Successfully Copied

चलचित्र : मोक्ष

सांगीतिक ब्यान्डको कथा बोकेको चलचित्र मोक्षको निर्देशन प्रवीण श्रेष्ठले गरेका हुन्। कोसिस क्षेत्री, बेनिसा हमाल, विक्रम सिंह, दीपेश भण्डारी, मनीष गोदार, वसन्त भट्ट, सपना श्रेष्ठ अभिनीत

सांगीतिक ब्यान्डको कथा बोकेको चलचित्र मोक्षको निर्देशन प्रवीण श्रेष्ठले गरेका हुन्। कोसिस क्षेत्री, बेनिसा हमाल, विक्रम सिंह, दीपेश भण्डारी, मनीष गोदार, वसन्त भट्ट, सपना श्रेष्ठ अभिनीत चलचित्र मोक्ष सुनील मानन्धरले निर्माण गरेका हुन्। निर्देशक श्रेष्ठको यो चलचित्रमा संजीव सिंह, नवक्रान्ति समूह तथा प्रवीणले संगीत निर्देशन गरेका छन्। एउटा ब्यान्डको कथा-व्यथा, उनीहरूको संघर्ष, मेहनत र परिणाम नराम्रो हुँदाका क्षणहरूलाई मोक्षमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

पुस्तक : विनाको छुकी

छुकी कथाकार विना तामाङको पहिलो कथा संग्रह हो। छुकीमा राजनीतिले सिध्याएको जीवनको सुन्दर अनुहार, द्वन्द्वको पीडा, युद्ध मैदानमा हराएका सुन्दर सपना, लोग्ने युद्धमा ढलेपछि आफ्ना बालबच्चा हुर्काउन बिहानै बूढानीलकण्ठको ब्यारेकमा परेड खेल्न जानुपर्ने अवस्था आदिको चित्रण गरिएको छ। छुकीमा बन्दुकको नालमा प्रेमलाई दबाउनुको पीडा छ। छुकीमा खासगरी युद्ध र प्रेमको भाव पाइन्छ। त्यसबाहेक सामाजिक विसंगति, नारी समस्या एवं निम्न वर्गीय तामाङ समाजको चरित्र पनि चित्रण गरिएको छ। जम्मा ११ वटा कथा संग्रहित यो पुस्तकको मूल्य १ सय २५ रुपैयाँ छ।

कला:  रागिनीको प्रोटेक्ट आवर लभ

यो कलाकार रागिनी उपाध्याय ग्रेलाको प्रोटेक्ट आवर लभ सिरिजअन्तर्गतको एउटा कला हो। प्रकृति आफै बोल्छ भन्ने भावमा सिर्जना गरिएको यो आर्टमा रुखलाई केटाकेटीको सिम्बोल दिइएको छ। हिन्दू धर्ममा प्रकृतिलाई भगवान् मानिन्छ भने सूर्य, नदी, वर-पीपल आदिलाई देवदेवीका रूपमा पूजा गरिन्छ। जसरी हामी बोल्छौं प्रकृतिको पनि आफ्नै भाषा छ। यो कलाकृतिमा प्रकृतिलाई मानिसहरूले पनि बुझून् र माया गरून् भन्ने सन्देश छ। प्रकृतिबिना हामी सखाप हुने तथ्यलाई समेत यसमा देखाउन खोजिएको छ। घाम, पानी, हावा भएन भने बाँच्न नसकिने भएकाले प्रकृतिलाई माया गर्नुपर्छ भन्ने भावका साथ चित्र सिर्जना गरिएको कलाकार उपाध्याय बताउँछिन्।  

क्यासेट : अंगुरा वैभवीको भेटूँभेटूँ लाग्छ

कलेज पढ्दा संगीत सिकेकी अंगुरा वैभवीले विवाहपछि आफ्नो प्रतिभालाई घरमै सीमित गरिन्। आफ्नो प्रतिभालाई लामो समय लुकाए पनि श्रीमान् लोकेश ढकालले थाहा पाइहाले। उनकै सहयोग र साथले पुनः सांगीतिक यात्रामा फर्किएकी वैभवीले केही समयअघि आफ्नो पहिलो गीति संग्रह बजारमा ल्याइन्। आधुनिक, पपका साथमा एउटा रक स्टाइलको गीत पनि समावेश गरिएको यो एल्बममा दीपक कौडिन्य, लव थापा, प्रतिमा श्रेष्ठ, बलदेव शर्मा, प्रकट पंगेनी तथा लोकेश ढकालको शब्द एवं किरण कँडेल, स्वयम्भूराज शाक्य, राजु सिंह, शक्ति बल्लभ, संजीव सिंह, सुरेश अधिकारी तथा विजय सिंह मुनालको संगीत सुन्न सकिन्छ।

 Image