिक्न सक्छन्। यो कार्यक्रमअन्तर्गत बालबालिकाहरूलाई रिसेप्सन, टोडलर, प्रि-१ तथा प्रि-२ कक्षामा भर्ना लिइन्छ। यो स्कुलले आफ्नो एक वर्ष सफलतापूर्वक पूरा गरिसकेको छ। एक वर्षको अनुभवमा बालबालिकाहरूले यहाँको वातावरण निकै मन पराएका छन्। उनीहरू आफ्ना शिक्षकहरूसँग स्वतन्त्रतापूर्वक वार्ता गर्न सक्छन्। यहाँ बालबालिकाहरूलाई स्वस्थकर खाना ख्वाइन्छ। उनीहरूको मेनुमा मौसमी तथा पौष्टिक खानालाई प्राथमिकता दिइएको छ।

अतिरिक्त क्रियाकलाप ः डान्स, म्युजिक, स्वीमिङ, आर्ट एन्ड क्राफ्ट, स्यान्ड प्ले, सुविधा, खाना, यातायात, अतिरिक्त हेरचाह,  खेल सामग्री

 Image